२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन्। आइतबार दिउँसो बसेको प्रदेशसभा बैठकमा उनले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिने भन्दै राजीनामाको घोषणा गरेका हुन्। 

आफ्नो कार्यकालमा भएका कार्यहरुको विवरण सार्वजनिक गर्नुका साथै आफ्नो धारणा राखेपछि उनले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिने घोषणा गरेका हुन्। यसअघि उनले विश्वासको मत लिने तयारी गरेका थिए । 

‘प्रदेशसभामा रहेको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने स्थितीमा विश्वासको मतले सार्थकता पाउँदैन’, जम्कट्टेलले भने, ‘नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिने जानकारी गराउन चाहन्छु । यसबाट नयाँ संस्कारको सुरुवात समेत गर्दैछु ।’ 

उनले विश्वासको मत नलिने र मार्ग प्रशस्त गरिदिने घोषणा गरेसँगै प्रदेशका सभामुख भुवनकुमार पाठकले विश्वासको मत सम्बन्धि विषयलाई कार्यसूचीबाट हटाएको घोषणा गरेका थिए । प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित समेत गरिएको छ । 

जम्कट्टेलको राजीनामा सँगै अब नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुनेछन् । कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्रीमा अघि सार्ने संसदीय दलको बैठकले सर्वसम्मत निर्णय गरिसकेको छ । 

३७ सांसद् रहेको कांग्रेस, २७ सांसद् रहेको एमाले र १३ सांसद् रहेको राप्रपाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने औपचारिक निर्णय गरिसकेको थियो । असार २४ गते एमालेका ५ जना मन्त्रीले राजीनामा बुझाएर सरकारबाट बाहिरिएसँगै उनी अल्पमतमा परेका थिए । 

२०७९ पुस २५ गते प्रदेश सरकारको नेतृत्व सम्हालेका मुख्यमन्त्री जम्कट्टेलले ३ पटक विश्वासको मत लिएर सरकार जोगाएपनि नयाँ समिकरण बनेसँगै मुख्यमन्त्री पद गुमाएका हुन् ।

प्रकाशित: ६ श्रावण २०८१ १५:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App