२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

सुरु भयो ओली सरकारको ‘चौथो इनिङ’

२१ मन्त्रीमा महिला दुई, दलित शून्य

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभाको ठुलो दल नेपाली कांग्रेसको समर्थनमा चौथोपटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका ओलीले सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथलगत्तै ओलीले आफ्नै दल एमालेका साथै नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गरे। संविधानको धारा ७६ को २ अनुसार आइतबार साँझ प्रधानमन्त्री नियुक्त भएका ओलीले संविधानको धारा ७६ को ९ अनुसार मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन गरेका हुन्। चौथो पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी निर्वाह गर्न ओलीले कांग्रेस १० र एमालेका आठजनालाई सरकारमा सहभागी गराएका छन्।

ओलीले कांग्रेस र एमालेबाट एक÷एक जनालाई उपप्रधानमन्त्री बनाएका छन्। कांग्रेसबाट सरकारको नेतृत्व गरेका पूर्वउपसभापति प्रकाशमान सिंह र  एमालेबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेलले  उपप्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन्।

काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सिंहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। रूपन्देही–२ बाट निर्वाचित पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनीहरू दुवै जनाले राष्ट्रपतिसमक्ष सोमबार पद तथा गोपनीयताको शपथ लिए।

ओली नेतृत्वको सरकारमा पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि, रमेश लेखक गृह, शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा, आरजु राणा देउवा परराष्ट्र, नवलकिशोर साह सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात, तेजुलाल चौधरीले युवा तथा खेलकुदमन्त्री बनेका छन्।

त्यस्तै प्रदीप यादवले खानेपानी, प्रदीप पौडेलले स्वास्थ्य तथा जनसंख्या, अजय चौरसियाले कानुन, न्याय तथा संसदीय मामिला, बद्रीप्रसाद पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रामनाथ अधिकारीले कृषि तथा पशुपन्छी, विद्या भट्टराईले शिक्षा, विज्ञान तथा प्रविधि, मानवीर राईले रक्षा, दीपक खड्काले जलस्रोत, ऊर्जा तथा सिँचाइ, राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन र ऐनबहादुर शाही ठकुरीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।

ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्मा दुई महिला सरकारमा सहभागी छन् भने नौ जना पहिलो पटक मन्त्रीको जिम्मेवारीमा पुगेका छन्। दलित समुदायको सहभागिता भने शून्य देखिएको छ। त्यसमध्य नौ जना पहिलो पटक सरकारमा सहभागी भएका हुन्। १० मन्त्रालयको पाएको कांग्रेसले पाँच नयाँ अनुहार सरकारमा पठाएको हो भने एमालेले चार जना नयाँ सांसद्लाई मन्त्रिपरिषद्मा लगेको छ।

कांग्रेसबाट सिंहका साथै कञ्चनपुर–३ का लेखक, संखुवासभाका खड्का, काठमाडौं–५ का पौडेल, धादिङ –२ का अधिकारी, मुगुका शाही, पर्सा–२ का चौरसीया र सप्तरी–४ का चौधरी प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद् हुन्।

त्यस्तै डडेलधुराकी आरजु राणा भने समानुपातिकबाट प्रतिनिधिसभा सदस्य छिन्। कांग्रेसका आरजु, शाही, पौडेल, पाण्डे र अधिकारी पहिलोपटक मन्त्री बनेका हुन्। सिंह, लेखक, खड्का, चौधरी सरकारमा सहभागी नेता हुन् भने कानुनमन्त्री चौरसिया सहायकमन्त्री बनेका थिए।

त्यस्तै एमालेबाट सरकारमा सहभागी आठ मध्य कास्की–२ की विद्या, सोलुखुम्बुका राई, झापाका दाहाल (राष्ट्रियसभा सदस्य) र पर्सा–३ का गुप्ता पहिलोपटक मन्त्री बनेका हुन्। उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी पाएका पौडेल, लमजुङ सुब्बा, कपिलवस्तु–१ का अधिकारी र बैतडीका भण्डारी यसअघि मन्त्री बनेका नेता हुन्। सिंह, पौडेलका साथै प्रदीप यादव पनि पटकपटक मन्त्री भइसकेका छन्। लोसपाबाट मन्त्री बनेका भण्डारी पञ्चायतदेखि अहिलेसम्म १३औं पटक मन्त्री बनेका छन्। शपथ लिएका आधारमा भने उनी २०औं पटक मन्त्री भएका हुन्। उनीहरूले सोमबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहरणसँगै आआफ्नो मन्त्रालय पुगेर पदभार सम्हालेका छन्।

