नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको राजनीतिक र विकासको शैली बदल्ने प्रतिज्ञा गरेका छन्।
मधेसलाई अन्नको भण्डार र ज्ञानको केन्द्रको रूपमा पुनःस्थापित गर्ने संकल्पसहित थापाले अब कांग्रेसले केवल घोषणापत्र मात्रै नछाप्ने, बरु प्रत्येक शब्दको अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाए।
उनले भने, ‘कसैले लेखेको भाषण पढ्न म यहाँ आएको होइन। सर्लाहीबाट म काठमाडौं गएर मेरो टिमसँग बसेर आफैले के-के राख्ने भनेर एक-एक अक्षर केलाएर प्रतिज्ञा पत्र तयार गरेको हुँ। यो प्रतिज्ञा पत्र चाहे सरकारमा हुँदा होस या प्रतिपक्षमा कांग्रेसका सबै नेता कार्यकर्ताले पालना गर्नेछन्।’
उनले मधेससँगको सम्बन्धलाई राजनीतिक लाभ-हानीभन्दा माथि उठेर ‘बेटा र माटो’ को सम्बन्धका रूपमा व्याख्या गरे।
थापाले मधेसी पहिचान र सम्मानको मुद्दालाई गम्भीरताका साथ उठाए। ‘म यहाँ मधेसको नेता हुन होइन, बेटा हुन आएको हुँ,’ उनले थपे, ‘मेरो नसामा मधेसी आमाको रगत नहोला, तर मेरो छातीमा दुर्गानन्द झाको शाहस र आँखामा महेन्द्र नारायण निधिको सपना छ।’
उनले अब सिंहदरबार छिर्दा मधेसीले आफ्नो धोती-कुर्ता लुकाउनु नपर्ने र गर्वका साथ ‘हम मधेसी छी’ भन्नसक्ने वातावरण कांग्रेसले निर्माण गर्ने उद्घोष गरे।
राजा जनकले सीताको विवाहका लागि लिएको प्रतिज्ञा र भगवान रामले धनुष उठाएर गरेको विजयलाई स्मरण गर्दै थापाले कांग्रेसको आगामी यात्रा प्रतिज्ञामा आधारित हुने बताए।
‘यो शक्तिको विजय मात्र होइन, यो प्रतिज्ञाको विजय हो,’ थापाले भने, ‘आज म जे बोल्दैछु, यो प्रतिज्ञा हो। सरकारमा हुँदा होस् वा सडकमा, कांग्रेस आफ्नो प्रतिज्ञाबाट एक इन्च पनि पछि हट्नेछैन। हामीले २७ वटा क्षेत्रमा ७ वर्ष लगाएर अध्ययन गरी यो प्रतिज्ञा तयार पारेका छौं। हामी यसको अक्षर अक्षर पालना गर्छौं।’
थापाले मधेसको खस्कँदो शैक्षिक स्तरप्रति चिन्ता व्यक्त गर्दै गणित र विज्ञानको पढाइ सुधार्ने विशेष योजना अघि सारे। स्वास्थ्य क्षेत्रमा उनले एक रुपैयाँ तिर्नु नपर्ने स्वास्थ्य बीमा प्रणालीको ग्यारेन्टी गरे। कतारमा पसिना बगाएर कमाएको पैसा आमाको उपचारमा सकिने दिनको अन्त्य गर्ने उनको संकल्प छ।
‘कुनै बेला पहाडका मान्छे गणित सिक्न मधेस आउँथे, आज यहाँकै विद्यालय कमजोर छन्,’ उनले भने।
मधेसका उखु र आलु किसानको समस्यालाई नजिकबाट नियालेको बताउँदै थापाले यस दशकलाई किसानको दशक बनाउने घोषणा गरे।
वैदेशिक रोजगारीमा रहेका युवाहरूका लागि सरकारले दुतावासमार्फत विशेष हेरचाह गर्ने र उनीहरू फर्कंदा कुनै न कुनै व्यवसायको मालिक बन्ने वातावरण निर्माण गर्ने योजना उनले सुनाए। ‘४ खर्बको कृषि उपज आयात गर्ने देशलाई हामी आफ्नै उत्पादनले आत्मनिर्भर बनाउनेछौं’ उनले भने।
कांग्रेस एक्लैले देश बदल्न नसक्ने स्वीकार गर्दै थापाले टिम नेपालको अवधारणा ल्याए। थापाका अनुसार यो टिमले अर्को पार्टीलाई होइन, बरु नेपालको कुशासन, गरिबी र बेरोजगारीलाई हराउनेछ।
उनले ३२ जना उम्मेदवारहरूलाई घर-घर गएर बदलिएको कांग्रेसको सन्देश प्रवाह गर्न निर्देशन समेत दिए।
उनले भने, ‘घर-घरमा जानुस् र नडराइकन भन्नुस् हामी यी कामहरू गर्न आएको हौं। हामीलाई मत दिनुस्। सबैलाई भन्नुस्। मतदाताको कुरा सुन्नुहोस् र आफ्नो प्रतिज्ञा सुनाउनुहोस्।’
प्रकाशित: ६ फाल्गुन २०८२ २१:१७ बुधबार





