२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

वैदेशिक रोजगारमा जाने युवालाई ठगी गर्नेलाई गृहमन्त्री रवि र श्रम मन्त्री अर्यालको संरक्षण भएको आरोप

आम जनता पार्टी (आजपा) निकटको आइटी आर्मीले विगत १८ दिन देखी निरन्तर काठमाडौँको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना दिईरहेको छ।आइटी आर्मीले उठाउँदै आएको माग सम्बोधन गर्नुको साटो सरकार ठगहरूलाई संरक्षण गरिरहेको आरोप आन्दोलनकारीले लगाएका छन्।

आइटी आर्मीका अध्यक्ष चन्द्र भूषण साहले वैदेशिक रोजगारका पीडितलाई न्याय दिनुको साटो उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डिपी)अर्यालले ठग एवं माफियालाई संरक्षण दिईरहेको आरोप लगाए।

‘विदेशमा काम गर्न जाने युवाहरूसँग खुलेआम विना रसिद लाखौँ रकम लिने ठग तथा माफियाहरुलाई सरकारले संरक्षण गरेको छ । वैदेशिक रोजगारका पीडितलाई न्याय दिनुको साटो गृहमन्त्री रवि लामिछाने र श्रम मन्त्री डिपी अर्यालले ठग र माफियाहरुलाई संरक्षण दिइरहेका छन्’ साहले भने, ‘जनताले नयाँ तथा युवालाई सांसद बनायो । उहाँहरूले सरकारमा जिम्मेवार मन्त्रालय पनि पाउनुभयो। तर वैदेशिक रोजगारका पीडितलाई न्याय दिनु भन्दा उहाँहरूले सुन्दै नसुन्ने कारण लाखौँ युवा अहिले पीडित छन् ।’

विगत १८ दिन देखी निरन्तर वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना  दिदै आएको आइटी आर्मीले गत साता श्रम मन्त्री अर्यालको विभाग अगाडी नै पुतला दहन गरेको थियो। वैदेशिक रोजगारका पीडितहरूको माग सम्बोधन नगरेको भन्दै श्रम मन्त्रीको पुतला दहन गरेपछि गृह मन्त्रालयले सो क्षेत्रमा प्रदर्शनमा रोक लगायो । तर पनि आइटी आर्मीले निरन्तर प्रदर्शन गर्दै आएको छ।

वैदेशिक रोजगार विभाग घेराउ गर्न पुगेका आइटी आर्मीका महिला नेतृ मिनादेवी साहले विदेश जाने युवाहरूसँग बिना रसिद मोटो रकम ठगी गर्नेलाई कारबाही गर्नुको सट्टा सरकारले अल्टै आन्दोलनलाई दबाउन खोजेको बताईन्। यसमा गृहमन्त्री एवं प्रधानमन्त्रीको समेत ध्यान जान आवश्यक रहेको उनले बताईन्।

श्रम मन्त्री आफै म्यानपावर चलाउँदै आएका व्यक्ति हुन । अहिले मन्त्री भएपछि कमसेकम वैदेशिक रोजगारका पीडितहरूको माग सम्बोधन गर्नुपर्ने हो । तर दुर्भाग्य उनले पनि नसुने जस्तै गरेपछि हामीले उनको पुतला दहन गर्यौ’ साहले भनिन्, ‘सरकारले हाम्रो माग सम्बोधन नगरे यो भन्दा कडा आन्दोलन हुने र त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने हुन्छ।’ 

आइटी आर्मीका अर्का महिला नेतृ कनक सिंहले वैदेशिक रोजगार क्षेत्रका भ्रष्ट अधिकारी तथा ठग म्यानपावर र एजेन्टलाई सरकारकै संरक्षण रहेको आरोप लगाइन्।अहिले सरकारसँग भ्रष्ट र ठगहरूको गहिरो दोस्ती एवं सहकार्य रहेको पुष्टि हुँदै गएको सिंहको आरोप छ। वैदेशिक रोजगारको ठगी बारे सरकार यसरी नै मौन रहे आइटी आर्मीले कडा कदम चाल्ने चेतावनी सिंहको छ।

आन्दोलनमा सहभागी युवा नेता चन्द्रिकालाल साहले युवाहरूले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुन्डीमार्फत दुरुपयोग भइरहेको बताए । नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरूले हुन्डीमार्फत आफ्नो कालो धन विदेशमा थुपार्ने काम गरिरहेको साहको आरोप छ । नेताहरू विना लगानी म्यानपावरको शेयर होल्डर बनिरहेको पनि उनले बताए । यस्ता प्रकारका दुष्चक्र अन्त्य हुनुपर्ने आइटी आर्मीको माग छ।

‘हाम्रा युवाहरूलाई आज मरुभूमिमा मर्न बाध्य बनाइएको छ। ती युवाहरूको खुन पसिनाले आर्जित रेमिट्यान्सलाई नेपालका भ्रष्ट नेताहरू, यहाँका प्रशासकहरू र अवैध व्यापारीहरूले आफ्नो कालो धनलाई सट्टापट्टाको अस्त्रको रुपमा प्रयोग गरिरहेको सन्दर्भ छ’ उनले भने। असुरक्षित श्रम स्वीकृतिका कारण विदेशमा ज्यान गुमाउने युवाहरूको मृत्युलाई उनले ‘राज्यद्वारा गरिएको हत्या’ का रुपमा परिभाषित गर्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने साहको जिकिर छ।

पुराना दलहरूले समृद्धि ल्याउन सकेन, भ्रष्टाचारीलाई कारबाही गरेनन् लगायतका आरोप नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरूले लगाउने गरेका छन् । तर त्यही रास्वपाका उपसभापति समेत रहेका डिपि अर्याल अहिले श्रम मन्त्री हुँदा समेत वैदेशिक रोजगारी पीडितहरूले न्याय नपाउनु भनेको दुखद विषय भएको आइटी आर्मीका केन्द्रीय सदस्य कल्याण सुस्लिङ् मगरको भनाई रहेको छ।

आइटी आर्मीका नेता राजनिश प्रसाद कुशवाहाले वैदेशिक रोजगारको क्षेत्रमा जताततै मनोमानी भइरहेकाले सर्वसाधारण पीडित बनेको बताए । ‘लाखौँ लाख युवासँग खर्बौैं रकम ठगी भइरहेको छ। ५, १० हजारको नाममा २ लाख, ५ लाख, १० लाख गरी लाखौँलाख अवैध असुली भइरहेको छ । विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौँ । असुली भएको रकम फिर्ता गराउन चाहन्छौँ’ कुशवाहाले भने ।

आइटी आर्मीका अध्यक्ष साहका अनुसार विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग म्यानपावर र एजेन्टलाई कारबाही गर्नुपर्ने, बेरोजगार युवाहरूलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरूको उद्धार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, निजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए । यस अघि आइटी आर्मीले ११ बुँदे माग सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै विभागलाई ज्ञापन पत्र समेत बुझाई सकेको छ। 

बेरोजगारको खुलेआम व्यापार भइरहेको र ठगहरूसामु वर्तमान सरकार लाचार भएको स्थितिमा पीडितलाई न्याय दिलाउन आइटी आर्मीले लिएको पहलकदमी सराहनीय रहेको आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको विश्वास छ।

विदेश जाने युवाहरूसँग खुलेआम बिना रसिद लाखौँ रकम लिने ठगहरूलाई कानुनको कटघेरामा ल्याउन सरकार असक्षम देखिएकोले आइटी आर्मीको जारी आन्दोलनलाई अझ शसक्त बनाउने उनले जनाएका छन्।

प्रकाशित: १९ असार २०८१ २०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App