हामीले लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूमा जीवन दिएका ज्ञात-अज्ञात सहिदहरूको योगदानलाई सधैं उच्च सम्मानका साथ स्मरण गर्नुपर्छ।
उनीहरूको त्याग र बलिदानले नै आज यो उपलब्धि सम्भव भएको हो। तसर्थ उनीहरूको योगदानको सम्मान गर्दै लोकतान्त्रिक मूल्य-मान्यतालाई व्यवहारमा उतार्नु हाम्रो साझा जिम्मेवारी हो। लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ गर्दै संविधानको प्रभावकारी कार्यान्वयनमार्फत स्थायित्व, सुशासन र विकास सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो।
नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त प्रजातन्त्र हाम्रो राष्ट्रिय गौरव र ऐतिहासिक उपलब्धि हो। इतिहासलाई फर्केर हेर्ने हो भने नेपालको राष्ट्रिय एकीकरण चरणदेखि २००७ सालको क्रान्ति होस् वा २०४६ सालको जनआन्दोलन वा २०६२/६३ सालको जनआन्दोलन सफल हुनुमा नयाँ पुस्ताको अग्रणी भूमिका रहेको देखिन्छ।
युवाकै वलिदानबाट नेपाली जनताले आफूलाई राज्यसत्ताको वास्तविक स्रोतका रूपमा स्थापित गरेका हुन्। युवाको ऊर्जाशील रगतको बलमा नै देशको सार्वभौमिकता, स्वाभिमान र जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। देशको आवश्यकतामा उपयोग हुने युवा शक्ति कदापि अराजक र अधैर्य हुनु हुँदैन।
कसैप्रति द्वेष, घृणा र विध्वंशको भाव नराखी राष्ट्रप्रति जिम्मेवार र उत्तरदायी बन्नुपर्छ। हामी सार्वभौमिकता, स्वाभिमान र जनजीविकाप्रति संयम हुन आवश्यक छ। लोकतन्त्रको आधारस्तम्भ भनेकै युवा हुन्। नेपालको विविधता र राजनीतिक विभाजनबिच राष्ट्रिय एकता कायम राख्न सहमति र सहकार्य अपरिहार्य छ।
युवा पुस्तालाई विशेष सम्बोधन गर्नु आजको आवश्यकता हो। तथापि त्यसक्रममा ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिहरू तथा अन्य सबै सीमान्तकृत समुदायका मुद्दा र सरोकारलाई बिर्सनु कदापि हुँदैन। लोकतान्त्रिक समाजमा सबै वर्ग, उमेर समूह र समुदाय एकअर्कासँग जोडिएर एउटै सामाजिक संरचनाभित्र सहअस्तित्वका साथ बाँचिरहेका हुन्छन्।
यसकारण, राज्यका नीति, कार्यक्रम र राजनीतिक अभ्यासहरू समावेशी, न्यायपूर्ण र सन्तुलित हुनुपर्छ। कुनै एक वर्गको मात्र सशक्तीकरणले लोकतन्त्र बलियो हुँदैन, समाजका सबै वर्ग र समुदायको समान सहभागिता, संरक्षण र सम्मान सुनिश्चित गर्न सकेमा मात्र लोकतान्त्रिक प्रणाली दिगो र प्रभावकारी बन्न सक्छ। तसर्थ नेपालको विविधता र राजनीतिक विभाजनको अवस्थाबिच राष्ट्रिय एकता कायम राख्न सहमति र सहकार्य अपरिहार्य छ।
प्रजातन्त्र–लोकतन्त्रले जनतालाई आफ्नो शासन आफैं गर्ने अधिकार प्रदान गर्छ। प्रजातन्त्र–लोकतन्त्र केवल शासन प्रणाली मात्र नभई जनताको अधिकार र कर्तव्यबिचको सन्तुलन हो। अधिकारको उपभोगसँगै कर्तव्यप्रति सचेत हुँदै सामाजिक सद्भाव, राष्ट्रिय एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई बलियो बनाउनु आजको आवश्यकता हो।
लोकतान्त्रिक मूल्य/मान्यता व्यवहारमा उतार्न सके मात्र प्रजातन्त्रको सार्थकता प्रमाणित हुन्छ। सामाजिक सद्भाव, राष्ट्रिय एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई बलियो बनाउँदै समृद्ध नेपाल निर्माणतर्फ अघि बढ्नु आजको आवश्यकता हो।
