८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

सिंहदरबारको पुनर्निर्माण यही वर्षबाटै सुरु हुने

फाइल तस्बिर।

जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते आगलागीबाट क्षति भएको सिंहदरबारको मूल भवन तथा सिंहदबारपरिसरभित्र रहेका अन्य भवनहरूको पुनर्निर्माणको काम सरकारले यही वर्षदेखि सुरु गर्ने भएको छ।

सहरी विकास मन्त्रालय मातहतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले परिसरभित्र रहेका मूल भवन तथा अन्य भवनहरूको पुनर्निर्माणका लागि प्रक्रिया अघि बढाएको हो।

सचिवालयका सूचना अधिकारी अरुण भुजेलले यही वर्ष भित्रबाटै परिसरभित्र रहेका मूल भवन तथा अन्य भवनहरूको पुनर्निर्माणको काम सुरु हुने जानकारी दिए।

उनका अनुसार हाल आगजनीबाट क्षति भएका मूल भवन तथा अन्य भवनको क्षतिको विस्तृत अध्ययन भइरहेको छ। ‘पुलचोक इन्जिनियरिङ कलेजले सिंहदरबार परिसरभित्र रहेका मूल भवन तथा अन्य भवनहरूमा भएको क्षतिको विस्तृत अध्ययन गरिरहेको छ। हाल अध्ययन गर्ने काम अन्तिम चरणमा पुगेको छ,’ भुजेलले भने,‘सम्भवतः यो महिनाको अन्तिमसम्म कलेजले रिपोर्ट बुझाउँछ। त्यस आधारमा विस्तृत अध्ययन प्रतिवेदन तयार हुन्छ। त्यस लगत्तै पुनर्निर्माणका लागि टेन्डर आह्वान गर्छाैं।’

उनका अनुसार चैत या वैशाखसम्म सचिवालयले पुनर्निर्माणका लागि टेन्डर आह्वान गर्ने भएको छ।

सहरी विकास मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार आगजनीबाट मूल भवनमा मात्र एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ। सूचना अधिकारी भुजेलका अनुसार पुनर्निर्माणपछि मूल भवन अन्य भवनहरूको स्वरूपमा पहिलेकै अवस्थामा फर्कनेछ।

सहरी विकास तथा भवन निर्माण विभागका एक कर्मचारीका अनुसार सिंहदरबारको मूल भवनको पूर्वतिरको भन्दा पश्चिमतिरको भाग बढी जलेको छ।

दुवै भागलाई जोड्दा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान छ। ती कर्मचारीका अनुसार यसमा रहेको पुरातात्त्विक महत्वका सम्पदामा भएको क्षतिको मूल्याङ्कन अझै भएको छैन।

मूल भवन अङ्ग्रेजी ‘सी’ आकारको छ। जेन-जी आन्दोलनपछि मूल भवन मात्र नभएर वरिपरिको भाग पनि मानिस जानै नसक्ने गरी जोखिमपूर्ण भएको छ। जहाँतहीँ जलेका सामग्री मात्र छन्।

मन्त्रालय स्रोतका अनुसार मूल भवनभित्र जान इन्जिनियरलाई समेत जोखिमपूर्ण अवस्था छ। आन्दोलनका क्रममा एक सय २० वर्षभन्दा पुरानो मूल भवनभित्रको ‘स्टेट हल’ पूरै ध्वस्त भएको छ।

उक्त हल ऐतिहासिक र पुरातात्त्विक महत्त्वको थियो। हलभित्र ऐतिहासिक र पुरातात्त्विक  कला, कलात्मक पेन्टिङ तथा ऐतिहासिक किसिमबाट साजसज्जा गरिएको थियो। राणा कालमै अति विशिष्ट विदेशी पाहुना काठमाडौंमा आउँदा स्टेट हलमा स्वागत गरिन्थ्यो। विदेशी पाहुना नेपाल आउँदा उनीहरूले दिएका बहुमूल्य उपहारहरू उक्त हलमा सजाएर राख्ने गरिएको थियो।

जेन-जी प्रदर्शनका क्रममा लगाइएको आगोले ती सामग्री पूरै जलेका छन्। सहरी विकास मन्त्रालयका कर्मचारीहरूका अनुसार जेन-जी प्रदर्शनमा सिंहदरबारभित्र सोफा, फर्निचर, गलैंचा, आइटी तथा बिजुली बत्ती प्रणाली, सुरक्षा प्रणाली, टेलिफोन, कम्प्युटर, सिसिटिभी तथा महत्त्वपूर्ण र ऐतिहासिक कागजातहरू जलेका छन्।

