२८ माघ २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

विजय बरालको ‘जिरो डिग्री’ बाट डेब्यु गर्दै राजन

अनेकौं म्युजिक भिडियो र चलचित्र निर्देशनमार्फत आफ्नो छुट्टै पहिचान बनाइसकेका निर्देशक राजन भुसाल अब पर्दा पछाडिबाट पर्दा अगाडि आउने भएका छन्।

लोकप्रिय अभिनेता विजय बरालको मुख्य भूमिका रहेको आगामी चलचित्र ‘जिरो डिग्री’ मार्फत भुसालले अभिनयमा ‘डेब्यु’ गर्न लागेका हुन्।

सजन काफ्ले र आकास बरालको संयुक्त निर्देशनमा बन्न लागेको यो चलचित्र हाल छायाङ्कनको चरणमा छ। आगामी वर्ष प्रदर्शनमा ल्याउने तयारी गरिएको चलचित्रमा निर्देशक भुसालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ।

‘जिरो डिग्री’ को कथावस्तु निकै रोचक र मौलिक छ। सडक सञ्जालले नछोएको एक दुर्गम गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान आइपुगुन्जेल शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ भित्र्याएपछि उत्पन्न हुने परिस्थितिलाई चलचित्रमा देखाइनेछ।

निर्देशकका अनुसार यो चलचित्र फ्रिज पुर्‍याउने यात्रा मात्र होइन, यसले ‘डार्क कमेडी’ शैलीमा समाजका यथार्थ र उथलपुथलपूर्ण घटनाहरूलाई उजागर गर्नेछ।

चलचित्रमा ‘ऊनको स्वीटर’ को चर्चित गीत ‘काफ्ले’ का रचनाकार युवराज काफ्लेले गीत रचना गर्नेछन्। अभिनयमा पोख्त विजय बराल र निर्देशनबाट अभिनयमा फड्को मारेका राजन भुसालको ‘केमेस्ट्री’ लाई दर्शकले रोचक मानेर हेर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ९ पुस २०८२ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App