१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

सुनसरीको इटहरीमा ‘स्मार्ट छोरी परियोजना’

सुनसरीको इटहरी उपमहानगरपालिकाका सबै वडामा ‘स्मार्ट छोरी परियोजना’ सुरु गरिएको छ।

सन् २०३० भित्रमा नेपाललाई बालविवाह मुक्त राष्ट्र घोषणा गर्ने अभियानलाई सफल बनाउन इटहरीका २० वटै वडाहरूमा ‘स्मार्ट छोरी परियोजना’ सुरु गरिएको युवा विकास केन्द्र (वाइडिसी)का कार्यक्रम संयोजक नवल रिजालले जानकारी दिए।

शुक्रबार विराटनगरमा आयोजित बालविवाह न्यूनीकरणका लागि प्रदेश सम्मेलन कार्यक्रममा उनले सो जानकारी दिएका हुन् । युवा विकास केन्द्रले सन् २०१७ देखि इटहरीका ४ वटा वडाहरू ७, ८, १० र १४ मा बालविवाह न्यूनीकरण कार्यक्रम सुरु गरिएको थियो । ४ वटा वडाहरूमा गरिएको सर्वेक्षणमा मुसहर समुदायका ६० प्रतिशत बालिकाहरूको उमेर नपुग्दै विवाह हुने गरेको तथ्यका आधारमा कार्यक्रम सुरु गरिएको कार्यक्रम संयोजक रिजालले बताए।

उनका अनुसार करिब ७ वर्षको अवधिमा ६० प्रतिशतलाई शून्यमा पुगेको छ। ४ वटा वडामा अभियान सफल भएपछि अहिले इटहरी उपमहानगरपालिकाको सहयोगमा सबै वडामा कार्यक्रम सुरु भएको छ। प्रदेश सम्मेलनका क्रममा युवा विकास केन्द्रले बालविवाह मुक्त इटहरी बनाउनका लागि किशोर किशोरी, अभिभावक, टोल विकास समिति, बाल तथा युवा सामुदायिक क्लब, नेपाल प्रहरी, स्थानीय सरकारमा बालविवाह न्यूनीकरणका लागि निरन्तर छलफल, तालिमलगायतका कार्यक्रमहरु गर्दै आएको बताइएको थियो।

प्रदेश सम्मेलनमा सन् २०३० सम्म नेपाललाई बालविवाह मुक्त बनाउनका लागि साझेदार संस्थाहरूको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो। कार्यक्रममा मानव अधिकार आयोगका कोसी प्रदेश निर्देशक पवन भट्ट, कोकन अध्यक्ष मञ्जिता उपाध्याय, मानव अधिकार सञ्जाल विराटनगरका संयोजक विनोद पोखरेललगायतले बालविवाह मुक्त राष्ट्र बनाउने सरकारको अभियानलाई सफल पार्नु पर्नेमा जोड दिए। 

प्रकाशित: १४ असार २०८१ २२:०१ शुक्रबार

#Itahari #sunsari #"Smart Daughter Project" #Child Marriage Free Nation Declaration