२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

पूर्वमुख्यमन्त्री कार्कीले धम्की दिएको सचिवको आरोप

सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कुटपिट गर्ने धम्की दिएको आरोप लगाएका छन्। पूर्वमुख्यमन्त्री कार्कीले साउन ७ गते फोनबाट कुटपिट गर्ने धम्की दिएको सचिव भट्टराईले बताए।

सचिव भट्टराईले खेलकुदको बजेट निकासाका विषयमा पूर्वमुख्यमन्त्री कार्कीले आफूलाई कुट्ने धम्की दिएको आरोप लगाए। उनल भने, ‘खेलकुदको रकम निकासाका लागि अर्थ मन्त्रालयले सहमति नदिएका कारण निकासा हुन नसकेको हो, तर पूर्वमुख्यमन्त्री कार्कीले आफूलाई रकम निकासा नदिएको भन्दै कुट्ने धम्की दिएपछि जिल्ला प्रशासन कार्यालय मोरङ र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा उजुरी दिएको हुँ।’

उजुरीमा सचिव भट्टराईले सुरक्षा व्यवस्था गरिदिन र धम्की दिने पूर्वमुख्यमन्त्रीमाथि कारबाही गरिपाऊँ भन्ने व्यहोरा उल्लेख रहेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेसप्रसाद भट्टराईले बताए। उनले सचिवज्यूको शान्तिसुरक्षाका लागि व्यवस्था गरिसकिएको र आरोपितलाई कारबाहीका विषयमा जिल्ला सुरक्षा समितिमा छलफल गरी निर्णय लिइने बताए।

यता कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले विभिन्न खेलकुद प्रतियोगितामा कोशी प्रदेश सरकारले दिने भनेको रकम निकासा नभएको विषयमा अनर्गल प्रचार गरिएकाले फोन गरेर सचिवलाई सचेत गराएको प्रतिक्रिया दिएका छन्।

उनले फुटबल र क्रिकेट प्रतियोगिताको रकम निकासाका लागि सामाजिक विकास मन्त्रालयले आलटाल गरी मन्त्रिपरिषद्मा प्रस्ताव नै नपठाएको बताए। रकम निकासाका लागि आर्थिक मामिला मन्त्रालयले सहमति दिइसकेको अवस्थामा पनि मन्त्रिपरिषद्मा प्रस्ताव नपठाउने तर अहिले आएर आर्थिक मामिला मन्त्रालयले सहमति नै नदिएको रकम तत्कालीन मुख्यमन्त्री कार्कीले नै रोकेको भनेर सामाजिक विकास मन्त्रालयका सचिवले आफूविरुद्ध अनर्गल प्रचार गरिरहेको कार्कीले आरोप लगाए।

प्रकाशित: ९ श्रावण २०८१ ०७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App