४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

रास्वपाका पूर्वउम्मेदवार डा. राणा र नेकपाका केन्द्रीय सदस्य केसी कांग्रेस प्रवेश

काठमाडौं निर्वाचन क्षेत्र नम्बर-५ मा प्रभावशाली उपस्थिति रहेका दुई नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट अघिल्लो निर्वाचनमा उम्मेदवार रहेका डा. प्रणय शमशेर राणा र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी बिहीबार कांग्रेस प्रवेश गरेका हुन्।

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र महामन्त्री एवं सोही क्षेत्रका उम्मेदवार प्रदीप पौडेलले उनीहरूलाई पार्टीमा स्वागत गरे।

द्वन्द्व व्यवस्थापनमा विद्यावारिधि गरेका डा. राणा रास्वपाको केन्द्रीय गुनासो विभाग प्रमुखको जिम्मेवारीमा थिए। अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट ५ हजार ४ सय ७७ मत प्राप्त गरेका थिए।

रास्वपाको स्थानीय सङ्गठनमा बलियो पकड राख्ने डा. राणाले केही दिनअघि मात्रै पार्टीको टिकट वितरण प्रणाली र प्राइमरी निर्वाचनको नाममा विधि मिचिएको भन्दै राजीनामा दिएका थिए।

पार्टी प्रवेशका क्रममा उनले भने, ‘रास्वपाले प्राइमरीका आधारमा उम्मेदवार चयन गर्ने भनेर शुल्क उठाए पनि पछि त्यसको बर्खिलाप गएर अपारदर्शी ढङ्गले टिकट वितरण गर्‍यो। विधि र पद्धति मिचिने ठाउँमा बस्नुको औचित्य नरहेकाले मैले लोकतान्त्रिक शक्तिको रूपमा कांग्रेस रोजेको हुँ।’

त्यसैगरी, काठमाडौं महानगरपालिका वडा नम्बर-३ का पूर्व वडाध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का केन्द्रीय सदस्य दीपक केसीको आगमनले पनि कांग्रेसलाई ठूलो राहत मिलेको छ। केसी आफ्नो वडामा प्रभावशाली नेताका रूपमा चिनिन्छन्।

प्रकाशित: ७ फाल्गुन २०८२ २२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App