विभिन्न देशसँग भएको सन्धि सम्झौताका प्रतिलिपिहरू पनि जलेको अनुमान उनीहरूले गरेका छन्। सिंहदरबार जल्दा काठ र काठबाट बनेका सामग्रीहरूमा ठुलो नोक्सानी भएको भवन विभागका कर्मचारीहरूको दाबी छ।

सिंहदरबारको जलेको मूल भवनलाई हरियो पर्दाले छोपिएको छ। इन्जिनियरहरूले मूल भवनमा रातो स्टिकर टाँसेका छन्। रातो स्टिकर टाँस्नुको मतलब अब उक्त भवन अहिलेकै अवस्थामा प्रयोग गर्न सकिँदैन भन्ने हो। यो भवनको पुनर्निर्माण गर्ने कि प्रबलीकरण भन्ने विषयमा इन्जिनियरहरू टुंगोमा पुगेका छैनन्।

२०७२ सालको भूकम्पपछि भत्किएको सिंहदरबारलाई प्रबलीकरण गरिएको थियो। त्यति बेला एक अर्बभन्दा बढी रुपैयाँ खर्च भएको थियो।

जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी भवन तथा संरचना पुनर्निर्माण गर्न कम्तीमा ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ बराबर खर्च लाग्ने अनुमान गरिएको छ।

गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कन तथा क्षतिग्रस्त सार्वजनिक संरचना पुनर्निर्माण योजना तयार गर्न सरकारले गठन गरेको समितिले यस्तो अनुमानसहितको प्रतिवेदन तयार पारेको हो।

राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा असोज ५ गते गठित समितिले प्रतिवेदन बिहीबार प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ।

प्रतिवेदनमा जेन-जी आन्दोलनका क्रममा सातै प्रदेशमा क्षति भएको विवरण छ। विवरण अनुसार ५४ जिल्ला र २६२ स्थानीय तहका भौतिक संरचना र अन्य सम्पत्तिमा क्षति पुगेको छ।

समग्रमा सरकारीतर्फ ८४ अर्ब ४५ करोड रुपैयाँ बराबरको भौतिक सम्पत्तिको क्षति भएको विवरण प्रतिवेदनमा छ। सरकारी क्षतिमा सङ्घीय सरकारतर्फ ६८ प्रतिशत तथा प्रदेश र स्थानीय तहतर्फ क्रमशः १० र २२ प्रतिशत छ। जेन-जी आन्दोलनबाट दुई हजार १६८ वटा निकाय/संस्था प्रभावित भएका र दुई हजार ६७१ वटा भवनमा क्षति पुगेको विवरण प्रतिवेदनमा छ।

भवनतर्फ ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ बराबरको क्षतिको भएको मूल्याङ्कन छ। यसैगरी १२ हजार ६५९ वटा सवारीसाधनमा क्षति पुगेको छ।

सवारीसाधनतर्फ १२ अर्ब ९३ लाख ६१ हजार रुपैयाँ बराबरको क्षति भएको पाइएको छ। त्यस्तै निजी क्षेत्रतर्फ ३३ अर्ब ५४ करोड ८७ लाख र सामुदायिक तथा अन्य क्षेत्रतर्फ पाँच अर्ब ९७ करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

सहरी विकास तथा भवन निर्माण विभागले जेन-जी आन्दोलनबाट क्षति भएका भवनलाई तीन किसिमबाट वर्गीकरण गरेको छ। हाल प्रयोग गर्न नमिल्ने भवनमा रातो स्टिकर टाँसिएको छ।

रातो स्टिकर टाँसिएका भवनलाई पहिलेकै अवस्थामा ल्याउन पुनर्निर्माण गर्नुपर्ने हुन्छ। यस्ता भवन १३४ वटा छन्, जसमध्ये विभागको कार्यक्षेत्रमा ४४ वटा छन्।

अन्य भवन अन्य निकायको कार्यक्षेत्रमा पर्छन्। यसैगरी आन्दोलनबाट सामान्य क्षति भएका भवनको संख्या १३४ छ। जसमध्ये १२५ वटा भवन विभागको कार्यक्षेत्रभित्रका हुन्।

यस्ता भवनमा हरियो स्टिकर टाँसिएको छ। यसै गरी आंशिक क्षति भएका भवन १७६ वटा छन्, जसमध्ये विभागको कार्यक्षेत्रभित्र १०० वटा छन्।

यस्ता भवनमा पहेँलो स्टिकर टाँसिएको छ। यस्ता भवनलाई पहिलेकै अवस्थामा ल्याउन प्रबलीकरण गर्नुपर्ने सुझाव इन्जिनियरहरूले दिएका छन्।

सहरी विकास मन्त्रालय मातहतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको कार्यक्षेत्रभित्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास सिंहदरबार, मन्त्र निवास, संसद् भवनलगायतका ५१ भवन छन्।

प्रकाशित: १९ माघ २०८२ २१:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App