१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न आग्रह गरेका छन्।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई यस्तो आग्रह गरेका हुन ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले प्वाल पारिसकेको डुङ्गामा बस्न उपयुक्त नभएको सुझाव दिए । उनले रास्वपाले प्रधानमन्त्रीलाई साथ दिइरहँदा अरूलाई पद र गरिमाका विषयमा उठाएको प्रश्नले सार्थकता नपाउने बताए।

उनले प्रधानमन्त्री दाहाललाई साथ दिएर रास्वपालाई नै क्षति हुने भन्दै एक पटक सरकारलाई दिएको समर्थनका विषयमा सोच्न आग्रह गरे । उनले संसदका दुई ठुला दल सहकार्य गरेर जाने निर्णय गरिसक्दा पनि प्रधानमन्त्री दाहालले २८ गतेसम्म लम्ब्याउन नमिल्ने धारणा राखे । उनले संसदमा विश्वासको मत भन्दा पनि संसदबाट राजीनामा घोषणा गर्नु उपयुक्त हुने बताए । उहाँले पहिलो पटक विश्वासको मत लिँदा २६८,दोस्रोमा १७२,तेस्रो र चौथो पटक १५७ मत प्राप्त भएको भन्दै अब विश्वासको मत लिइराख्नु औचित्य नरहेको धारणा राखे ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालमा देखिएको निरन्तरको अस्थिरताले देशले आत्मविश्वास नै गुमाउन थालेकाले काग्रेस र एमाले मिल्नुपर्ने परिस्थिति बनेको बताए । उनले संविधान जारी भएको ८ वर्षभित्र दाहालले ६ पटकभन्दा बढी यता र उता गर्दै सत्ताको खेलमा लिप्त रहेका कारण स्वभाव बुझ्न समेत गाह्रो भएको बताए ।

उनले संविधान निर्माणपछि देशलाई स्थिरतामा लैजाने बेला एमाले र काँग्रेससँग सहकार्यको गर्दै सत्तामा बसिरहने खेल खेलेको बताए । उहाँले एमाले मिसन ग्रास रुट र मिसन ८४ मा लागेका बेला उनले फेरि सहयोग माग्दा सहयोग गरेपश्चात् समेत लो प्रोफाइलका मन्त्रालय लिएर काम गर्न दिँदा पनि एमालेप्रति नै अविश्वास गरेको आरोप लगाए । उनले कांग्रेसलाई बोलाएर राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेकाले एमाले सोच्न बाध्य भएको बताए  ।

उनले  राष्ट्रिय सरकारको कुरा नाजायज नभए पनि आजको अवस्थामा राष्ट्रिय सरकारको नेतृत्व दाहालले गर्न नसक्ने धारणा राखे ।सचिव भट्टराईले   मुलुकको आत्मविश्वास दिनप्रतिदिन गुम्दै गएको र नेपालप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वास गुम्दै गएको बताए । उनले वैशाखमा भएको लगानी सम्मेलनमा १० अर्बको पनि लगानी प्रतिवद्धता नभएकोले पनि देखाएको बताए । उनले कर्मचारीतन्त्र,सुरक्षा निकायले आत्मविश्वास गुमाएको दाबी गरे । 

उनले जनतामा निरासा,आक्रोश र पलायन भएकाले मुलुक संकटग्रस्त अवस्थामा पुगेको बताए । उनले संविधान बनेको र कार्यान्वयन गरेको १० वर्ष भएकाले संवैधानिक व्यवस्था अनुसार प्रत्येक १० वर्षमा संविधानको पुनरावलोकन गर्ने ठिक समय भएको बताए । उनले सङ्घीय,प्रदेश र स्थानीय सरकारको गठन,संवैधानिक अङ्गहरूको कामकारबाही लगायतका विषयमा पुनरावलोकन गर्न आवश्यक रहेको बताए ।

भट्टराईले अब कांग्रेस र एमालेबिचमा देशको आत्मविश्वास बढाउन र लगानीको वातावरण बनाएर अर्थतन्त्र लयमा फर्काउन बलियो सरकारको सहमति भएको बताए ।

प्रकाशित: २३ असार २०८१ १४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App