पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन कात्तिक २६ गते बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा सहभागी भए । यसपछि उनी पुन: सक्रिय राजनीतिमा फर्किने चर्चा चुलिँदो छ ।
त्यसो त पुन पूर्वमाओवादी नेता हुन् । पार्टीले सञ्चालन गरेको जनयुद्धका कमान्डर पुन अहिले पुन: सक्रिय राजनीतिमा फर्किने चर्चा चलेको हो । पुनलाई बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नै बोलाएका थिए ।
बाहिर चर्चा के छ भने पुनलाई दाहालले उपाध्यक्षको आश्वासन दिएर बैठकमा बोलाएका हुन् र दाहालकै चाहनामा पुन:सक्रिय राजनीतिमा फर्कनेछन् । तर, दाहालको सचिवालयले भने यसको खण्डन गर्छ । दाहालका स्वकीय सचिव रमेश मल्ल भन्छन्, "उहाँहरूबीच के कुराकानी भयो, हामीलाई थाहा हुँदैन । नेताहरूबीचको कुरा हामीलाई के थाहा, सचिवालयमा बसेर नभएको कुरा गर्नुहुन्न ।"
जसै पुन दाहालका सदाबहार सारथि हुन् । जनयुद्धताका होस् वा शान्ति प्रक्रियापछि; पुन सधैँ दाहालकै प्रिय बने । पार्टीमा ब्याजीहरूको तुलनामा खासै लाभको पद नलिएका उनी पछि दुई कार्यकाल उपराष्ट्रपति बने । त्यसबाट उनी 'रिटायर्ड' भइसकेका छन् भने सक्रिय राजनीतिमा छैनन् ।
यसबीचमा उनी गृहजिल्ला रोल्पा गए, त्यहाँ अनौपचारिकबाहेक औपचारिक राजनीतिक कार्यक्रममा सहभागी भएनन् । तर, उनलाई कतिपय निकटस्थहरूले राजनीतिमा सक्रिय हुन सुझाव दिएका थिए ।
पुनले भने अहिल्यै कुनै निर्णय लिइसकेका छैनन् । उनका निकटस्थहरूका अनुसार पुन अवसर आउँदा पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने कि सक्रिय राजनीतिमा फर्किने भन्ने सन्दर्भमा निर्णय लिइसकेका छैनन् ।
पुनका सचिवालय सदस्य मनोज घर्तीमगर भन्छन्, "तत्कालै त केही भन्न सकिँदैन । उहाँले कुनै निर्णय लिइसक्नुभएको छैन ।"
दाहाल चाहन्छन्- पुन सक्रिय राजनीतिमा फर्किऊन्
अध्यक्ष दाहाल भने पुन सक्रिय राजनीतिमा फर्किऊन् भन्ने चाहन्छन् । पुन आफूलाई हरदम साथ दिने नेता भएकाले पनि उनी सक्रिय राजनीतिमा फर्किँदा पार्टीभित्र आफूलाई समेत सहज हुने अर्थ्याइ दाहालको छ ।
माओवादीका एक पदाधिकारीले नागरिकसँग भने, "चाहना उहाँ (दाहाल)को पनि हो, सँगै माओवादी पार्टीको हो । मूलत:त्यसमा उहाँ स्वयम्को पनि होला ।"
'पूर्वराष्ट्रपतिले त सदस्यता नवीकरण गरिसक्नुभयो, अब पूर्वउपराष्ट्रपतिको त के कुरा । उहाँले त अझ राज्यबाट कुनै सुविधासमेत लिनुभएको रहेनछ । उहाँ त फ्री हो ।'
त्यसो त दाहालविरुद्ध पार्टीभित्र नेतृत्व छाड्नुपर्ने दबाब छ । यसको नेतृत्व उपमहासचिव जनार्दन शर्माले गरेको बताइन्छ । शर्माले गत साउन २७ गते बसेको स्थायी कमिटी बैठकमा पार्टीको नेतृत्व हस्तान्तरण गरेर दाहाल संरक्षकको भूमिकामा रहनुपर्ने प्रस्ताव पेस गरेका थिए ।
शर्माको उक्त प्रस्तावको पार्टीभित्र समर्थक थपिँदै गएपछि आफूमाथि 'जोखिम'को महसुस गरेका दाहाल तत्कालै देश दौडाहामा निस्किएका थिए । शर्माको नेतृत्व पुस्तान्तरणको प्रस्तावको मत सर्वेक्षण गरेका दाहालले फर्किएपछि भने, "जनताले माओवादीकै, मेरै नेतृत्वमा सुशासन र आर्थिक विकास होस् भन्ने चाहेका छन् ।" अर्थात्, दाहाल केही ढुक्कै भए, माहोल शर्माको प्रस्तावको पक्षमा भन्दा आफ्नै पक्षमा रहेछ !
