५ चैत्र २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

नेपालमा निपाह भाइरसको जोखिम: मन्त्रालयले जारी गर्‍यो देशभर ‘हाई अलर्ट’

सांकेतिक तस्बिर।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण तीव्र देखिएकाले देशभरका स्वास्थ्य संस्था तथा निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

विश्व स्वास्थ्य संगठनले दक्षिण-पूर्वी एसियाली क्षेत्रमा निपाह भाइरसको जोखिम न्यून रहेको मूल्याङ्कन गरेतापनि छिमेकी देशहरूमा देखिएका घटनालाई मध्यनजर गर्दै मन्त्रालयले पूर्वतयारी स्वरूप देशभर सचेत गराएको हो।

मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निपाह भाइरस परीक्षणका लागि अन्तरिम एल्गोरिदम (परीक्षण विधि) समेत तयार पारेको जानकारी दिएको छ।

कसरी सर्छ यो भाइरस ?

मन्त्रालयका अनुसार निपाह भाइरस संक्रमित फलाहारी चमेराको र्‍याल, पिसाब वा मलमूत्रले दूषित बनाएका फलफूल सेवन गर्दा मानिसमा संक्रमण हुन सक्छ।

यसका साथै संक्रमित व्यक्तिको रगत, थुक, पिसाब वा नजिकको सम्पर्कबाट र चमेरोबाट सुँगुर हुँदै पनि यो भाइरस मानिसमा सर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

संक्रमणबाट बच्न मन्त्रालयले फलफूल राम्ररी पखालेर मात्र खान, तरकारी राम्रोसँग पकाएर खान, सफा र सुरक्षित पानी उमालेर पिउन र जनावरका गोठ तथा फार्महरू सफा राख्न अनुरोध गरेको छ।

यस्तै, मासु काट्दा पञ्जा र मास्कको प्रयोग गर्न, समय-समयमा साबुनपानीले हात धुन र भीडभाडमा जाँदा मास्क लगाउन समेत आग्रह गरिएको छ।

ज्वरो आउने, टाउको र मांसपेशी दुख्ने, चक्कर लाग्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, बान्ता हुने र गम्भीर अवस्थामा बेहोस हुने जस्ता शंकास्पद लक्षण देखिएमा तुरुन्तै आइसोलेसनमा बस्न र नजिकको स्वास्थ्य संस्था वा मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हालसम्म नेपालमा निपाह भाइरसको कुनै पनि घटना पुष्टि नभएको जानकारी दिँदै कसैलाई पनि आतंकित नहुन आग्रह गरेका छन्।

मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार निकायहरूसँग समन्वय गरी अवस्थाको निरन्तर अनुगमन गरिरहेको बताउँदै आधिकारिक सूचनामा मात्र विश्वास गर्न र अफवाहको पछि नलाग्न सबैमा अपील गरेको छ।

प्रकाशित: १९ माघ २०८२ २२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App