१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

वयस्क भाले चितुवा निकुञ्जलाई उपहार

वन प्रशासनले नियन्त्रण लिएको वयस्क भाले चितुवा। तस्बिर: निर्मल/नागरिक

गुलरिया नगरपालिका-१ स्थित शंकरवस्तीमा एक जोडी वयस्क चितुवा रातिको समयमा आइरहने भएकाले ‘रातिका पाहुना’ को उपनामले चिनिएका थिए।

रातीका पाहुना भन्ने बित्तिकै बुझिने ती एक जोडीको शुक्रबार मध्यरातमा बिछोड भयाे। शुक्रबार मध्यरातमा डिभिजन वन कार्यालयको टोलीले भाले चितुवालाई नियन्त्रणमा लियो।

प्रमुख वन अधिकृत प्रवीण बिडारीका अनुसार पतिको बिछोडपछि पोथी चितुवा रोइकराई गर्दै जंगल फर्किएको थियो। ‘बस्तीलाई त्राहिमाम् बनाएका चितुवाको एक जोडी मध्य भालेलाई नियन्त्रणमा लिएका छौं’, बिडारीले भने, ‘वन डिभिजनको क्षेत्रमा पर्याप्त ठूला जंगल नभएकाले निकुञ्जलाई भाले चितुवा उपहारस्वरूप दिएका छौं।’

राति झुल्किने यी चितुवाले कुकुर र खसीलाई मारेर शंकरवस्तीका बासिन्दालाई लामो समयदेखि पीडामा पारेका थिए। डरलाग्दा देखिने यी वयस्क पाहुना रातिको समयमा हिँडडुल गर्दा शंकरवस्तीका नागरिक त्रासमा बाँच्न बाध्य थिए।

शनिबार दिउँसो भाले चितुवालाई प्राकृतिक वासस्थानमा छोड्न उपहारस्वरूप निकुञ्जलाई बुझाइएको थियो। केजको प्रयोग गरेर नियन्त्रणमा लिएको चितुवालाई रातभर वन प्रशासन, स्थानीय प्रशासन, खैरापुर (क) का प्रहरी र बिओपी कट्टिका सशस्त्र प्रहरीको सुरक्षा घेरामा राखिएको स्थानीय पत्रकार कृष्ण भुसालले बताए।

‘राति बस्ती पस्ने हुनाले एक जोडी चितुवालाई रातिका पाहुना भन्ने गरिन्थ्यो,’ उनले भने, ‘तर, यी वयस्क जोडीले गाउँलाई त्राहिमान बनाएका थिए। वन कार्यालयको टोलीले एक जोडी मध्य भाले चितुवालाई उद्धार गरेपछि बस्तीवासी खुसी छन्।’

स्थानीयका अनुसार वन प्रशासनले नियन्त्रणमा लिएको चितुवालाई लिन निकुञ्जले टोली नपठाउँदा समस्या भएको थियो। ‘बर्दिया निकुञ्जले ८ घण्टा सम्म नियन्त्रणमा लिएको चितुवा लिन नआउँदा समस्या भयो,’ उनले भने, ’अन्ततः वन डिभिजनको टोलीले निकुञ्ज पुगेर चितुवा बुझाएको छ।’

समस्याग्रस्त पाटे बाघ, गैँडा, र चितुवाको आक्रमण गर्ने स्वभाव भएकाले तत्काल नियन्त्रणमा लिन पर्ने स्थानीयको माग छ। चितुवा आतङ्कले बस्ती रहेका सूचना पाए पनि दक्ष प्राविधिक नहुँदा समस्या भइरहेको छ।

निकुञ्जमा रहेको एनटीएनसी संस्थाले समस्याग्रस्त वन्यजन्तुलाई उद्धार गर्ने भने पनि मध्यवर्ती क्षेत्र बाहिरका आउँदा प्राविधिक टोलीले ढिला सुस्ती गर्ने गरेको पाइएको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले वन प्रशासनलाई दक्ष बनाएर समस्याग्रस्त वन्यजन्तु तत्काल नियन्त्रण लिनुपर्ने र कार्यालयमा कृत्रिम वासस्थानको आवश्यकता औँल्याइन्।

वन्यजन्तु र मानवको द्वन्द्व न्यूनीकरणका लागि समस्याग्रस्त वन्यजन्तु नियन्त्रण लिने कार्यलाई सरोकारवालाले प्राथमिकतामा राख्नुपर्ने घटनास्थल पुगेकी प्रजिअ शर्माले निर्देशन दिइन्।

वन प्रशासनले वयस्क चितुवा नियन्त्रणमा लिन जमदार धन बहादुर गुरुङको नेतृत्वमा चार जना सिपाही, वन रक्षक र सवारी चालक विष्णु थापा परिचालित भएको सूचना अधिकारी द्रोणराज शर्माले जानकारी दिए।

प्रकाशित: १५ असार २०८१ २०:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App