७ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

सांसद विश्वकर्माको आरोप: सभामुख एमाले कार्यकर्ताको रुपमा प्रस्तुत भए

नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभाका सांसद विष्णुबहादुर विश्वकर्माले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे एमाले कार्यकर्ताको भूमिकामा देखिएको आरोप लगाएका छन्।

सभामुख घिमिरेले हिंसा शब्दलाई लिएर गरेको निर्णयप्रति आपत्ति जनाउँदै उनले सो आरोप लगाएका हुन्।

आइतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले सभामुख घिमिरेले हिंसा शब्दलाई संसद्को रेकर्डबाट नहटाउने निर्णय लिएर एमालेको कार्यकर्ताको रुपमा प्रस्तुत भएको जिकिर गरे।

प्रतिनिधि सभा बैठकमा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय भन्दै माओवादी केन्द्रका सांसदहरुले संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए।

तर सभामुख घिमिरेले सो शब्द असंसदीय नभएको भन्दै संसद्को रेकर्डबाट हटाउन नपर्ने निर्णय लिएका थिए। सोही विषयलाई उल्लेख गर्दै सांसद विश्वकर्माले सभामुख घिमिरे एमालेको कार्यकर्ता हो कि प्रतिनिधिसभाको सभामुख ? भनी प्रश्न समेत गरे।

उनले माओवादी विद्रोह जनयुद्ध भएको दाबी गर्दै त्यसलाई अन्यथा ढंगले व्याख्या गर्ने काम भए राष्ट्रिय सभा बैठकमा पनि अवरुद्ध पार्नुपर्ने अवस्था आउने चेतावनी दिए।

सांसद विश्वकर्माले माओवादी विद्रोह जनयुद्ध भएको र त्यसको अपव्याख्या गर्ने कुरा आफूहरूलाई सैह्य नहुने बताए।

प्रकाशित: ३० भाद्र २०८१ १५:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App