१२ कार्तिक २०८१ सोमबार
image/svg+xml
राजनीति

पोखरी सीमा विवाद : दुवैपक्षवीच छलफल

भक्तपुर बहुमुखी क्याम्पस र भक्तपुर नगरपालिकाबीच सीमाविवाद सम्बन्धमा आइतबार दुई पक्षबीच छलफल भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.केदारप्रसाद रिजालबीच भाज्या पुखुको दक्षिणपट्टिको डिल खोल्ने र भक्तपुर क्याम्पसको सुरक्षा पर्खाल निर्माण गर्ने विषयमा बैठक बसेको हो ।

बैठकले भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित भाज्यापुखुको डिल खोल्ने र भक्तपुर क्याम्पसको सुरक्षा पर्खाल लगाउने सम्बन्धमा भाज्या पुखु र भक्तपुर क्याम्पस दुवैको सौन्दर्यमा वृद्धि हुने गरी अगाडि बढ्न आवश्यक पहल गर्ने निर्णय गर्‍यो । बैठकमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले ८०० वर्ष पुरानो घाँसे मैदानको रुपमा रहेको भाज्या पोखरीलाई आफ्नै लगानीमा पोखरीको मध्यभागमा जलेश्वर मन्दिर समेत निर्माण गरी पोखरीको उद्घाटन गरी पोखरीको चारै दिशाका डिलहरु खोल्न पहल गरिरहेको जानकारी गराएको जनाइयो । भक्तपुर बहुमुखी क्याम्पस र भाज्या पुखु दुवै भक्तपुरको गहनाको रुपमा रहेको बताउँदै पोखरीको दक्षिण पट्टीको डिल निर्माणसँगै क्याम्पस र पोखरीको सौन्दर्य अझ वृद्धि हुने उनले बताए ।

त्रिविका रजिष्ट्रार रिजालले भक्तपुर बहुमुखी क्याम्पस र ऐतिहासिक भाजु पुखुबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै पोखरीको डिल निर्माण र क्याम्पसको पर्खाल निर्माणले दुवैको सुन्दरता वृद्धि हुनेमा दुईमत नभएको बताए । उनले भक्तपुरको सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व नगरपालिकाको भएको बताउँदै कलेज र पाखेरीबीचको असमझदारी सौहार्द तरिकाले टुंग्याउनुपर्नेमा जोड दिए ।

बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, त्रिवि भौतिक सम्पत्ति संरक्षण शाखा, सामान्य प्रशासन महाशाखाका प्रमुख राजबहादुर राई, सहायक कानुनी सल्लाहकार राजेन्द्र खनाल, भक्तपुर बहुमुखी क्याम्पस विद्यार्थी कल्याण प्रमुख डा। शेरसिंह रैखोला, भनपा वडा नं। १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, भनपा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, निमित प्रमुख प्रशाशकीय अधिकृत  

रामगोविन्द श्रेष्ठ, उपनिर्देशक गणेशलाल फोँजु र प्रशासकीय अधिकृत दामोदर सुवालको उपस्थिति रहेको थियो ।

प्रकाशित: ११ कार्तिक २०८१ १७:३४ आइतबार

#Bhaktapur Municipality #TU #Sunil Prajapati #Kedhar Prasad Rijal