५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रलाई कांग्रेसले भन्योः संसद अवरुद्ध गर्नुपर्ने कुनै कारण छैन

सत्तारुढ नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध नगर्न नेकपा (माओवादी केन्द्र) लाई आग्रह गरेको छ।

कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले संसदमा प्रयोग हुँदै आएको हिंसा शब्दलाई लिएर संसद बैठक अवरुद्ध पार्ने कामलाई निरन्तरता नदिन माओवादी केन्द्रलाई आग्रह गरेका हुन्।

एउटा सांसदले संसदमा प्रयोग गरेको शब्दलाई कोटयाईरहनुपर्ने आवश्यक्ता नभएको उनको जिकिर थियो।

नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले संसदमा बोल्ने क्रममा हिंसा शब्द प्रयोग गरेपछि माओवादी केन्द्रले आपत्ति जनाउँदै त्यो शब्द संसदका रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग माग गरेको थियो।

तर सभामुख घिमिरेले सो शब्दलाई असंसदीय भन्न नमिल्ने उल्लेख गर्दै हटाउन आवश्यक नभएको निर्णय लिएका थिए। त्यसको विरोधमा माओवादी केन्द्रले प्रतिनिधि सभा बैठक अवरुद्ध पार्दै आएको छ।

प्रवक्ता महतले भने सोही शब्दलाई अतिशयोक्तिपूर्ण ढंगले लिने र संसद बैठक अवरुद्ध पार्न नहुने बताए। उनले शान्ति प्रक्रियालाई टुंगो लगाउने काममा सबै दलहरु एक ठाउँमा उभिएको बेला केही शब्दमाथि आपत्ति जनाउने काम आवश्यक नभएको बताए।

प्रवक्ता महतले विपक्षमा रहेको बेलामा धेरै प्रतिक्रियात्मक नबन्न र कानून निर्माण गर्ने काममा केन्द्रित हुनुपर्ने भएकाले संसद सुचारु गराउने काममा ढिलाई नगर्न पनि सचेत गराए। 

प्रकाशित: ३० भाद्र २०८१ १७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App