२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्री छनोटमा कांग्रेस-एमाले रस्साकस्सी

नयाँ सरकार गठनको गृहकार्यमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार बिहान नयाँ मन्त्रीको सूची तयार गर्ने भएका छन्। एमालेका तर्फबाट मन्त्री चयन गर्ने अधिकार पाएका अध्यक्ष ओलीले यसपटक प्रतिनीधिसभामा निर्वाचित भएकालाई प्राथमिकतामा राखेका छन्। 

आइतबार राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका ओलीले कांग्रेससँग पनि मन्त्रीको सूची मागिसकेका छन्। 

‘पहिलो चरणमा कम्तीमा १० जना मन्त्री नियुक्ति गर्ने तयारीमा उहाँ (ओली) हुनुहुन्छ । मन्त्रालयको टुंगो करिबकरिब लागिसकेको छ,’ एमालेका एक पदाधिकारीले भने ।

संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको दाबी पेस गरेपछि प्रधानमन्त्रीको शपथलगत्तै ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन्। तत्काललाई एमालेको भागमा प्रधानमन्त्रीसहित अर्थ, सञ्चार, उद्योग, शिक्षा मन्त्रालय परेका छन्। कांग्रेसले गृह, परराष्ट्र, स्वास्थ्य, पर्यटनलगायत मन्त्रालय लिने सहमति भएको छ । 

‘एमालेले रक्षा लिने कि कानुन भन्नेमा टुंगो लागिसकेको छैन,’ स्रोतले भन्यो, ‘रक्षा लिनेले कानुन नलिने, कानुन लिनेले रक्षा नलिने सहमति बनेको छ ।’ यसैगरी भौतिक पूर्वाधार मन्त्रालयको पनि टुंगो लागिसकेको छैन। त्यसमा दुवै दलले दाबी गरे पनि कांग्रेसले भौतिक लिए ऊर्जा एमालेको भागमा पर्ने बताइएको छ। ‘ऊर्जा मन्त्रालय एमालेले लिन चाहिरहेको छ,’ स्रोतले भन्यो।

जिम्मेवारी सम्हाल्ने मन्त्रीहरूको टुंगो भने लागिसकेको छैन। एमालेले यसपटक पार्टीभित्र र बाहिर क्रियाशील रहेका जननिर्वाचितलाई मन्त्रीमा पठाउने गरी अध्यक्षलाई छनोटको जिम्मेवारी दिएको छ। 

कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) को गठबन्धन भएका ठाउँबाट पनि चुनाव जितेर आएकालाई एमालेले पहिलो प्राथमिकतामा राखेको जनाइएको छ। यसैगरी भूगोल, महिला, जनजाति र दलितलाई प्राथमिकतामा राखिएको बताइएको छ। 

‘पार्टीलाई योगदान गरेको, समावेशिता र प्रादेशिक सन्तुलनलाई ध्यानमा राखेर मन्त्रीहरू चयन हुनेछन्,’ एमालेका एक पदाधिकारीले भने। कांगे्रस–एमालेले कम्तीमा १८ र बढीमा १९ मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । बाँकी ६ मन्त्रालय वा पाँच मन्त्रालय सरकारमा सहभागी हुन चाहने साना दलका लागि राखिनेछन्।

स्रोतका अनुसार यसपटक उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्नेछन्। यसैगरी सञ्चार मन्त्रालयमा पूर्वबाट योगेश भट्टराईलाई पठाउने सम्भावना रहेको स्रोतको भनाइ छ। पुरानो टिमबाट पदम गिरी र दामोदर भण्डारी दोहोरिन सक्ने सम्भावना छ। नयाँबाट यसपटक पृथ्वी सुब्बा गुरुङ, एलपी साँवा लिम्बू, दलितबाट छविलाल विश्वकर्मा र तीन पटक निर्वाचित भइसकेका गोकुल बाँस्कोटा पनि मन्त्री बन्ने लाइनमा छन्।

साथै महिलाबाट भगवती चौधरीले यसपटक दोहोरिन चाहे पनि सुनीता बराललगायत नेत्रीहरू बाधक बनिरहेको स्रोतको दाबी छ। प्रमुख सचेतकको भूमिकामा रहेका महेश बर्तौलालाई यसपटक त्यही कायम राखिने भएको छ। पूर्वबाट ३० वर्षपछि चुनाव जितेर आएका सोलुखुम्बूका मानवीर राईले पनि राज्यमन्त्री भए पनि रहर गरिरहेका छन्। 

काठमाडौंबाट चुनाव जित्ने एक मात्र नेता कृष्णगोपाल श्रेष्ठ पनि यसपटक मन्त्रीका प्रमुख दाबेदार छन्। ‘एमालेको सचिवालय बैठकले मन्त्री छनोटको जिम्मेवारी अध्यक्ष ओलीलाई दिइसकेको छ । योग्यता–क्षमताका आधारमा मन्त्रीहरू चयन हुनेछन्,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने।

यस्तै कांग्रेसबाट गृह मन्त्रालयको जिम्मेवारी प्रमुख सचेतकसमेत रहेका रमेश लेखकले पाउने लगभग निश्चित जस्तै भएको छ। सभापति देउवाकी देउवा पत्नीसमेत रहेकी आरजु राणा देउवालाई परराष्ट्रमन्त्री बनाउने चर्चा चलिरहेको छ। ओली नेतृत्वको सरकारमा कांग्रेसबाट कसले नेतृत्व गर्ने भन्ने औपचारिक रूपमा टुंगो लागिसकेको छैन। 

प्रकाशमान सिंहले रहर गरिरहेका कारण उनलाई पठाउँदा उपप्रधानमन्त्रीसहित ठुलै मन्त्रालय दिने चर्चा चलिरहेको छ। कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले योगदान र योग्यताका आधारमा समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर पार्टीबाट मन्त्री चयन गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित: ३० असार २०८१ ०६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App