१) हाट
“पँधेराघर्नीको तारतम्य रहेछ। बुझिस् त छेउघरे कान्छा।” दोभानबाट उकालो चढ्दै जाँदा माथ्लाघरे ठुलेले कुरा ओकल्न सुरु गर्यो।
माथिको डाँडो सोमबारे हो। प्रत्येक सोमबार त्यहाँ हाट लाग्छ। सुर्ती र जाँड रक्सी प्रशस्त बिक्छ। पल्लोगाँउ र ओल्लोगाउँको कुरा प्रशस्तै सुनिन्छ।
“सुनिस् त कान्छा, त्यो चमेली छैन, त्यसलाई बाटो लगाउने त पँधेराघर्नी पो रैछन् त। कस्ती साइँदुवा हुन तिनी पनि। नानाभाँति गरेर गाउँ नै भाड्न लागिन्।”
“पण्डितकी बुहारी भएँ भनेर धाक छोडेकी होलिन् नि।”
छेउघरे कान्छाले पनि कुरा थप्यो अलिकति। “विचरी चमेली, साहै सोझी हो। त्यो मोरीको सुरिलो स्वर। कसरी डाँडापाखा थर्काउने गरी गीत गाउँथी। आज ऊ नहुँदा गाउँपाखा सबै शून्य जस्तो छ। अर्काको घर। सासू पनि उस्तै रण चण्डाल छ रे। खानै दिन्न रे।
“त्यो मोरी पनि उस्तै। जस्ले जता भन्यो त्यतै जाने। यसो कुरो त बुझ्नुपर्ने नि।” छेउघरे कान्छाले असन्तुष्टि पोख्यो।
“विचरी, के बुझोस्? हामीलाई त कालो अक्षर भैँसी बराबर छ। त्यसमाथि भएन, उता गरिवकी छोरी। बनिबुतो नगरी छाक नटर्ने। अनि कसरी बुझोस् तैँ भन त।
“हो नि हुन त, राम्रै ठाउँ भएको भए हुन्थ्यो नि। लोग्ने जड्याहा छ रे। त्यसमाथि भएन आफ्नै बहिनी मारेर उम्किएको रे।” खुलेरै भेद खेल्यो छेउघरे कान्छाले।
अब भने उकालो छिचोलिसकेका थिए तिनीहरूले। हाटको खैलाबैला उनीहरूको कानमा गुञ्जिदै थियो। चैते हावा सुइँसुइँ एकोहोरो एकतमासले धुलो उडाउँदै पूर्वबाट पश्चिमतिर जाँदै थियो।
ठिक मध्यान्ह हुँदा अचानक हावासँग मडारिंदै एउटा समाचार हाटभरि फैलियो। लौ फसाद पर्यो। चमेलीले आत्महत्या गरी रे।
आत्महत्याका घटना दिनहुँ भैरहन्छन्। चमेलीहरूको जीवन सुरक्षित छैन। सायद पितृसत्तात्मक समाजको पराकाष्ठा हो यो।
२) बैँसमा
उ थ्याच्च बस्छ ढुङ्गामा र फलाक्न थाल्छ केही असन्तुिष्ट “साला यस्तो पनि हो जिन्दगी, सुकेको उनिउ जस्तो। यो मास्टरी पेसा, रातदिन तानिएको तानियै, दलिएको दलियै। जस कसैले दिने हैन। हाइसन्चो कहिल्यै भएन। तलब पनि कति नै छ र? घरखर्च नै चल्दैन। भोलि नै राजीनामा पछारिदिन्छु। जेसुकै होस् कस्को बाउको के खाइदेको छ र?” चाउरी परेका गाला सुमसुम्याउँदै जाँदा नाक नमिलेको महसुस गर्छ।
“के भो दयानन्द सर? एक्लै किन फतफताउनुभएको?” संचालक समिति सदस्य रमानाथसँग जम्काभेट भए पनि ऊ केही उत्तर दिंदैन। ऊ गन्गनाइरहन्छ।
“धत, कुन साइतमा जन्मिएछ बा। न त बैँस नै आयो मलाई। मैले जान्दादेखि नै मेरो गाला चाउरीको चाउरी नै छ। बैँसमा मोज गर्नुपर्थ्याे। त्यसो पनि केही गरिएन। नामर्दचैँ म जस्तालाई भन्छन् क्यार। बैँसमा कस्ले के गरेनन् मबाहेक।
कर्णे मोरो बैँसमै अरब उड्यो। बिर्खे मोरो बैँसमै मुग्लान भासियो। रत्नवीर मोरो बैँसमै हङकङको लाहुरे भयो। पातली बैँसमै पोइल गई। नेप्टीले बैँसमै घोर्ले छोरो पाई। मेरो एउटा घनिष्ट साथी, बैँसमै झोला र झण्डा बोकेर नेता भयो। अर्काे साथी जेलमा छ। अर्को साथी खेलमा छ।
बैँसमै कतिले जुवा हाने। कतिले घिउ चोरे त कतिले जिउ नै चोरे। बैँसमा गर्नु गरे। कोही समाजसेवी बने। कोही राजनीति गर्दै भूमिगत भए। आफू त चिल्लै। न त आफूले शोषित पीडितको मुक्तिका लागि केही गर्न सकियो। अब राजीनामा दिएर समाजसेवा गर्नुपर्ला। दुःखीले कसो साथ नदेलान् त? कति ठगिनु? ठगिने त मै मात्रै हो कि क्या हो? साला, अब त यो बुढो जिन्दगी।” दयानन्द सरको कुरा सुनेर रमाकान्त जिल परेर आफ्नो बाटो लागे।
प्रकाशित: ८ चैत्र २०८१ १३:०५ शुक्रबार