राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजानको बाकु भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। उनले राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधि मण्डल कात्तिक १५ गते ३० गते सम्मको भ्रमणका लागि स्वीकृत गरेको बताए। उनले अजरबैजानको बाकुमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलनमा भाग लिन राष्ट्रपति पौडेल नेतृत्वको टोली त्यसतर्फ जान लागेको हो।
त्यस्तै मन्त्रिपरिषद्ले नेपाल प्रहरीको एआईजी पदमा किरण राणा र डा। सुन्दर प्रसाद ह्याजुलाई बढुवा गरेको छ। नेपाल प्रहरीको रिक्त जनपद समूहमा अतिरिक्त प्रहरी महानिरीक्षक पदमा प्रहरी महानायक निरीक्षक राणालाई बढुवा गरी प्रदेश समन्वय विभाग नक्सालमा र प्राविधिक स्वास्थ्य समूह तर्फ रिक्त अतिरिक्त प्रहरी महानिरिक्षक पदमा प्राविधिक प्रहरी महानायक निरीक्षक ह्याजु लाई बढुवा गरी नेपाल प्रहरी अस्पताल महाराजगन्जमा पदास्थापना गरिएको मन्त्री गुरुङले बताए। उनले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको पनि बताए।
उनले आयोगको उपाध्यक्षमा जाजरकोटका सनत कार्की, सदस्यहरूमा महोत्तरीका गुञ्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाईँ, विज्ञतर्फ सदस्य सिन्धुपाल्चोका डा. जगतबहादुर बस्नेत, कैलालीका टेक बहादुर शाह, दार्चुलाका गोवर्द्धन कोली र तनहुँकी आरती भण्डारी रहेको बताए । उनले नेपाल सरकार र भारतीय एजीम बैङ्कबिच भएको ऋण सम्झौता एलओसी सेकेन्ड र एलओसी चौथो लाइन अफ क्रेडिड संशोधन गरी ३५० अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर कायम गर्न स्वीकृत प्रदान निर्णय गरेको पनि बताए।
मन्त्रीपरिषद्ले नयाँ बुटवल लम्ही ४०० केभी प्रसारण लाइन आयोजनाको टावर प्याड निर्माण गर्न रुपन्देही कपिलवस्तु,अर्घाखाँची र दाङ जिल्लामा करिब ०.२६ हेक्टर जग्गा प्राप्ति गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई स्वीकृत दिने निर्णय पनि गरेको छ । सरकारले सम्पत्ति शुद्धीकरण नियमावली २०८१ पनि स्वीकृत गरेको छ।
प्रकाशित: १४ कार्तिक २०८१ १८:३५ बुधबार