१० चैत्र २०८१ आइतबार
image/svg+xml ३:४४ पूर्वाह्न
राजनीति

फेरि हौसियो माओवादी

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) लाई पुन: स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनले हौस्याएको छ। गत चैत ५ गते सम्पन्न बढी जसो क्याम्पसका स्ववियु निर्वाचन नतिजालाई उत्साहप्रद भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालले भनेका छन्- सचेत एवम् बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ।

माओवादीको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले हालसम्म आङ्गिकतर्फ ८ क्याम्पसमा जित निकालेको छ। तर, क्रान्तिकारीले केन्द्रीय प्रविधि क्याम्पस, धरान मा स्वतन्त्र रूपमा जितेका पेशल राज कार्की र चितवन इन्जिनियरिङ क्याम्पस, चितवनमा स्वतन्त्र रूपमा जितेका प्रज्ज्वल अधिकारी पनि क्रान्तिकारीकै नेता भएको दाबी गरेको छ।

त्यससँग क्रान्तिकारीले आङ्गिकतर्फ मात्रै १० वटा क्याम्पसमा जित निकालेको सङ्गठनका महासचिव रोशन थापा मगरले दाबी गरे। 'हामीले १० ठाउँ जित निकाल्यौँ। पेशल कार्की र प्रज्ज्वल अधिकारी अब चाँडै सङ्गठनमा प्रवेश गर्दै हुनुहुन्छ,' उनले भने। 

महासचिव थापा मगरका अनुसार अहिलेसम्म क्रान्तिकारीले जम्मा ८४ ठाउँ जित निकालिसकेको छ। यसलाई मातृपार्टी माओवादीले उत्साहप्रद भनेको छ, जसका कारण ऊ हौसिएको छ।

यसअघि स्थानीय तह उपनिर्वाचनले पनि माओवादीलाई हौस्याएको थियो। गत मंसिरमा सम्पन्न स्थानीय तह उपनिर्वाचनमा माओवादीले तीन अध्यक्ष, तीन उपप्रमुख र सात वडाध्यक्षसहित ११ स्थानमा जिन निकालेको थियो।

निरन्तर आलोचना बढिरहेको बेला प्राप्त उक्त नतिजालाई माओवादीले कांग्रेस-एमालेको वैशाखी बिना पनि परिणाम हात पार्न सक्ने रूपमा व्याख्या गर्दै पार्टी पुन:२०६४ तिरै फर्किने दिशामा रहेको जिकिर गरेको थियो। सरकारको नेतृत्व त्यागेको पाँच महिनापछि मात्रै भएको स्थानीय तह उपनिर्वाचनमा नेकपा (एमाले) समेत पछाडि छाड्दा माओवादी खुबै हौसिएको थियो। उसलाई स्ववियु निर्वाचन नतिजाले पुन: हौस्याएको छ।

यो पनि पढ्नुहोस्

स्ववियु निर्वाचनमा हाम्रो पार्टीनिकट अखिलको पक्षमा देखिएको लहर उत्साहप्रद : दाहाल

स्ववियु निर्वाचनले युवा तथा शिक्षित वर्ग माओवादीसँगै रहेको पुष्टि भएको दाबी बारा पुगेर माओवादी अध्यक्ष दाहालले गरेका छन्। 'विद्यार्थीहरू अग्रगमनको पक्षमा छन्, माओवादीको पक्षमा छन्। अब उनीहरू प्रतिगमन वा यथास्थितिको पक्षमा छैनन्,' अध्यक्ष दाहालले भनेका छन्।

सँगै उनले गत उपनिर्वाचन र स्ववियु निर्वाचनले अब माओवादीले एमाले-कांग्रेसको वैशाखी नटेकी परिणाम हात पार्न सक्छ भन्ने देखाएको पनि बताएका छन्। 'अब माओवादी कसैको वैशाखी नटेकी उठ्नै सक्दैन भन्ने भाष्य निर्माण गरेका थिए एमाले-कांग्रेसहरूले। तर, गत उपचुनाव र स्ववियुको निर्वाचनसम्म आउँदा त्यो भाष्यलाई हामीले चिरेका छौँ। अब माओवादीले आफ्नै खुट्टामा उभिएर परिणाम आफ्नो बनाउन सक्छ।'

यो क्रम आउँदो आवधिक निर्वाचनसम्मै जाने माओवादी नेताहरूको भनाइ छ। उपाध्यक्ष पम्फा भुसाल पार्टी सच्चिँदै गएको भन्दै जनता माओवादीले देशको नेतृत्व गर्नुपर्छ भन्ने ठाउँमा पुगेको दाबी गर्छिन्। 'यो लहरले ०८४ को निर्वाचनमा काम गर्नेछ,' उनी भन्छिन्, 'हामी हौसिएका मात्रै छैनौँ, थप काम पनि गर्दै जाने हो।'

त्यसो त राजनीतिक विश्लेषकहरू पनि माओवादी अरुभन्दा ठीक देखिएको बताउँछन्। विश्लेषक विष्णु दाहाल भन्छन्, 'माओवादी अरुभन्दा ठीक देखियो।'

माओवादी अध्यक्ष दाहाल जनतासँग एउटै धरातलमा रहेको उल्लेख गर्दै भने, 'केपी शर्मा ओली जनतामा जानै सक्नुहुन्न, देश छोड् भनिहाल्छन्। शेरबहादुर देउवा पनि सक्नुहुन्न, विभिन्न कारणले। प्रचण्डले चाहिँ अहिले जनतालाई नै फोकस गरिरहनुभएको छ। त्यसैले पनि हो।'

माओवादीको यो लहर आगामी चुनावसम्मै रहन्छ ? भन्ने सवालमा भने उनले यकिन गर्न नसकिने बताए। अहिलेबाट चुनावसम्म जाँदा देखिने सिनारियो, माओवादीले गर्ने गतिविधिलगायतका विषयले पनि निर्धारण गर्न सक्ने उनको भनाइ छ।

यो पनि पढ्नुहोस्

स्वतन्त्र रूपमा स्ववियु सभापति निर्वाचित अधिकारी र कार्की क्रान्तिकारीका नेता रहेको दाबी

 

प्रकाशित: ७ चैत्र २०८१ १८:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App