३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

कविहरूले मनाए ‘प्रणय दिवस’

'वर्तमान कविता समूह' ले प्रणय दिवस (भ्यालेन्टाइन डे) काे अवसरमा 'काव्यिक प्रणय-साँझ' आयोजना गरेर प्रणय दिवस मनाएकाे छ।

कार्यक्रममा २४ कविले प्रेमलाई परम्परागत रोमान्टिक घेराभन्दा माथि उठाएर सामाजिक, मनोवैज्ञानिक र राजनीतिक दृष्टिकोणबाट प्रस्तुत गरेका थिए।

स्वयम्भूकाे होटल नयनमा आयोजना गरेको कार्य्रकममा वाचन गरिएका कविताहरूले प्रेमलाई व्यक्तिगत भावनामा मात्र सीमित नगरी व्यापक सामाजिक संरचनासँग जोडिएको एक जटिल मानवीय अनुभवका रूपमा प्रस्तुत गरेका थिए।

कविहरूले विद्रोहभित्रको प्रेमको शक्ति र उत्पीडन एवं द्वन्द्वविरुद्ध प्रेम कसरी प्रतिरोधको माध्यम बन्न सक्छ भन्ने उजागर गरे। यसका साथै, पुँजीवादी व्यवस्थाभित्र आधुनिक मानवीय सम्बन्ध टिकाइराख्न कति चुनौतीपूर्ण छ र प्रविधिको बढ्दो प्रभावका बीच प्रेमको आदर्श कसरी बाँचिरहेको छ भन्ने प्रश्न पनि कविताहरूमा उठाइएको थियो।

विछोडको मनोवैज्ञानिक पक्षदेखि श्रम र सङ्घर्षसँग जोडिएको प्रेमसम्मका विषयलाई कविहरूले बहुआयामिक ढङ्गले प्रस्तुत गरेका थिए।

वर्तमान कविता समूहका सदस्य विश्व सिग्देलले समूहको उद्देश्य प्रेमका विषयमा मात्र सीमित नरहेको बताए। उनले यसअघि पनि श्रम, पर्यावरण र सामाजिक न्याय जस्ता विविध र समसामयिक मुद्दाहरूमा केन्द्रित भई कार्यक्रमहरू आयोजना गरिएको र आउँदाे दिनमा पनि यस्ता विषयगत साहित्यिक बहसहलाई निरन्तरता दिइने उल्लेख गरे।

साहित्यित्क अभियन्ता तथा शब्दाङ्कुर मासिकका सम्पादक धीरकुमार श्रेष्ठले साहित्यको भविष्य र पहुँचबारे चर्चा गर्दै समूहले अनुवादका परियोजनाहरूमा पनि सक्रियताका साथ काम गरिरहेको बताए। श्रेष्ठका अनुसार नेपाली सिर्जनालाई अन्य भाषामा अनुवाद गर्नु स्थानीय साहित्यलाई विश्वव्यापी पाठकमाझ पुयाउन र अन्तर्राष्ट्रिय जगतसँग नेपाली मौलिकता जोड्नका लागि एक महत्त्वपूर्ण कदम हो।

कार्यक्रममा कवि स्नेह सायमीले जनयुद्ध, अस्तित्वको प्रेम र वर्गीय सङ्घर्षको सत्य घटनाको कविता बन्दुक र रातो गुराँस वाचन गरे।किशोर पहाडीले प्रेमको सरल तर जीवन्त दर्शनको कविता प्रेम शीर्षकमा बुनेका थिए भने उनले चोटिलो मुक्तकबाट कविता वचनको थालनी गरेका थिए।

सुधीर ख्वबीको एकदिनको फागुको अर्थ कवितामा फागुको एक दिन मात्र होइन  प्रत्येक दिन प्रेयसीलाई रंगाउन मन रहेको कुरा व्यक्त थियो।

त्यस्तै वसन्त नकर्मीको अग्लिएको यादले प्रेमको हृदय तत्त्वको तड़प र यादको वरदानको सङ्केत गरेको थियो।

रामगोपाल आशुतोषको कविता एक आर्किटाइप प्रेमले प्रेम र संघर्षको जीवन्त बयान गरेको थियो।

अभय श्रेष्ठको व्यस्त शहरको शान्त बिसौनीमा प्रेमको सम्यक दृष्टि प्रस्तुत गरिएको थियो अनि राधिका कल्पितले प्रणयको पहिलो प्रहर कवितामा मागी विवाह गरेका प्रेमिल पात्रलाई राखेर प्रेममा समर्पित कविता वाचन गरिन्।

रजनीमिलाको एक प्रेमिल साँझ, दिलकुमारी डंगोलले मन शीर्षकमा आफ्नै मनलाई बलियो बन्न आग्रह गर्दै फेब्रुअरी १४ को कविता सुनाइन्।

शोभा सरभको सपनाको कथामा प्रेम गीत गाइएको थियो भने दीप्स शाहको एम्बुस जस्ता आँखा कवितामा मनलाई ससाना कम्पनले पनि असर पार्न सक्छ भन्ने अनुभूति पोखिएको थियो।

लक्ष्मी रुम्बाको घरबुना प्रेम बजारवादको चपेटामा प्रेम र यसको घातक प्रभावबारे थियो भने विणा नेम्कुलको भर्चुअल प्रेम, रहेना नक:मी मानन्धरको गोधूलि साँझमा मेरो प्रेम र विष्णुकला राईको सिजोफ्रेनियामा प्रेम, समाज र मानसिक द्वन्द्वको मिश्रण थियो। मञ्जु श्रेष्ठ सिंहले अनुरोध मेरो प्रियलाई कवितामा सधैँ प्रेमगीत बनी रहिरहनू भनी आग्रह गरिन्।

तपन जीएमको जीवन,अनुभूति र प्यार, रश्मी रिजालको तिमीमा प्रेमका सुन्दर पक्षको महिमागान थियो भने समाश्रीले मनको अग्निकुण्ड राखिएको बेला कवितामा प्रिय मानिस टाढा भएपछि जीवन खाली भएको कुरा रचनामा सुनाइन्।

विश्व सिग्देलको तिम्रो अनुपस्थितिमा, धीरकुमार श्रेष्ठको प्रेमको महासागर, चन्द्रबहादुर लामाको अनन्त प्रतीक्षाको कथा, दीपक चौलागाईंको तिमी छौ र त र रमी प्रियाको यात्रा शीर्षकको कविताले प्रेमका विविध आयाम बोकेका थिए।

साहित्यिक सम्मानस्वरूप सहभागी सबै कवि तथा अतिथिहरूलाई पेल स्याडोज् एट डस्क र प्रेमको आदिम गीत पुस्तक उपहार अर्पिएको थियो।

बौद्धिक र सामूहिक साहित्यिक उत्सवका रूपमा सम्पन्न उक्त साँझको समापन रात्रिभोजसँगै भयो, जहाँ सहभागीहरूले नेपाली साहित्यको वर्तमान अवस्था र आगामी दिशाबारे थप अनौपचारिक छलफल गरेका थिए।

प्रकाशित: ३ फाल्गुन २०८२ ०९:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App