२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

उपराष्ट्रपति यादवसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा.डेनियल म्यूली मोन्टेलियोनले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग शिष्टाचार भेट गरेका छन्। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार भएको भेटमा द्विपक्षीय सम्बन्ध विस्तार, विकास सहयोग, लगानी तथा व्यापार, पर्यटनलगायत विषयमा छलफल भएको थियो।    

उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भए पश्चात नेपाल र स्वीट्जरल्याण्डबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्दपूर्ण रहेको र नेपालले स्वीट्जरल्याण्डसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिंदै आएको बताए। उनले भने, ‘उच्च राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदान प्रदान तथा संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–स्वीट्जरल्याण्ड सम्बन्धका आधार स्तम्भहरु हुन्।’  

उपराष्ट्रपति यादवले नेपालको विकास पथमा मित्र राष्ट्र स्वीट्जरल्याण्डको निरन्तर साथ र सहयोग रहनेमा आशावादी रहेको बताउँदै जलवायु परिवर्तनलगायतका अन्तर्राष्ट्रिय मुद्दाहरुमा बहुपक्षीय मञ्चहरुमा स्वीट्जरल्याण्डको महत्वपूर्ण भूमिकाको प्रशंसा गरे। आपसी हितका विषयमा दुईपक्षीय र वहुपक्षीय मञ्चहरुमा दुई देशबीचको सहकार्य निरन्तर कायम रहनेमा आफू आशावादी रहेको उनको भनाइ थियो।  

भेटमा राजदूत मोन्टेलियोनले नेपाल र स्वीट्जरल्याण्ड असल मित्र भएको जनाउँदै स्वीस सरकारले नेपालमा रहेको तीनै तहको सरकारलाई बलियो बनाउँदै संघीयतालाई सबल र सुदृद्ध बनाउन सहयोगी भूमिका खेल्ने आश्वासन दिए। स्वीस लगानीकर्तालाई नेपाल भित्र्याएर नेपालको विकासमा सहयोग पुर्याउने चाहना रहेको उनको भनाइ थियो। 

प्रकाशित: १० श्रावण २०८१ १७:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App