१० कार्तिक २०८१ शनिबार
image/svg+xml
राजनीति

माइतीघरमा विरोध प्रदर्शन

सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि एक साता पोखरा केन्द्रित आन्दोलन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार काठमाडौंमा प्रदर्शन गर्‍यो ।  

सूर्यदर्शन सहकारीको बचत रकम हिनामिना मुद्दामा कास्की जिल्ला अदालतले पक्राउ अनुमति दिएलगत्तै रास्वपा सभापति लामिछानेले आफूविरुद्ध सरकारले ‘राजनीतिक प्रतिशोध’ साँधेको आरोप लगाए।उनले पक्राउविरुद्ध आन्दोलन चर्काउन पत्रकार सम्मेलन र भिडियो सामग्री बनाएर कार्यकर्तालाई आह्वान गरे ।

रास्वपा अहिले सरकारले पार्टी सभापति लामिछानेमाथि ‘राजनीतिक प्रतिशोध साँधेको’ आरोपलाई राजनीतिक अजेन्डा बनाएर सडकमा छ।रास्वपाले एक साता पोखरामा आन्दोलन गर्दा त्यसको रत्तिभर प्रभाव सरकारमाथि परेन।कास्की जिल्ला अदालतले बिहीबार लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपिदियो । सँगै सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान गर्न प्रहरीले अनुमति पायो।  

बुटवलस्थित सुप्रिम सहकारीको बचत रकम हिनामिना मुद्दामा समेत रूपन्देही अदालतले लामिछानेलाई पक्राउ गर्न बिहीबार नै अनुमति दिएको छ ।

रास्वपाको लगातारको प्रदर्शनले सरकार गलेन । यसैबीच अदालतले लामिछानेको हिरासत बसाइ लम्ब्याइदियो । प्रदर्शनमा पोखरेली जनताको साथ नपाएपछि बिहीबार रास्वपाका नेताकार्यकर्ताले पोखरा बसाइ पनि बिट मारे।  

पोखरामा विरोध कार्यक्रम प्रभावकारी नभएपछि रास्वपाले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । दिउँसो रास्वपाका सबैजसो सांसद् र नेताकार्यकर्ता माइतीघर क्षेत्र पुगेर सरकारविरुद्ध विरोध प्रदर्शन गरे । दिउँसो एक बजे प्रदर्शनको समय तोकिएको थियो । लगभग निर्धारित समयमै रास्वपाका नेताकार्यकर्ता माइतीघर पुगेका थिए ।  

प्रकाशित: १० कार्तिक २०८१ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App