१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

न्युरोड विवाद सुल्झेनः मेयर वडाध्यक्ष टकराब उत्कर्षमा

यतिबेला न्युरोड क्षेत्र एकपछि अर्को विवादले चर्चामा छ। विशेषगरी वडा कार्यालय र महानगरबीचको टकरावले न्युरोड चर्चा उत्कर्षमा पुगेको हो।

काठमाडौं महानगरले न्युरोड क्षेत्रमा फुटपाथ बढाउन थालेको कामदेखि सुरु भएको चर्चा अझै सेलाउने छाँटकाँट नै पाएको छैन्। महानगरले फुटपाथ बढाउने योजना थाल्दा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहतको सडक विभाग बीचमा आएको थियो। विभागले महानगरले थालेको काम सडक कानुन विपरित भन्दै रोकेर फेरि पिच गरिदिएको थियो। महानगरले गरिरहेको काम अवरोध गरेर सडक विभागले रातारात पुरिदिएको थियो।

यसबीचमा प्रत्यक्ष महानगर र सडक विभाग आमने–सामने देखिएपनि मुख्यतः महानगरका मेयर बालेन्द्र साह र २२ नंं. वडाका अध्यक्ष चीनकाजी महर्जनबीच टकराव रहेको जानकारहरू बताउँछन्। महर्जन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्। उनीसहित न्युरोडका व्यवसायीले महानगरको काममा पनि अवरोध गरेका थिए।

अझ यी विषयमा मेयर बालेनले शीर्ष नेतृत्वसम्म लगेर जोडेपछि न्युरोड विवाद झन् जटिल बन्यो।

शीर्ष नेताहरूले नै यसविषयमा अभिव्यक्तिहरू दिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले त मेयर बालेनलाई काम गर्न दिनुपर्ने भन्दै संसदसम्ममा अभिव्यक्ति दिए।  

बालेनको बुझाई र एमालेविरुद्ध ‘वार’

न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने योजना मेयर बालेनले महत्वका साथ अगाडि सारेको उनीनिकट स्रोत बताउँछ। तर, त्यो योजनामा दलीय आबद्धतामा भएका जनप्रतिनिधि अवरोधक भएको मेयर बालेनको बुझाई छ। उक्त कुरा उनले सामाजिक सञ्जालमा नै लेखेका छन्।

‘गत वर्ष माघमा न्युरोड क्षेत्रको सडक किनारमा पार्किङ बन्द गर्दा विरोध गर्नेहरू नै अहिले फुटपाथ विस्तार रोक्न अघि सरेका छन्,’ फेसबुकमा लेखेका छन्, ‘सोच्नुस् त, सडकमा तीन फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कद्नै साँघुरो हुने कसरी हुन्छ?’

जसको विरुद्धमा वडाध्यक्ष महर्जन उत्रिए। महर्जनले नै सडक विभागमार्फत महानगरको काममा अवरोध गराएको बुझिन्छ। उपप्रधानसहित यातायात मन्त्रालयको जिम्मेवारीमा रहेका रघुवीर महासेठ एमालेकै नेता भएकाले महर्जनलाई विभागमार्फत अवरोध गर्न सघाउ पुगेको बालेनको बुझाई छ।

त्यसलगत्तै मेयर बालेनले ट्रकमा फोहोर लगेर डिभिजन सडक काठमाडौं कार्यालयको गेटमै फाल्न लगाए। त्यतिबेला चक्रपथ निर्माणमा ढिलाइ भएको र सर्वसाधरणले धेरै गुनासो गरेको भन्दै फोहोर थुपारिदिएको महानगरले जनाएको थियो विभागले त्यसको कडा प्रतिवाद मात्र गरेन, अराजक शैली भन्दै आगामी दिनमा नदोहो¥याउन चेतावनी समेत दिएको थियो।

विभाग र एमालेले भने न्युरोड विवादकै प्रतिशोधका कारण बालेनले फोहोर फालेको बुझेर प्रचार गरेका थिए।

त्यसपछि बालेन यतिमै रोकिएका छैनन्। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नै खनिन थालेका छन्। विशेषगरीे ओलीकै नेतृत्वमा १० हजार करोडको गिरीबन्धु टी–इस्टेट प्रकरण चलखेल भएको भन्दै अभिव्यक्ति दिए। सो कुरालाई ओलीले प्रतिवाद गर्नुपरेको थियो।  

फेरी लफडा

त्यसयता केही दिन न्युरोड विवाद मत्थर भएको थियो। तर अझ फेरी चर्चामा आउन थालिसकेको छ। अहिलेको कारण वडाध्यक्ष महर्जनले न्युरोड क्षेत्रको फुटपाथको विरुवा उखेल्नु र बार भत्काउनु देखिएको छ।

अहिले न्युरोड क्षेत्रको फुटपाथका रुखहरू उखेलिएका छन् भने बारहरू भत्काइएका छन्। महानगरले न्युरोड क्षेत्र हरियाली बनाउने उद्देश्यले विरूवा रोपेको थियो।

वडाध्यक्ष महर्जन भने फुटपाथ फराकिलो बनाउनुपर्ने भएकोले ती विरूवा अन्यत्रै स्थानान्तरण गरिएको बताउँछन्। मेयर बालेनले नै फुटपाथ साँघुरो भयो भनेकाले फराकिलो बनाउन विरूवा हटाउनुपरेको उनले बताए। ‘विरूवा हटाएपछि मानिस हिँड्न अलि ठाउँ हुने र  फुटपाथ विस्तार गर्न पर्दैन कि भनेर विरूवा हटाइएको हो,’ उनले भने।

वडा कार्यालयले न्युरोड क्षेत्रमा कुमारीको आँखा र काण्ठमण्डपका चित्र कोरिएका रेलिङ पनि हटाएको वडाध्यक्ष महर्जनले स्वीकारे।

यता बालेनको सचिवालयले भने यो विषयलाई लिएर कानुनी रूपमा अगाडि बढ्ने बताएको छ। वडाले विरुवा र रेलिङ(बार) हटाउँदा महानगरसँग कुनै समन्वय नगरेको र आफूखुसी काम गरेको सचिवालयको भनाइ छ।

‘हामीले पनि त्यो सुनेका छौंं, त्यस्तो जानकारी आएको छैन्,’ सचिवालयका एकजना सदस्यले भने,‘जानकारी लिने काम भइरहेको छ। वडा कार्यालयबाट कुनै समन्वय नै भएको छैन। यदि त्यसो भएको भए कानुनी रूपमा अगाडि बढ्छौं।’  

प्रकाशित: ९ असार २०८१ १८:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App