राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गरेका छन् ।
बुधबार सिंहदरबारमा भएको भेटमा द्विपक्षीय साझेदारी, आपसी सहयोग र सम्बन्धका विषयमा कुराकानी भएको थियो। भेटमा अध्यक्ष दाहालले नेपाल र चीनबीचको सम्बन्ध वर्षौं पुरानो भएको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको बताए ।
दुई देशबीच राष्ट्रपतिकै तहबाट भ्रमण भएको र विभिन्न समयमा संसदीय टोली, राजनीतिक टोली लगायतको नियमित भ्रमण भइरहेको चर्चा गर्दै अध्यक्ष दाहालले यस्ता भ्रमणले सांस्कृतिक विविधताबारे जानकारी हुने, विकासका नयाँ आयामहरुको विस्तार हुने र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।
चीनले नेपालको हितका लागि आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि सहयोग निरन्तर भइरहने विश्वास व्यक्त गरे । बिआरआई लगायत दुई देशबीच विभिन्न समयमा भएका समझदारी र सहमति प्राथमिकताका साथ कार्यान्वयन हुनेमा आफ्नो गहिरो विश्वास रहेको भन्दै अध्यक्ष दाहालले यसले दुई देशको सम्बन्ध थप मजबुत र बलियो हुने बताए ।
नेपालको पर्यटन प्रवर्द्धनमा चिनियाँ पर्यटकहरुको ठूलो भूमिका रहेको चर्चा गर्दै उनले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट नियमित उडान सुचारु गर्न सके नेपालको पर्यटन उद्योगको वृद्धि हुनेमा विश्वास व्यक्त गरे ।
जलवायु परिवर्तनबाट हिमाली देशहरु निकै प्रभावित भएको भन्दै अध्यक्ष दाहालले हिमाल र प्रकृति बचाउन पनि हिमाली देशहरुबीच सहकार्य, सहयोग र साझा समझदारी जरुरी रहेको उल्लेख गरे ।
टिआरसी विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मत पारित भएर राष्ट्रिय सभामा आइसकेको जानकारी गराउँदै अध्यक्ष दाहालले राष्ट्रिय सभाबाट पनि सर्वसम्मत पारित हुने विश्वास व्यक्त गरे । नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन विश्व समुदायको महत्त्वपूर्ण सहयोग रहेको र त्यसमा चीनको विशिष्ट भूमिका रहेको अध्यक्ष दाहालको भनाइ थियो ।
सो अवसरमा राजदूत सोङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्पारिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको भन्दै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि दुई देशबीचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उचाईमा पुगेको दाबी गरे ।
शान्ति प्रक्रियाको बाँकी कामको रुपमा रहेको टिआरसी विधेयक संसदबाट पारित हुन लागेकोमा निकै खुसी लागेको भन्दै राजदूत सोङले यसले नेपालको शान्ति, स्थिरता र विकासमा नयाँ फड्को हुने बताए ।
नेपालमा हालै निर्माण सम्पन्न भएका पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट सिधा उडान गर्न चीन इच्छुक रहेको भन्दै राजदूत सोङले त्यसले नेपालमा चिनियाँ पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त गरे ।
प्रकाशित: ५ भाद्र २०८१ १७:१२ बुधबार