राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरिन्। बुधबार जनकपुरधामको तिरुहुतियागाछीमा आयोजित कांग्रेसको प्रतिज्ञा सभाका क्रममा उनी औपचारिक रूपमा कांग्रेसमा समाहित भएकी हुन्।
सभालाई सम्बोधन गर्न पुगेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शर्मालाई खादा र टीका लगाएर पार्टीमा स्वागत गरे।
पार्टी परित्याग र कांग्रेस प्रवेशसँगै शर्माले एक लिखित धारणा सार्वजनिक गर्दै रास्वपा नेतृत्वमाथि गम्भीर आरोप लगाएकी छिन्। उनले रास्वपाले सुरुवाती आदर्श भुलेर रास्वपा २.० का नाममा जनताको भावनासँग खेलबाड गरेको आरोप लगाइन्।
शर्माले विज्ञप्तिमा भनेकी छिन्, ‘जुन प्रवृत्तिका विरुद्ध रास्वपाको उदय भएको थियो, नेतृत्वले त्यही प्रवृत्तिलाई आत्मसात् र मलजल गर्दै लेनदेन, अनियमितता र विधि प्रक्रियामा कुठाराघात गरिरहेको छ। लाखौँ जनताको भावनालाई ब्ल्याकमेल गरेर सीमित नेतृत्वको महत्त्वाकांक्षा पूरा गर्नु नै अहिलेको रास्वपाको परिचय बनेको छ।’
उनले रास्वपाभित्र आवाज उठाउँदा सुन्ने र सुधार्ने भन्दा पनि आवाज थुन्ने र दबाउने प्रयास भएको गुनासो गरेकी छिन्। रास्वपामा अहिले अन्याय र लेनदेनका घटनाहरू उजागर हुँदै गएको र हजारौँ साथीहरू निराशामा रहेको उनको दाबी छ।
शर्माले आफू नेपाली कांग्रेसको २.० अभियान र महामन्त्री गगन थापाको नेतृत्वबाट प्रभावित भएर कांग्रेसमा आएको बताइन्।
‘जेन्जी आन्दोलनपश्चात् त्यसको म्यान्डेटलाई विशेष महाधिवेशनमार्फत नेपाली कांग्रेसले मात्रै आत्मसात् गरेको छ,’ उनले भनिन्, ‘हामीले खोजेको सुशासन, पारदर्शिता र लोकतान्त्रिक आचरणको छनक बदलिएको कांग्रेस र यसको नेतृत्वले दिएको छ।’
प्रकाशित: ६ फाल्गुन २०८२ २१:३९ बुधबार





