१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

लोडसेडिङ मैले पनि भोगिरहेको छु : मुख्यमन्त्री कार्की

कार्यक्रममा सहभागी कोसी प्रदेशका मुख्य मन्त्रीलगायत । तस्बिर: चुमन बस्नेत/नागरिक

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोडसेडिङबाट पीडित हुनुपरेको गुनासो गरेका छन् । उद्योग संगठन मोरङको ५१ औँ साधारण सभालाई शुक्रबार विराटनगरमा  सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले दिनहुँको अघोषित लोडसेडिङले पीडित भएको गुनासो गरे।

मुख्यमन्त्री कार्कीले घोषित रुपमा लोडसेडिङ भए वैकल्पिक व्यवस्था गर्न सकिने भए पनि अघोषित लोडसेडिङलाई व्यवस्थापन नै गर्न गाह्रो भएको बताए । ‘नेपालमा धेरै विद्युत् उत्पादन भयो । बेच्न गाह्रो भयो भन्ने सुनिन्छ । तर, दिनहुँको लोडसेडिङले हैरान पारेको छ ।  लोडसेडिङ मैले पनि भोगिरहेको छु।

समस्याको समाधानका लागि तपाईहरूसँगै म पनि नेपाल सरकार र विद्युत् प्राधिकरणसँग पहल गर्न तयार छु’ कार्कीले भने । कार्कीले  प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए । कार्कीले कोसी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले पनि सरकार निजी क्षेत्रबिच सहकार्यको वातावरण बनाउने दाबी गरे।

मुख्यमन्त्री कार्कीले विराटनगरका उद्योगी व्यवसायीले माग गरेको औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि प्रदेश सरकार तत्पर रहेको भन्दै प्रदेश सरकारको क्षेत्राधिकार भित्र जग्गा प्राप्ति नपर्ने भएकाले समस्या भइरहेको बताए।उनले औद्योगिक प्रदर्शनी स्थलका लागि निजी क्षेत्रले जग्गाको व्यवस्था गरे प्रदेश सरकार आवश्यक संरचना निर्माण गर्न तत्पर रहेको स्पष्ट पारे।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले  आगामी मौद्रिक नीतिले निजी क्षेत्रले लगानीका लागि  विश्वास गर्ने वातावरण तयार पार्न आवश्यक रहेको धारणा राखे।उनले उद्योगीहरू ऋण लिन हिचकिचाउने, बैङ्कमा पैसा थुप्रने र चलिरहेका उद्योगहरू बन्द हुने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको बताए।राउतले अर्थतन्त्रलाई चलायमान बनाउने किसिमको मौद्रिक नीति आवश्यक रहेको बताए।

नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर चिरञ्जीवी नेपालले उद्योगी व्यवसायीलाई राज्यले पहिलो दर्जाको नागरिकका रुपमा लिएर उद्योगी व्यवसायीकै संलग्नतामा आर्थिक नीति निर्माण गर्नुपर्ने धारणा राखे । निजी क्षेत्रको संलग्नतामा आर्थिक नीतिहरू निर्माण नभए देशको आर्थिक अवस्था सुधार नहुने नेपालले ठोकुवा गरे। उनले भने‘नीति निर्माणमा उद्योगी व्यवसायीको संलग्नता नभए सम्म र उनीहरूको चासो सम्बोधन नभएसम्म देशको आर्थिक अवस्था सुधार हुन सक्दैन।’

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले स्वागत मन्तव्य राख्दै उद्योग व्यवसाय देशको आधार स्तम्भ भएकाले मुलुकको आर्थिक समृद्धिमा यस क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने धारणा राखे। कार्यक्रममा उद्योगी, व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, तथा सरकारी निकायका उच्च पदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो । सो कार्यक्रममा उत्कृष्ट उद्योगी, कर्मचारी, निर्यातकर्ता, स्टार्टअपलगायतलाई पुरस्कृत पनि गरिएको थियो। 

प्रकाशित: १४ असार २०८१ २१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App