२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

‘पपुलर हुन बोल्दिनँ’

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयबारे आफूले बुझेर मात्र बोल्ने बताएका छन्। पदबहाली गर्नेबित्तिकै धारणा राखिहाल्नुपर्ने, केही बोलिहाल्नुपर्ने मानसिकताबाट टाढा रहनुपर्ने, ‘पपुलर’ हुन कुरा नबुझी बोल्न नहुने धारणा उनले राखे। मन्त्रालयमा सोमबार डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरेर सूचना प्रविधिसम्बद्ध निकायको पुनःसंरचना गर्ने निर्णय सदर गरेपछि उनलाई पत्रकारहरूले जिम्मेवारी र योजनाबारे बोल्न भनेका थिए।

तर उनले अहिले बोलिहाल्नुपर्ने विषय केही नभएको बताए। मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले हस्तान्तरण गरेको प्रस्तावमा सञ्चारमन्त्री गुरुङले पदबहाली गर्दै पहिलो निर्णयका रूपमा उक्त निर्णय सदर गरेपछि आफूले मन्त्रालयको बारेमा जानकारी लिने अनि मात्र बोल्ने बताएका थिए।

‘राष्ट्रपतिले सम्बोधन गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा आएको विषय हो। सञ्चार तथा सूचना–प्रविधिको प्रयोगका लागि कानुनी र संस्थागत विकास गर्न गर्ने योजना रहेको र त्यसका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने तथा सूचना प्रविधिसम्बद्ध निकायको पुनर्संरचना गर्ने निर्णयको फाइल सदर गरेको छु,’ उनले भने।

मन्त्रालयमा कसरी काम गर्नुहुन्छ र के–के योजना छन् भन्ने सञ्चारकर्मीको जिज्ञासामा अहिले आफूले केही पनि नबोल्ने बताएका थिए। ‘आज केही पनि बोल्दिनँ, पद बहाली गरेको दिन ठुल्ठुला कुरा गर्ने तर काम केही नगर्नेजस्तो म गर्दिनँ, नीतिगत र संस्थागत अध्ययन गरेर कुन काम यो मन्त्रालयका लागि आवश्यक हो कुन होइन, त्यो बुझेर मात्रै बोल्नेछु,’ नवनियुक्त मन्त्री गुरुङले भने, ‘पपुलर हुन बोल्ने होइन। समस्याको समाधान गर्न प्रतिबद्ध भएर लाग्ने गरिआएको छु।’

लमजुङबाट प्रतिनिधिसभा सांसद बनेका एमाले उपमहासचिव पृथ्बीसुब्बा गुरुङ पहिलोपटक सूचना तथा सञ्चार प्रविधिमन्त्री बनेका हुन्। उनको सिंहदरबारमा मन्त्रीका रूपमा प्रवेश भने यो दोस्रो पटक हो। यसअघि उनी पर्यटनमन्त्री भएका थिए।

गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्रीसमेत बनिसकेका गुरुङले २०७९ को निर्वाचनमा तत्कालीन कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पराजित गरेका थिए।

२०३४ सालदेखि राजनीतिमा सक्रिय गुरुङ पार्टीभित्र स्पष्ट बोल्न र तर्कसंगत कुरा गर्ने नेतामा पर्छन्। उनलाई ओलीले सरकारका प्रवक्तासमेत बनाउने गरी सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन्।

विज्ञान विषयमा स्नातक गुरुङ सुरुमा शिक्षण पेसामा आबद्ध थिए। २०२७ सालमा ईशानेश्वर प्रमोद हाईस्कुल भोर्लेटार (अनेरास्ववियुको तर्फबाट) स्वतन्त्र विद्यार्थी युनियन सचिव बनेका थिए।

२०३७ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिएका गुरुङ २०४० सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष निर्वाचित भए। उनी पञ्चायतकालमै पटकपटक प्रहरी हिरासतमा परेका थिए।

२०५१ र २०५६ सालको आम निर्वाचन लमजुङमा पराजित भएका थिए। पहिलोपटक उनी लमजुङ–२ बाट २०६४ सालमा संविधानसभा निर्वाचनमा विजयी भएका थिए। गुरुङ नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए।

आदिवासी जनजाति महासंघको नेतृत्वसमेत लिएका गुरुङ लमजुङमा कम्युनिस्ट राजनीतिलाई बलियो बनाउन भूमिका खेलेका नेतामध्ये प्रमुख मानिन्छन्। उनी २०७४ सालमा गण्डकीका मुख्यमन्त्री भएका थिए। 

प्रकाशित: १ श्रावण २०८१ ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App