त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५१ औं दीक्षान्त समारोहका लागि प्रमुख अतिथि एवं नोबेल पुरस्कार विजेता वैज्ञानिक प्रा.डा. ताकाआकी काजिताको स्वागतको तयारी तीव्र पारिएको छ।
भोलि (बिहीबार) दशरथ रंगशालामा आयोजना हुने भव्य समारोहमा सहभागी हुन जापानी वैज्ञानिक प्रा.डा. काजिता आज (बुधबार) राति नै काठमाडौं आइपुग्ने कार्यतालिका छ।
विश्वप्रसिद्ध वैज्ञानिकको उपस्थिति र ऐतिहासिक सङ्ख्यामा विद्यार्थी दीक्षित हुने भएपछि कार्यक्रमलाई भव्य बनाउन त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्याल स्वयं खटिएका छन्।

बुधबार रंगशाला पुगेर उनले मञ्च व्यवस्थापन, स्वागतद्वार निर्माण र सुरक्षा प्रबन्धको निरीक्षण गरे।

यसपटक त्रिविले हालसम्मकै उच्च सङ्ख्यामा विद्यार्थी दीक्षित गराउँदै छ। करिब १७ हजार विद्यार्थी र तिनका अभिभावकको उपस्थितिलाई मध्यनजर गर्दै भीड व्यवस्थापनमा विशेष जोड दिइएको छ।

तयारीबारे जानकारी दिँदै उपकुलपति अर्यालले भने, ‘सकेसम्म भोलिको दीक्षान्त सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गराउन हाम्रो सम्पूर्ण ध्यान केन्द्रित छ। विदेशी पाहुना, विद्यार्थी र अभिभावकलाई कुनै सास्ती नहोस् भनेर हामीले प्रवेशद्वार र काउन्टरहरूको सङ्ख्या वृद्धि गरेका छौँ।’

जापानको टोकियो विश्वविद्यालयका भौतिक शास्त्र विषयका प्राध्यापकसमेत रहेका नोबेल पुरस्कार विजेता काजिताको उपस्थितिले त्रिविको पहिचान विश्वस्तरमा पुर्याउन थप बल पुग्ने विश्वास विश्वविद्यालयले लिएको छ।

समारोहका आकर्षणका केन्द्र रहेका काजिताको स्वागतदेखि विदाइसम्मको व्यवस्थापनमा कुनै कमी हुन नदिन विश्वविद्यालय परिवार सक्रिय भएर लागेको छ।
प्रकाशित: ९ पुस २०८२ १४:०२ बुधबार





