बिहीबारदेखि सुरु भएको कक्षा ८ अर्थात् आधारभूत तहको परीक्षामा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने मदरसाका प्रधानाध्यापक (प्रअ) समेत परीक्षामा सहभागी भएका छन् । नेपालगन्ज–१९ स्थित ज्यामिया इस्लामिया रजाय मुस्तफाका प्रधानाध्यापक नइमुद्दीन खाँ उक्त परीक्षामा सहभागी भएका हुन् ।
उनले कन्या माध्यमिक विद्यालयबाट आधारभूत तहको परीक्षा दिइरहेका छन् । मदरसा शिक्षाबाट मौलाना डिग्री गरेका उनले सामुदायिक विद्यालयबाट अध्ययन सुरु गरेका छन् । यति मात्र होइन उनले उच्च शिक्षा हासिल गरी लोकसेवा परीक्षाबाट सरकारी जागिरमा प्रवेश गर्ने लक्ष्य लिएका छन् । मदरसा भनेको, मुस्लिम समुदायका बालबालिकाको शिक्षाको अधिकार सुनिश्चितता गर्नका लागि स्थापित शैक्षिक संस्था हो । यहाँ पुरुष शिक्षकलाई मौलाना र महिला शिक्षकलाई मुल्तबी भनिन्छ ।
मदरसामा हाफिज, मौलबी, मौलाना, अलिमा र फाजिल तह हुन्छन् । फाजिल तह उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल हुन्छ । मदरसामा मुस्लिम समुदायको मातृभाषा अरबी र उर्दू भाषामा पढाइ हुन्छ । मदरसा शिक्षालाई राष्ट्रिय शिक्षामा जोड्न नसक्नु मौलाना र मुल्तबीको वृद्धि विकाससमेत हुन सकेको छैन । कक्षा ८ को परीक्षामा सहभागी हुन पाउँदा उनले खुसी व्यक्त गरे । ‘मैले आफ्नो मदरसाबाट प्राप्त गर्नुपर्ने शिक्षा लिएको छुँ,’ उनी भन्छन्, ‘सामुदायिक विद्यालयको शिक्षा आर्जन गर्न सकेको थिएनँ, अहिले सुरु गरेको छुँ । यसमा मलाई कुनै संकोच छैन । खुसी छुँ ।’ शिक्षा लिनलाई पद र उमेरले बञ्जेद नगर्ने भन्दै उनले भने, ‘कोही प्रअ नै आठ कक्षाको परीक्षा दिँदै छ भनेर खिसिट्याउरी गर्लान । तर, त्यस्तो होइन । मैले मदरसा शिक्षक हुनलाई हासिल गर्नुपर्ने शिक्षा लिएको छुँ । अब सामुदायिक विद्यालयको शिक्षा आर्जन गरी आफ्नो वृद्धि विकाससँगै अन्य अवसर प्राप्तीका लागि प्रतिस्पर्धा गर्न चाहान्छुँ । यसमा अनौठो मान्नुपर्ने कारण नै छैन ।’
उनी परीक्षा केन्द्रमा पुग्दा परीक्षार्थी दंग भएका थिए । उनले पहिलो दिनको परीक्षा अनुभव सुनाउँदै भने, ‘म परीक्षा केन्द्र पुग्दा परीक्षार्थी दंग परेर परीक्षा दिन आएको भनेर पत्याएनन् । प्रवेश पत्र देखाएर जब उनीहरुसँगै परीक्षा दिन सुरु गरे अनि पत्याए ।’ उनी राष्ट्रिय शिक्षामा जोडिँदा मदरसा शिक्षाको विकास र उत्थानमा महŒवपूर्ण भूमिका निर्वाह हुने शिक्षा अधिकृतहरुले बताएका छन् ।
मौलानाले थप शिक्षा आर्जन गरेर आफूलाई परिपक्वता र प्रमाणपत्र मजबुद बनाउनु स्राहनीय काम भएको मुस्लिम आयोगका सदस्य एवम् प्रवक्ता मिर्जा अरशद बेगले बताए । यसले मौलानाको अध्यापन र बालबालिकाको गुणस्तरीय सिकाइमा सकारात्मक प्रभाव पार्ने उनी बताउँछन् । मदरसा बोर्डमार्फत पुराना मौलानाको प्रमाणपत्र समकक्षताको समस्या समाधान गर्न शिक्षा विधेयकमा सुझाव दिइएको उनको भनाइ छ ।
मदरसा शिक्षामा मूलप्रवाहीकरणका लागि र गुणस्तरीय शिक्षा प्रदानका लागि यसले सकारात्मक प्रभाव पार्ने नेपालगन्ज उपमहानगरपालिकाअन्तर्गतको शिक्षा तथा खेलकुद महाशाखाका अधिकृत लोकेन्द्र शाहीले जनाए । ‘मदरसा शिक्षक नियुक्तका लागि आवश्यक पर्ने शिक्षा उहाँले हासिल गर्नु भएको छ,’ उनले भने, ‘शिक्षण पेसासँगै राष्ट्रिय शिक्षा लिनु खुसीको कुरा हो । यसलाई नकारात्मकभन्दा सकारात्मक तरिकाले बुझ्न जरुरी छ ।’ उनका अनुसार योसँगै नगरमा बिहीबारदेखि सुरु भएको आधारभूत तहको परीक्षा शान्त तथा मर्यादित ढंगले सञ्चालन भएको छ ।
प्राथमिक विद्यालय (प्रावि) तहको राहत शिक्षक हुँदै उनी २०६८ सालमा प्रअ नियुक्त भएका थिए । उनले पढाउने मदरसा कक्षा १ देखि ५ सम्म पढाइ हुन्छ । उनी राष्ट्रिय शिक्षासँग जोडिएपछि घरपरिवारसमेत खुसी छन् । मदरसामा मात्रै निर्भर नभइ मदरसाबाटै मूलधारको शिक्षा दिनु अहिलेको आवश्यकता भएको बताइएको छ । सरकारले २०४८ देखि मदरसालाई सरकारी मान्यता दिन थालेको हो । तर मुस्लिम समुदायका धेरै बालबालिकाले धर्मसंस्कृतिबाहेकको शिक्षा लिन नपाएको गुनासो छ ।
प्रकाशित: ७ चैत्र २०८१ २०:१८ बिहीबार