२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीका कार्यकर्ताविरूद्ध एमाले कार्यकर्ताको चक्काजाम

रौतहटको गरुडामा बिहीबार नेकपा (एमाले) निकट कार्यकताले चक्काजाम गरेका छन्।

नेकपा एमालेका नेता शेख कलिमुल्लाहको नेतृत्वमा एमालेका केही कार्यकर्ताहरूले दिउँसो १२ बजेदेखि साढे एक बजेसम्म चक्काजाम गरेका हुन्।

बुधवार दिउँसो गरुडा चोकमा नेकपा (एकीकृत समाजवादी)का नेता अशोक यादवसहितको टोलीले आफूहरूमाथि दुर्व्यवहार गरेको भन्दै उनीहरुले चक्काजाम गरेका हुन्।

यादवलाई प्रहरीले पक्राउ गरी कारबाही गर्नुपर्ने कलिमुल्लाहले बताएका छन्। उनीहरुले इलाका प्रहरी कार्यालय गरुडाविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए। कार्यकर्ताहरूले पूर्वपश्चिम राजमार्गलाई सदरमुकाम गौरसित जोड्ने जिल्लाको मूल सडकमा टायर बालेर सार्वजनिक सवारी साधनलाई दुवैतिर रोकेका थिए।

गएको जेठ ७ गते अशोक यादवकी ७४ वर्षीया आमा इमितिया देवी र भतिज कमलेश यादवलाई आफ्नै गाउँ गरुडा नगरपालिका ६ अमरपटिका राम सोगारथ, मिश्रीलाल यादव, रविन्द्र यादव, अमिरी यादव, देवेन्द्र यादव र धीरेन्द्र यादवले ढुङ्गा, लाठी र इँटा प्रहार गरी घाइते बनाएको भन्दै अशोक यादवले इलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता गराएका थिए।

सोही विषयलाई इलाका प्रहरी कार्यालय गरुडामा मिलापत्र गराउन दुवै पक्षका मानिसहरू बसेर छलफल गर्ने क्रममा शेख कलिमुल्लाहले यादवको विपक्षमा बहस गरेको भन्दै उनीमाथि दुर्व्यवहार गरेको आरोप छ। 

प्रकाशित: १० श्रावण २०८१ १७:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App