भक्तपुरको ऐतिहासिक एवं धार्मिक तीर्थस्थल हनुमानघाटमा सञ्चालित एक महिने माधवनारायण व्रत (धलं) सोमबार विधिवत् रूपमा समापन गरिएको छ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि सुरु भई माघ शुक्ल पूर्णिमासम्म चल्ने यस व्रतको समापनसँगै सोमबार मुख्य व्रतालुहरूलाई विशेष बिदाइ गरिएको हो।
स्थानीय नेवारी भाषामा चर्थी भनिने समापन कार्यक्रममा यस वर्षको एक महिने कठोर व्रतमा सहभागी १० जना श्रद्धालुहरूलाई बिदाइ गरियो।
बिदाइ समारोहपछि व्रतालुहरूका लागि विशेष भोजनको व्यवस्था गरिएको थियो। एक महिनासम्म नुन, माछा र मासु पूर्ण रूपमा त्यागेर शुद्ध बसेका व्रतालुहरूलाई समापनको अवसरमा नुनसहितका विभिन्न नेवारी परिकार खुवाइएको थियो। सो अवसरमा दिनभर भजनकीर्तन समेत गरिएको थियो।
माधव नारायण व्रत (धलं) सेवा समितिका अनुसार व्रतको अन्तिम दिन आइतबार थप २२४ जना भक्तजनहरूले व्रत राखेका थिए। सोमबारको बिदाइ कार्यक्रममा व्रतालु, उनीहरूका आफन्त र सहयोगी गरी ४ सयभन्दा बढीको सहभागिता रहेको थियो।
काठमाडौंको साँखुस्थित शाली नदीमा जस्तै भक्तपुरको हनुमानघाटमा पनि प्राचीन कालदेखि नै माधवनारायणको व्रत बस्ने परम्परा छ।
संस्कृतिविद् विनोदराज शर्माका अनुसार यहाँ नेपाल संवत् ७२२ देखि नै माधवनारायणको उपासना गर्ने गरिएको ऐतिहासिक प्रमाण छ।
यहाँ पुरुष र महिला दुवैले व्रत बस्ने गर्दछन्। व्रतको अवधिभर महिला व्रतालुहरू हनुमानघाटमै बस्ने गर्छन् भने पुरुषहरू राति घर जाने र बिहानै पुनः नित्य कर्मका लागि घाटमा आइपुग्ने परम्परा रहेको छ।
हिन्दू धर्मावलम्बीहरूमा श्री स्वस्थानीको व्रत बसेमा मनोकांक्षा पूरा हुने र परिवारमा सुख-शान्ति छाउने जनविश्वास रहिआएको छ। सोही विश्वासका साथ देशभरका विभिन्न शक्तिपीठ र जलाशयहरूमा एक महिनासम्म भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ।
प्रकाशित: १९ माघ २०८२ २२:०२ सोमबार





