१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

भन्सार कर्मचारी र सुरक्षाकर्मीकै सेटिङमा तस्करी

भारतबाट अवैध रुपमा सहजै भित्रिने नेपालगन्ज नाका। तस्बिर: अर्जुन ओली/नागरिक

भारतसँग जोडिएको पश्चिम नेपालको अति व्यस्त रहने नेपालगन्ज नाकाबाट सहजै रुपमा सामान तस्करी हुने गरेको छ। तस्करहरूले भन्सार कर्मचारी, सुरक्षाकर्मी लगायतलाई प्रभावमा पारेर ठुलो परिमाणको सामान तस्करी गर्ने गरेका हुन्।

भारतबाट त्यसरी अवैध रुपमा भित्रिने सामानले नेपालगन्ज, कोहलपुर लगायत बजारमा ‘वैधता’ पाउने गरेको छ। ती सामान व्यापारीमार्फत उपभोक्ताको हातमा पुगिरहेको छ। भारतबाट लत्ता कपडा, खाद्यान्न, मोटर पाट्स, इलेक्ट्रोनिक लगायतका सामान अवैध रुपमा भित्रिन्छ।

नाकामा खटिने भन्सार कर्मचारी र सुरक्षाकर्मीले ठुलो परिमाणमा भित्रिने ती सामानलाई आफैले गन्तव्यसम्म पुर्‍याउने गर्छन्। स्रोतका अनुसार तस्करले लाइन मिलाएर भित्र्याउने उक्त सामान सिधै नेपालगन्जका गोदाममा भण्डारण गर्छन्।

‘भन्सार कर्मचारी र सुरक्षाकर्मीको सेटिङमै तस्करहरूले भारतबाट एकै पटक लाखौं/करोडौं मूल्यका सामान भित्र्याउँछन्,’ स्रोतले नागरिकसँग भन्यो ‘तस्करीहरुले भन्सार महसुल नबुझाएर त्यस बापतको रकम कर्मचारी र सुरक्षाकर्मीलाई बाँड्छन्।’

स्रोतका अनुसार नेपाल–भारत सिमानाका जमुनाहा हुँदै ट्रक तथा कन्टेनरमार्फत अवैध सामान नेपालगन्ज भित्रिरहेको छ। बाँके प्रहरीले पछिल्लो समयमा बरामद गरिरहेको सामानको प्रकृति हेर्दा शिल प्याक गरिएका ती सामानहरू ट्रक वा कन्टेनरमार्फत भित्रिएका हुन्।

३८ लाख बढीको सामान बरामद

बाँके प्रहरीले सोमबार मात्रै भारतबाट तस्करी भएर भित्रिएको ठुलो परिमाणको सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्ज–२ न्युरोड, भानुभक्त चोकस्थित सोनी गुप्ताको घरमा छापा मारेर ३८ लाख ३९ हजार २ सय मूल्य बराबरको अवैध लत्ताकपडा बरामद गरेको प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए।

भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याई भण्डारण गरी राखेको उक्त कपडा बरामद गरिएको उनले बताए। डिएसपी डाँगीका अनुसार ३४ लाख १९ हजार २ सय मूल्य बराबरका ४ हजार २ सय ७४ थान कुर्ता सुरुवाल रहेको छ।

यस्तै, ४ लाख २० हजार मूल्य बराबरको ८ सय ४० थान साडी बरामद गरिएको छ। बरामद गरिएको लत्ता कपडा र तस्करीमा संलग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीले जनाएको छ।

यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा नेपालगन्ज भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले फोन उठाएनन्। कार्यालयका भन्सार अधिकृत एवम् सूचना अधिकारी पूर्णप्रसाद लम्सालले भने भारतबाट अवैध रुपमा सामान कसरी सामान भित्रिन्छ ? यसबारेमा आफूहरू अनविज्ञ नै रहेको बताए।

‘भारतबाट कसरी अवैध रुपमा सामान भित्रिन्छ, यसबारे हामीलाई जानकारी हुँदैन, त्यो त बरामद गर्ने सुरक्षाकर्मीलाई थाहा होला,’ उनले नागरिक न्युजसँग भने।

नेपालगन्जमा ठुलो परिमाणमा बरामद गरिएको लत्ता कपडा ट्रक वा कन्टेनरबाट आएको हुन सक्ने आशंका गरिएको प्रहरी स्रोतले जनाएको छ।

‘यो लत्ता कपडा कुनै सामान्य मान्छेले क्यारिङ गरेर ल्याएकै होइन, क्यारिङ गरेर ल्याएको सामान मज्जाले चिनिन्छ,’ स्रोतले भन्यो ‘यो सामानको प्रकृति हेर्दा सिधै ट्रक वा कन्टेनरबाट आएको जस्तो देखिन्छ, जुन तस्करहरुका लागि सहज भएको छ।’

पछिल्लो समयमा भारतबाट अवैध रुपमा भित्रिएका सामानको प्रकृति एउटै खालको भएको प्रहरी स्रोतले जनाएको छ। पछिल्लो समयमा बाँके प्रहरीले भारतबाट अवैध रुपमा भित्रिने गरेका सामान बरामद गर्दै आएको छ।

प्रकाशित: १७ असार २०८१ २०:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App