राजा र राजावादीका सक्रियताविरुद्ध प्रतिपक्षदेखि सत्तापक्ष दलहरूले शृङ्खलाबद्ध रूपमा सडक आन्दोलनको घोषणा गरेका छन्।
सत्तारूढ दल नेकपा (एमाले) ले बिहीबार (आज) मात्रै चैत ११ गतेदेखि आन्दोलनको घोषणा गरेको छ।
चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तर्संवाद कार्यक्रम आयोजना गर्ने एमालेको तयारी छ।
यस्तै १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरणसभा आयोजना गर्ने र जागरणसभा नहुने जिल्लाका हकमा बृहत् मोटरसाइकल र्याली गर्ने कार्यक्रम बनाएको छ।
२४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभाको आयोजना गर्ने एमालेले जनाएको छ।
यो पनि पढ्नुहोस्
पूर्वराजाको सक्रियताले सोच्न बाध्य दलहरूयता प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सम्मिलित समाजवादी मोर्चाले यसअघि नै सडक आन्दोलनको घोषणा गरिसकेको छ। माओवादी केन्द्र मोर्चाको सबैभन्दा ठूलो दल हो। त्यसबाहेक मोर्चामा माधवकुमार नेपाल नेतृत्वको नेकपा (माओवादी केन्द्र), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महेन्द्र यादव यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) छन्।
मोर्चाले चैत १५ गते बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ। '१५ गते काठमाडौंमा गणतन्त्रको पक्ष र प्रतिगामी हर्कतको खिलापमा हजारौं जनताको विरोध प्रदर्शन गर्ने निर्णय भएको छ,’ मोर्चाका सदस्य-सचिव खड्गबहादुर विश्वकर्माले भने।
कांग्रेसले देखेन आवश्यक
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले भने राजा र राजावादीका विरुद्ध सडक आन्दोलनको आश्यकता देख्दैन।
नागरिकसँग कुराकानी गर्दै कांग्रेस नेता रामहरि खतिवडाले भने, 'राजा र राजावादीहरूको सक्रियताविरुद्ध आन्दोलन गर्नु आवश्यक छैन।'
आन्दोलनको घोषणा गर्नेहरूले 'कन्सट्रेसन' को राजनीति गर्न खोजेको आरोप लगाउँदै खतिवडाले भने, 'कांग्रेसले आन्दोलन नै गर्नुपर्ने आवश्यकता देखेको छैन अहिलेका लागि।कोही संविधानविपरीत जान खोज्यो भने त्यसबेला सोच्ने हो। तर, अहिल्यै हामीले त्यो महसुस गरेका छैनौँ।'
यो पनि पढ्नुहोस्
राजावादीविरुद्ध आन्दोलन गर्नु आवश्यक छैन : कांग्रेसप्रकाशित: ७ चैत्र २०८१ २०:२९ बिहीबार