पर्साबाट निर्वाचित तीनै जना प्रतिनिधिसभा सदस्य एउटै मन्त्रिपरिषद्का सदस्य भएका छन्। पर्सा–१ बाट निर्वाचित प्रदीप यादव लोसपा नेपालबाट मन्त्री बनेका हुन् भने चौरसिया कांग्रेस र गुप्ता एमालेबाट मन्त्री बनेका हुन्। प्रदीप यादव र नवलकिशोर साह सुडी अशोक राई नेतृत्वको जसपाबाट सहभागी भएका हुन्। त्यसअघि बिहान ११ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ भने झन्डै ४५ मिनेट ढिला गरी सुरु भएको थियो। त्यस समारोहमा पूर्वराष्ट्रपतिहरू र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल  भने देखिएनन्।

निर्वतमान प्रधानमन्त्री पुष्पकमल दाहाल ओली र दुई उपप्रधानमन्त्रीहरूको शपथपछि बाहिरिएका थिए। शपथ समारोहमा कांग्रेसबाट मन्त्री भएकाले ईश्वरको नाम उच्चारण गरे पनि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसहित उनका दलबाट मन्त्री भएकाले भने ईश्वर शब्द राष्ट्रपतिले वाचन गरे तर उनीहरूले गरेनन्।

झन्डै डेढ घण्टा शीतल निवासमा उपस्थित विभिन्न विशिष्ट व्यक्ति तथा शुभेच्छुकहरूको शुभकामना ग्रहणपछि ओली लैनचौरमा रहेको सहिद पार्क पुगेका थिए। आफ्नो समेत समर्थनमा रहेको दाहाल नेतृत्व सरकार विस्थापन गर्न कांग्रेससँग असार १७ गते समझदारी गरेसँगै ओलीका लागि चौथोपटक सिंहदबारको यात्रा सुनिश्चित भएको थियो। तीन वर्षपछि ओली फेरि मुलुकको कार्यकारी प्रमुखसहित सिंहदबार पुगेका हुन्।

पार्टीभित्रको विवाद व्यवस्थापन गर्न नसक्दा पहिलो पटक गरेको प्रतिनिधिसभा बदरलाई सर्वोच्चले बदर गरेपछि उनले पुनः २०७८ जेठ ८ गते दोस्रोपटक विघटनको सिफारिस गरेका थिए। त्यससलाई पनि बदर गर्दै सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि ओली २०७८ असार २९ गते सत्ताच्युत भएका थिए।

कांग्रेससँगको समझदारी अनुसार दाहाल नेतृत्व सरकारबाट एमाले अलगभएसँगै उनले असार २८ गते प्रतिनिधिसभामा संविधानको धारा १०० को २ अनुसार विश्वासको मतका लागि अफिल गरेका थिए। तर दाहालको पक्षमा ६३ मत मात्र पाएका थिए। उनको विपक्षमा कांग्रेस, एमालेका साथै लोसपा, जसपा, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उभिएका थिए। तर सरकारमा भने जसपा र राप्रपा छुटेका छन्।

संसद्मा विश्वास गुमाएपछि राष्ट्रपतिले शुक्रबार साँझ नै नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ को २ अनुसार आह्वान गरेका थिए। त्यसलगतै ओलीले राति नै कांग्रेसको समर्थनमा प्रधानमन्त्री दाबी गरे पनि आइतबार मात्र राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए। ओलीले सोमबार शपथ लिँदा नै सबै २१ वटै मन्त्रालयमा मन्त्री दिन सफल भएका छन्। प्रधानमन्त्रीले चाहेमा अब थप तीन जनालाई सरकारमा सहभागी गराउन सक्नेछन्।

प्रकाशित: १ श्रावण २०८१ ०७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App