२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

लुम्बिनीका नवनियुक्त ८ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त  मुख्यमन्त्री चेतनारायण आर्चायले पद तथा गोपनीयताको शपथ लिएसँगै  एमाले काँग्रेसका ८ जना मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।

कांग्रेसका २७ र एमालेका २९ गरी ५६ सांसदको समर्थनमा गत सोमबार आर्चाय मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनी एमाले संसदीय दलका उपनेता हुन्। आर्चाय अर्घाखाँचीकाको क्षेत्र नं. १ (क) बाट प्रदेश सांसदमा निर्वाचित भएका थिए। १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेबाट ४  र काँग्रेसका तर्फबाट ४ जना बिना विभागीय मन्त्रीमा नियुक्त भएका छन्। जसमा एमालेका तर्फबाट रुपन्देहीका भुमिश्वर ढकाल,गुल्मीका दिनेश पन्थी,पाल्पाका खेमबहादुर सारु मगर र दाङका सीता चौधरी मन्त्री भएका छन्।

काँग्रेसबाट गुल्मीका धनेन्द्र कार्की,प्युठानका सरोज थापा (रोज राणा),दाङका प्रचण्डबिक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्रीमा नियुक्त भएका छन्। यस्तै,काँग्रेसबाट यसअघि मन्त्री बन्ने भनिएका जन्मजय तिमल्सेनाको नाम भने अन्तिम समयमा हटाइएको छ।

कांग्रेस संस्थापन पक्षले एकलौटी रुपमा प्रदेशसँग सल्लाह नगरी मन्त्री छानेको भनी बिवाद भएपछि तिमल्सेनाको नाम हटाइएको बताइएको छ। लुम्बिनीमा एमालेले मुख्यमन्त्री सहित ५ र काग्रेसले ५ वटा मन्त्रालय लिने सहमति भएको हो। एमालेमा मन्त्री छान्न सकस भएपछि मुख्यमन्त्री आर्चाय काठमाण्डौ आएका थिए। पार्टी मुख्यालयबाट मन्त्रीको टुङ्गो लगाएर उनी हिजो बुटवल आएको एमाले श्रोतले बताएको छ।  

त्यस्तै,काँग्रेसमा पनि मन्त्रीको नाम टुङ्गयाउन संसदिय दलका नेता डिल्ली चौधरी सहितका नेताहरु काठमाडौं पुगेका थिए। पार्टी सभापती देउवाको निर्देशन अनुसार नै मन्त्रीको नाम टुङ्गयाइएको बताइएको छ। मन्त्रीको नाम टुङ्गो लगाए पनि मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउन नसकेकाले आज सबैलाइ बिना विभागीय मन्त्रीको शपथ खुवाइएको हो। 

बिहिबारसम्म मन्त्रालय तोकिने बताइएको छ। लुम्बिनीमा साना दलहरु लोसपा,जनमत,जसपा र नाउन्मुक्तिले पनि सरकारलाइ समर्थन गर्ने जनाएका छन्। बाँकी रहेका २ मन्त्री पद तीनै पार्टीका लागि खाली राखिएको छ। मुख्यमन्त्रीको शपथमा एमाले संसदीय दलका नेता लिला गिरी अनुपस्थित भएका छन्। आफ्नै पार्टीका मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रममा एमाले संसदीय दलका नेता लिला गिरी उपस्थित नभएको जनाइएको छ।

कांग्रेस एमाले गठबन्धन बने देखि नै लुम्बिनीको मुख्यमन्त्री एमालेको भागमा पर्ने र  एमालेका तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा पुर्व मुख्यमन्त्री गिरी मुख्य मन्त्री बन्ने चर्चा थियो । मुख्यमन्त्री नियुक्ति हुने दिन बिहानसम्म पनि गिरी नै मुख्यमन्त्री हुने खबरहरु सार्वजनिक भइसकेको थियो ।

तर मुख्यमन्त्री नियुक्ती प्रक्रियाको अन्तिम चरणमा पत्र तयार गर्दै गर्दा एमाले महासचिव शंकर पोख्रेलले फोन गरेर मुख्यमन्त्रीमा चेतनारायण आर्चाय हुने भनेपछि गिरीको नाम हटाएर आर्चायको नाम राखिएको थियो। 

त्यसलगत्तै गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फोन गर्दा अहिलेलाई यस्तै भयो भन्ने जवाफ दिएको स्वंयम गिरीले नै संचारमाध्यमहरुलाई बताएका छन्। गिरी पछिल्लो समय एमाले उपाध्यक्ष बिष्णु पौडेल निकट हुन् भने आर्चाय पार्टी महासचिव तथा पूर्वमुख्यमन्त्री शंकर पोख्रेल निकट हुन्। 

प्रकाशित: ९ श्रावण २०८१ १०:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App