लोकतन्त्रलाई सफल बनाउन नागरिकको सक्रिय सहभागिता र जिम्मेवारीबोध अपरिहार्य हुन्छ। नागरिक सचेत, सूचित र सक्रिय नभएसम्म लोकतन्त्रको सार्थकता स्थापित हुन सक्दैन। त्यसैले लोकतन्त्रको रक्षा र सुदृढीकरणमा राज्य, राजनीतिक दल र नागरिक सबैको साझा दायित्व हुन्छ।
जनताको सार्वभौमसत्ता, विधिको शासन, मानवअधिकारको संरक्षण, अभिव्यक्ति स्वतन्त्रता, समावेशी सहभागिताको सुनिश्चितता पनि लोकतात्रान्त्रिक व्यवस्थाका आधारस्तम्भ हुन्। यी मूल्य-मान्यतालाई व्यवहारमा रूपान्तरण गर्न राज्यका सबै अंग, दल, नागरिक समाज, सञ्चारमाध्यम र आमनागरिकबिच सहकार्य र उत्तरदायित्व अपरिहार्य छ।
दलहरूले आफूले अवलम्बन गरेका नीति, कार्यक्रम, सिद्धान्त र कार्यान्वयन पक्षबारे निरन्तर समीक्षा गर्दै समयानुकूल सुधार गर्दै लैजानुपर्छ। पार्टीभित्र स्वच्छ र प्रतिस्पर्धात्मक निर्वाचन अभ्यासका साथै आन्तरिक बैठक र छलफल गर्दा राष्ट्रिय अजेण्डालाई प्राथमिकतामा राख्न जरुरी छ। आज जलवायु परिवर्तनको प्रभावका कारण हाम्रो स्वास्थ्यदेखि पृथ्वीकै स्वास्थ्यमाथि गम्भीर संकट देखापर्न थालेकाले यस्ता विषयहरूलाई पनि बहसमा ल्याउन आवश्यक हुन्छ।
यो व्यवस्थालाई थप सुदृढ बनाउन राज्यका सबै अंग, दल, नागरिक समाज र सबै नागरिकबिच सहकार्य र आपसी विश्वास आवश्यक छ। युवालाई रोजगारीको सुनिश्चितता, राज्यका सेवा प्रवाहलाई पारदर्शी, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सके लोकतन्त्र– प्रजातन्त्रप्रतिको जनविश्वास र आस्था अझ बढेर जानेछ।
लोकतन्त्र केवल राजनीतिक व्यवस्था मात्र नभई नागरिकको सहभागिता, पारदर्शिता, उत्तरदायित्व र सामाजिक न्यायको सुनिश्चितता गर्ने जीवनशैली पनि हो। हामीले लोकतन्त्रलाई केवल अधिकारको उपभोगमा सीमित नराखी कर्तव्यबोधसँग जोड्नुपर्छ।
सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै भ्रष्टाचार नियन्त्रण, पारदर्शिता प्रवर्द्धन तथा जनमुखी सेवा प्रवाहमार्फत नागरिकको जीवनस्तर उकास्नु आजको आवश्यकता हो। लोकतन्त्रको रक्षा र प्रवर्द्धनमा हामी सबै सचेत, जिम्मेवार र प्रतिबद्ध हुन आवश्यक छ।
लोकतन्त्रको रक्षा र प्रवद्र्धनमा हामी सबै सचेत, जिम्मेवार र प्रतिबद्ध हुन आवश्यक छ।
लोकतन्त्रको महत्वपूर्ण आधार भनेको आवधिक निर्वाचन पनि हो। मुलुक यतिबेला विषम परिस्थितिमा निर्वाचनको संघारमा छ। नियमितभन्दा दुई वर्षअघि हुन लागेको यो अभ्यासलाई एक किसिमले भन्ने हो भने मध्यावधि निर्वाचन पनि भन्न सकिन्छ।
देशले गत भदौ २३ र २४ गते ठुलो दुर्घटना भोग्नुपर्यो। आगामी दिनमा यस्ता घटना कहिल्यै दोहोरिन दिनु हुँदैन। निर्वाचनमा आफ्नो अभिमत जिम्मेवार ढंगबाट व्यक्त गर्नुपर्छ। भोलि कुनै पनि खालको अनिष्ट देशले भोग्न नपरोस् भन्ने कुरामा ख्याल राखेर राजनीतिक स्थायित्व, आर्थिक समृद्धि, सुशासन र जनजीविकामा सुधार ल्याउन सक्ने पार्टीलाई मत दिनुपर्ने अवसर हाम्रा सामु आएको छ।
(भण्डारी पूर्वराष्ट्रपति हुन्। भण्डारीको यो विचार राससका कृष्ण अधिकारीले गरेको कुराकानीमा आधारित हो।)
प्रकाशित: ६ फाल्गुन २०८२ २१:०३ बुधबार

