नेपाल विद्युत् प्राधिकरणले भैरहवामा रहेको पाल्पा सिमेन्ट उद्योगमा १० घण्टा मात्र विद्युत् दिन थालेको छ। भारतले विद्युत् आपूर्ति कटौती गरेपछि प्राधिकरणले उद्योगलाई दिँदै आएको विद्युत् कटौती गरेको हो। भैरहवा करिडोरमा रहेको पाल्पा सिमेन्ट उद्योगमा मात्र नभएर विराटनगरलगायत अन्य औद्योगिक करिडोरमा लोडसेडिङ सुरु भएको छ।
उद्योगीका अनुसार औद्योगिक करिडोरमा करिब १२ घण्टा लोडसेडिङ सुरु भएको छ। नेपालमा उत्पादित विद्युत् अपुग भएर भारतबाट ल्याइरहेको अवस्थामा भारतले गत आइतबारदेखि विद्युत् आपूर्ति कटौती गरेको थियो। भारतबाट दैनिक २० घण्टा बिजुली आयात गरेर आपूर्ति गरिँदै आएकामा आइतबारदेखि भारतबाट बिहान ६ देखि साँझ ६ बजेसम्म १२ घण्टा मात्र विद्युत् आपूर्ति गर्न लागिएको छ।
बिहानदेखि बेलुकालाई सोलार आवर मान्छि। सोलार आवरमा मात्र विद्युत् आयात भएको छ। भारतले मार्च १५ तारिखदेखि जुन ३० सम्म सोलार आवरमा मात्रै बिजुली दिने पूर्व सहमति गरेको छ। नेपाल र भारतबीच फेब्रुअरीमा प्रोजेक्ट स्टेयरिङ कमिटी (पिइसी) को बैठकमा मार्च १५ तारिखदेखि जुन ३० तारिखसम्म सोलार आवरमा मात्रै बिजुली दिने सहमति भएको थियो।
औद्योगिक करिडोरमा साँझ ६ देखि बिहान ६ बजेसम्म लोडसेडिङ भएपछि उद्योगले उत्पादन कटौती गरेका छन्। प्राधिकरणले मागअनुसार विद्युत् नदिएपछि उत्पादन प्रभावित भएको उद्योगीले बताएका छन्। उद्योगमा १२ देखि १४ घण्टा लोडसेडिङ सुरु भएको नेपाल उद्योग परिषंघका अध्यक्ष राजेश कुमार अग्रवालले बताए।
‘भैरहवामा रहेको हाम्रो उद्योगमा मंगलबारदेखि १४ घण्टा लोडसेडिङ भएको छ,’ अग्रवालले भने, ‘विद्युत् कटौती भएपछि उत्पादन प्रभावित भएको छ ।’ अग्रवाल पाल्पा सिमेन्टका सञ्चालक हुन्।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नभएको सञ्चारमाध्यममा अभिव्यक्ति दिएका छन्। सर्वसाधारणको घरमा बाल्ने बिजुलीमा भने लोडसेडिङ छैन। उद्योगीले भने घिसिङले झुट बोलेको आरोप लगाएका छन्। ‘बिजुली छैन, दिन सकिँदैन भने चित्त बुझ्छ,’ अध्यक्ष अग्रवालले भने, ‘कुलमानजीले झुट बोलिरहनु भएको छ ।’ उद्योगले १० घण्टा मात्र विद्युत् पाएको उनले दोहोर्याए ।
उद्योगहरूले बिजुली नपाए औद्योगिक उत्पादनको भाउ बढ्ने उद्योगी बताउँछन्। विराटनगरको औद्योगिक करिडोरमा पनि १२ घण्टा लोडसेडिङ रहेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका बताउँछन्। मुरारकाका विराटनगर औद्योगिक करिडोरमा उद्योगहरू छन्। ‘विराटनगर करिडोरका उद्योगले बेलुकी ६ देखि बिहान ६ बजेसम्म विद्युत् पाएका छैनन्,’ उनले भने।
विद्युत् नपाएपछि सामानको मूल्य बढ्ने उनले बताए। ‘डिजेलबाट उद्योग चलाउँदा लागत बढ्छ,’ उनले भने, ‘लागत बढेपछि वस्तुको भाउ बढ्ने नै भयो ।’
राष्ट्रियसभाको बुधबारको बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पनि मुलुकमा लोडसेडिङ सुरु भएको बताएका थिए। प्राधिकरणले उद्योगको लाइन काटेर घरमा विद्युत् दिएर लोडसेडिङ अन्त्य भएको दाबी गरेको खड्काले बताए।
प्रकाशित: ७ चैत्र २०८१ ०६:४१ बिहीबार