२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री जम्कट्टेल भन्छन्: ‘प्रदेश सरकार रहँदैन कि भन्ने आशंका छ’

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सत्ता छोड्ने दिन अब प्रदेश सरकार नै नरहला भन्ने आशंका रहेको बताएका छन्।

उनको नेतृत्वमा प्रदेश सरकारले सम्पन्न गरेको प्रमुख कार्यहरूको विवरण सार्वजनिक कार्यक्रममा जम्कट्टेलले अब संघीयता नै नरहला कि भन्ने प्रश्न उठेको बताए। यस विषयमा प्रश्न गर्ने धेरै आधारहरू रहेको उनको भनाई थियो।

‘यो व्यवस्था नै नरहला कि भन्ने गम्भीर आशंका छ। अहिलेको नयाँ गठबन्धन किन भएको हो ?’, उनले प्रश्न गर्दै भने, ‘अहिले स्थायित्वको कुरा उठाइएको छ। अब बन्ने मन्त्रीहरु बढी टिके ३ देखि ६ महिना । एक वर्ष कुनै पनि मन्त्रीले कार्यकाल चलाउन पाउँदैनन्।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जत्तिको संघीयताप्रतिको माया, चासो र चिन्ता कसैलाई नरहेको उनको दाबी थियो।

अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङमा भएको एक कार्यक्रममा प्रदेश सरकार कुनै सरकार नै होइन भनेर झपारेको जम्कट्टेलले स्मरण समेत गरे। ‘यसअघिका मुख्यमन्त्री डोरमणी पौडेल र म एउटा कार्यक्रममा धादिङमा सँगै थियौँ। तिमारु सरकार होइन, केन्द्र सरकारको एउटा अङ्ग मात्र हो भनेर झपारेको अझै ताजै छ’, उनले भने, ‘विगतमा जस्तो प्रदेश सरकारको मुख्यमन्त्री र मन्त्रीहरूलाई नझपार्नुहोस्, तिमारु सरकार होइन भनेर नभन्नुहोस् यत्ति अपेक्षा छ।’

प्रदेशको हक अधिकारको विषयमा अत्यन्तै पेचिलो बन्दै गएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले संविधान र सङ्घीयताका पक्षपातीहरू अझ सशक्त ढंगले बढ्नुपर्ने बेला आएको बताए। प्रदेशको अधिकारको विषयमा केन्द्रमा अब त्यति चासो र छलफल नहुने उनको भनाई थियो। २०७९ पुष २५ देखि साउन ६ गतेसम्म प्रदेश सरकारले सम्पन्न गरेका प्रमुख कार्यहरूको विवरणलाई समेटेर किताब सार्वजनिक गरिएको थियो। यो अवधिमा जम्कट्टेलले नेपाल मजदुर किसान पार्टी बाहेक सबै दलसँग सहकार्य गरेर सरकार सञ्चालन गरेका थिए।

जम्कट्टेल २०७९ पुष २५ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसको बीचमा सत्ता सहकार्य गर्ने सहमति भएसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले आज दिउँसो १ बजे विश्वासको मतको सामना गर्दैछन्। उनी विश्वासको मत गुमाएर मुख्यमन्त्रीबाट हट्ने पक्कापक्की रहेको छ।

प्रकाशित: ६ श्रावण २०८१ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App