१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

पोखरामा असारे रोपाइँ महोत्सव हुने

फाइल तस्बिर।

पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ हरेक वर्ष असार १५ गते हुँदै आएको असारे रोपाइँ महोत्सवको १९ औँ संस्करण यस वर्ष पोखरा महानगरपालिका–२३ फेवाफाँटको मार्गीमा हुने भएको छ।

पोखरा पर्यटन परिषद्को आयोजनामा हुने महोत्सवको १९ औँ संस्करणको तयारीलाई तीव्र बनाइएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

महोत्सवका लागि परिषद्का उपाध्यक्ष तारानाथ पहारीको संयोजकमा मूल व्यवस्थापन समिति गठन गरिएको छ। समितिको सह–संयोजकमा हरिराम अधिकारी र जीवनराज सापकोटा रहेका छन्।

महोत्सवमा हिलो खेल्ने, माछा समात्ने, साउने प्रतियोगिता, रसि तान्ने, हिले दौडसहित मनोरञ्जन लिन स्वदेशी र विदेशी पर्यटकको सहभागिता रहने परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए।

महोत्सवमा करिब १० हजारभन्दा बढी मानिसले सहभागिता जनाउने आयोजकको अनुमान छ। हिले दौड प्रतियोगिताअन्तर्गत स्वदेशी र विदेशी महिला र पुरुष पर्यटकको छुट्टाछुट्टै प्रतियोगिता हुनेछन्। त्यसअवसरमा विभिन्न सांस्कृतिक प्रस्तुति पनि रहनेछ।

नेपालीको मुख्य खाद्यान्न बालीका रूपमा रहेको धानखेतीप्रतिको आकर्षण घट्दै गएका अवस्थामा नयाँ पुस्तालाई धानखेती प्रणाली देखाउँदै उनीहरूलाई यसतर्फ आकर्षित गराउन पनि महोत्सव आयोजना गरिएको मूल व्यवस्थापन समितिका संयोजक पहारीले बताए। 

प्रकाशित: १२ असार २०८१ २०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App