२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

मुस्ताङबाट छ महिनामा चार हजार ४९१ केजी फोहोर निकासी

फाइल तस्बिर

मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ केजी फोहोरमैला जिल्ला बाहिर निकासी गरिएको छ। यहाँ स्थित वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जिल्ला बाहिर पठाएको हो।

धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङलाई स्वच्छ,सफा र वातावरणमैत्री तुल्याउने उद्देश्यले एक्यापले गत आर्थिक वर्षदेखि यहाँका समुदायले संकलन गरेको फोहोरमैलालाई ट्रक मार्फत ढुवानी गरी पोखरा पठाउन थालेको एक्याप जोमसोमका कार्यालय प्रमुख गुप्तले जानकारी दिए।

एक्यापले मुस्ताङको तल्लो क्षेत्रमा समुदायले संकलन गरेको नकुहिने प्लाष्टिकजन्य फोहोरमैला उठाएर पुन प्रयोगका लागि पोखरा स्थित ग्रीन वेस्ट मेनेजमेन्ट प्रा.लि.मा निकारी गरेको कार्यालय प्रमुख गुप्तले उल्लेख गरे। चालु वर्षको पुस महिनासम्म यहाँ संकलित फोहोर चार पटक ट्रकमा ढुवानी गरी पोखरा पठाईएको प्रमुख गुप्तको भनाइ छ।

मुस्ताङमा पर्यटन व्यवसायी तथा स्थानीय समुदाय स्तरबाट संकलन भएको नकुहिने फोहोरलाई एक्याप जोमसोमले ट्रकको ढुवानी गरिएको भाडा आफ्नै आर्थिक खर्च व्यवस्थापन गरी पोखरा स्थित प्रशोधन केन्द्रमा पठाउने गरेको प्रमुख गुप्तले जानकारी दिए।

यसवर्ष पहिलो चरणमा गत भदौ ११ गतेमा १७६ बोरा अर्थात ५४४ केजी,दोस्रो चरणमा कार्तिक १९ गतेमा १५४ बोरा अर्थात ८६० केजी, तेस्रो चरणमा मंसिर ७ गते २४२ बोरा अर्थात १५३ केजी र चौथो चरणमा पुस ९ गतेमा १७२ बोरा अर्थात एक हजार ३५१ केजी फोहोर पोखरामा निकासी गरिएको हो।

यसैगरी गतवर्ष एक्याप जोमसोमले यहाँको तीन पालिकामा पर्यटन व्यवसायी तथा समुदायले संकलन गरेको दश हजार १९० केजी फोहोर ट्रकमा ढुवानी गरी पोखरा स्थित ग्रीन वेस्ट मेनेजमेन्ट प्रशोधन केन्द्रमा पठाएको थियो।  

यसअघि मुस्ताङमा संकलन हुने नकुहिने प्लासिष्टकजन्य फोहोर व्यवस्थापनका लागि एक्याप र ग्रीन वेस्ट मेनेजमेन्ट प्रा.लि. बीच फोहोर व्यवस्थापन गर्ने सम्वन्धि सहमति गरेको थियो। एक्याप प्रमुख गुप्तका अनुसार मुस्ताङमा संकलन हुने फोहोरलाई सम्वन्धित स्थानमा पु¥याउन ढुवानीको साधन व्यवस्थापन गर्नमा समस्या परिरहेको बताए।

अन्नपूर्ण संरक्षणक्षेत्र आयोजनाको स्वामित्वमा रहेको मुस्ताङमा यहाँको वातावरणलाई चुस्त राख्ने उद्देश्यले फोहोरमैला व्यवस्थापन गर्नका लागि चालु आर्थिक वर्ष यहाँका तीन पालिकाहरुलाई पाँच÷पाँच लाख रुपैया बजेट विनियोजन गरिएको प्रमुख गुप्तले बताए। एक्यापले दिएको फोहोरमैला व्यवस्थापन शिर्षकको बजेटमा रहेर यहाँको घरपझोङ गाउँपालिकाले ट्याम्पो खरिद गरेको छ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले संकलित फोहोरलाई थिच्ने कम्प्रेसर मेशिन  खरिद गरेको छ भने थासाङ गाउँपालिकाले फोहोरमैला शिर्षकमा छलफलको चरणमा रहेको एक्यापले जनाएको छ।

यसैगरी जिल्लामा पर्यटक तथा स्थानीय नागरिकहरुबाट हुने फोहोरमैलाको समुचित व्यवस्थापनका लागि यहाँका तीन पालिकामा एक्याप फोहोर संकलन केन्द्र पूर्वाधार निर्माण गरेको जनाएको छ।एक्यापले यहाँको थासाङ—४ घाँसा,थासाङ—३ लेते र धम्पु, थासाङ—२ कोवाङ, थासाङ—१ टुकुचे, घरपझोङ—३ स्याङ,घरपझाङ—१ छैरो, वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी र वारागुङ मुक्तिक्षेत्र—४ मुक्तिनाथमा फोहोरमैला संकलन केन्द्र पूर्वाधार निर्माण गरेको जनाएको छ। रासस

प्रकाशित: ३ फाल्गुन २०८२ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App