१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

दक्षिण अफ्रिकालाई हराउँदै भारत विश्व च्याम्पियन

रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै अपराजित भारत आइसिसी टि-ट्वान्टी विश्वकप क्रिकेट-२०२४ को च्यामपियन बनेको छ।

भारतले १७ वर्षपछि ट्वान्टी–२० विश्वकपको उपाधि जितेको हो। यसअघि भारतले  सन् २००७ मा उपाधि जितेको थियो।

बार्बडसस्थित किंगस्टन ओभलमा भारतले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो। र उपाधि भारतलाई थमाइदियो। योसँगै पहिलोपटक फाइनल पुगेको दक्षिण अफ्रिका उपाधिबाट भने वञ्चित हुन पुग्यो।

दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले अर्धशतकीय इनिङस खेले। २७ बलको सामना गर्दै उनले ५२ रन बनाए। यसक्रममा उनले २ चौका र ५ छक्का प्रहार गरे।

त्यस्तै, क्वीनटन डी ककले ३१ बलमा ३९ रन जोडे। उनले ४ चौका र १ छक्का हिर्काए। त्यस्तै, ट्रिस्टन स्टब्सले २१ बलमा ३१ रनको योगदान दिए। डेभिड मिलरले १७ बलमा २१ रन बनाए।

भारतका जस्प्रित बुमराहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। हार्दिक पान्ड्याले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। अर्शदीप सिंहले २ र अक्षर पटेलले १ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रेको भारतले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १७६ रनको योगफल योगफल खडा गरेको थियो।

भारतका लागि ओपनर विराट कोहलीले सर्वाधिक ७६ रन  बनाए। यसअघिका खेलहरुमा निराशाजनक प्रदर्शन गरेका उनले फाइनल खेलमा भने फर्ममा फर्किएका थिए। उनले  ५९ बलको सामना गर्दै टिमका लागि उक्त रन जोडेका हुन्। यस क्रममा उनले २ छक्का र ४ चौका प्रहार गरे।

यता कप्तान रोहित शर्माले भने सोचेअनुरूप प्रदर्शन गर्न सकेनन्। उनी मात्र ९ रन बनाएर पभेलियन फर्किए। ५ बल सामना गरेका उनले २ चौका प्रहार गरे। लगतै ऋषभ पन्त शून्य रन बनाएर आउट भए। सूर्यकुमार यादव पनि ३ रन बाहेक जोड्न सकेनन्।

त्यसैगरी अक्षर पटेल ४७ र शिवम् दुबे २७ रनको महत्त्वपूर्ण इनिङ्स खेले।  हार्दिक पाण्ड्या पाँच रनमा अविजित रहे। रवीन्द्र जडेजाले केवल २ रन बनाए।

दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्टजेले २–२ विकेट लिए । त्यस्तै, मार्को यानसेन र कागिसो रबाडाले १–१ विकेट हात पारे।

सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेट र भारतले इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

प्रकाशित: १५ असार २०८१ २३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App