यसैले पनि दाहालले पुन सक्रिय राजनीतिमा फर्किऊन् भन्ने चाहेको चर्चा माओवादी वृत्तभित्र छ । "पार्टीलाई पुन:जनतासँग जोड्ने कोसिस छ । यसमा सबैको योगदान रहनुपर्छ भन्ने पार्टी र हाम्रो सबैको मान्यता हो । त्यसमा उहाँ (पुन) पनि हुन सक्नुहुन्छ । उहाँ पार्टीमा फर्किँदा राम्रै हुन्छ भन्ने रिडिङ सबैको छ । त्यसमा बेखुसी कोही नहोलाऔँ,"माओवादीका एक नेता भन्छन्, "त्यसमा अध्यक्ष कमरेडको पनि असहमति छैन ।"
उसो त दाहालले पहिले आफैँबाट फुटेर गएका नेत्रविक्रम चन्द 'विप्लव सी' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पनि पार्टी,महिन्द्र राय यादव-गंगा नारायण श्रेष्ठ पक्षीय नेपाल समाजवादी पार्टी (नेसपा) सँग पनि चाँडै पार्टी एकता गर्दैछन् ।
त्यसमा पुनसमेत पार्टीमा हुँदा आफूसमर्थित नेताहरू बढी हुने आकलन दाहालले गरेको बताइन्छ । पुन सक्रिय राजनीतिमा फर्किँदा पार्टीलाई पनि राम्रो हुने र आफूलाई पनि राम्रो हुनेस्व-विश्लेषण दाहालको रहेको बताइन्छ ।
पुन सक्रिय राजनीतिमा फर्किने नेताहरूको स्पष्ट सङ्केत
पुन सक्रिय राजनीतिमा फर्किने कि नफर्किने भन्ने अन्योल भइरहँदा माओवादी नेताहरू भने उनी सक्रिय राजनीतिमा फर्किने स्पष्ट सङ्केत गर्छन् ।
माओवादी सचिव दीनानाथ शर्मा भन्छन्, "अहिले टुङ्गो लागिसकेको छैन । पार्टीले कुनै सुझाव दिएको वा उहाँ आफैँले निर्णय लिइसक्नुएको अवस्था होइन । तर, बाहिरतिरको अभ्यास हेर्दाखेरि १४/१५ वर्षपछि पनि सक्रिय राजनीतिमा फर्किएको नजिर रहेछ ।"
तर, पूर्वउपराष्ट्रपति पुन पुन: सक्रिय राजनीतिमा सक्रिय हुँदै गर्दा मुलुकको प्रणाली, त्यसमा हुने अभ्यास र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टान्त ख्याल गर्नुपर्ने मत शर्माको छ ।
अर्का सचिव राम कार्कीको सङ्केत पनि त्यही छ । "बाहिरतिर हेर्दा फर्किएर सामान्य मेयरसमेत बनेको उदाहरण छन् । जहाँसम्म उहाँ (पुन) को सन्दर्भ छ, त्यसबारे छलफल होलान्, उहाँ आफैँले पनि सही विकल्प रोज्नुहोला,"कार्कीले भने ।
कार्की पुनले यद्यपि 'रिटायर्ड' जीवन बिताउँदा पनि राम्रै हुने बताउँछन् । "राजकीय पदको जिम्मेवारीमा रहिसकेपछि त्यसबाटै रिटायर्ड भएर बस्दा पनि हुन्छ । अब चाहना भएकाहरूको हकमा के हुने, के गर्ने भन्नेबारे राष्ट्रिय वृत्तमै छलफल गर्दा अझ राम्रो होला," उनले भने ।
अर्का सचिव लीलामणि पोखरेल भने अझ स्पष्ट सङ्केत गर्छन् । पूर्वराष्ट्रपति विद्या भण्डारीसमेत राजनीतिमा फर्किन लागेको उल्लेख गर्दै उनले भने, "पूर्वराष्ट्रपतिले त सदस्यता नवीकरण गरिसक्नुभयो, अब पूर्वउपराष्ट्रपतिको त के कुरा । उहाँले त अझ राज्यबाट कुनै सुविधासमेत लिनुभएको रहेनछ । उहाँ त फ्री हो ।"
राज्यबाट कुनै सुविधा नलिएकाले पनि पुन निर्णय गर्नका लागि स्वतन्त्र रहेको भनाइ पोखरेलको छ । "कि त पूर्वप्रधानन्यायाधीश जस्तो संवैधानिक नियुक्ति लिन नपाउने भन्ने प्रावधान नै हुनुपर्यो । नत्र त पूर्वउपराष्ट्रपतिको सन्दर्भमा त्यस्तो छैन,"उनले भने ।
प्रकाशित: ४ मंसिर २०८१ १८:१७ मंगलबार