१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

ट्राफिकको चेकजाँच आतंक अन्त्य गर्न उद्योगी व्यवसायीको माग

विराटनगरमा आयोजित सुरक्षा सम्बन्धी अन्तर्क्रियामा सहभागीहरू। तस्बिर:चुमन बस्नेत/नागरिक

मोरङका उद्योगी–व्यवसायीहरूले सडकका गौडै पिच्छे ट्राफिकले चेकजाँचका नाममा दुःख दिने गरेको गुनासो गरेका छन्।

विराटनगरमा आइतबार  मोरङ एदोग व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ कोसीले संयुक्त रुपमा आयोजना गरेको सुरक्षा सम्बन्धी अन्तर्क्रियामा मोरङका उद्योगी व्यवसायीहरूले चेकजाँचका नाममा ट्राफिक प्रहरीले हैरान पारेको गुनासो गरे।

उद्योग व्यापार संघ मोरङका कार्यबहाक अध्यक्ष अनिल साहले ट्राफिकको चेकजाँचले उद्योगी व्यवसायी  हैरान भइसकेको गुनासो गरे। साहले सडकका गौंडै पिच्छे कागजपत्र चेकजाँचका नाममा मालवाहक सवारी र अन्य सवारीसाधनलाई  ट्राफिकले रोकेर हैरान पारेको  गुनासो गरे। ‘जहीतहीं कागजपत्रका नाममा चेकजाँच गर्नुपर्ने के जरुरी छ’ साहले भने‘नेपालका ट्राफिकको काम मालवाहक सवारीका कागजपत्र माग्ने, भारतीय सवारी र अन्य सवारीका लाइसेन्स र व्लुवुक माग्ने मात्रै भएको छ।’ 

उद्योग परिसंघ कोसीका अध्यक्ष पवनकुमार सारडाले ट्राफिक प्रहरी कार्यालयहरूबिच कसले कति धेरै पैसा उठाउने भन्ने प्रतिस्पर्धा चलिरहेको बताए । उनले भने ‘ट्राफिकहरूले पैसा उठाउने धन्दा चलाएपछि नागरिकहरू ट्राफिकबाट पीडित बनेका छन्।’ सारडाले ट्राफिकको चेकजाँच आतंक अन्त्य गर्न माग गरे। 

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले विराटनगरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको गुनासो गरे  । उनले इटहरीमा सडकमा गुडिरहेको भारतीय नम्बर प्लेटका  गाडी रोकेर पार्किङ शुल्क असुल्ने काम भइरहेको भन्दै यस्ता गतिविधि रोक्न माग गरे।

होटल व्यवसायी भविश श्रेष्ठले भारतीय पर्यटकहरूलाई चेकजाँचका नाममा दुःख दिने काम तत्काल रोक्न आग्रह गरे। ‘ठाउँ–ठाउँमा कागजपत्रका नाममा चेक गरेर भारतीय पर्यटक र सवारीसाधनबाट असुली गर्ने काम भइरहेको छ ’श्रेष्ठले भने‘पर्यटकलाई दुःख दिने काम रोकियोस्।’  नाकामा नेपाल भित्रने अनुमति दिँदै चेक गरिसकेपछि अन्यत्र चेक गर्नु नपर्ने अवस्था बनाउन श्रेष्ठले माग गरे। सुनचाँदी व्यवसायी विकास वेगवानीले सुन चाँदीको मूल्य बढेपछि व्यवसायीहरू जोखिममा परेकाले बैङ्कलाई जस्तै सुनचाँदी व्यवसायीलाई पनि सुरक्षा गार्ड राख्ने व्यवस्था गर्न माग गरे। उनले ट्राफिकले विभिन्न बहानामा असुली गरिरहेको गुनासो गरे । ‘विराटनगर नाका देखि इटहरी पुग्दा नौ ठाउँमा चेकिङ हुन्छ’ उनले भने‘हरेक ठाउँमा केही न केही बहाना बनाएर ट्राफिकले पैसा असुलेकै हुन्छ।’

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकालले ट्राफिकलाई सुधार  गर्न मातहत निकायलाई निर्देशन दिए। ढकालले ट्राफिक प्रहरीको काम राजस्व संकलन गर्ने नभई ट्राफिक नियम पालना गर्न प्रोत्साहित गर्ने भएको स्पष्ट पारे। उनले ट्राफिकको कामलाई करेक्सन गर्न कोसी प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिए। ‘ट्राफिकको कामलाई तत्काल करेक्सन गर्नुहोस्’ मातहत निकायलाई निर्देशन दिँदै उनले भने‘ट्राफिकको काम राजस्व असुली गर्ने हैन।

ट्राफिक नियम पालना गर्न प्रोत्साहित गर्ने र ट्राफिक व्यवस्थापन गर्ने हो।’  ढकालले व्यवसायी र नागरिकलाई प्रहरीले दुःख नदिने स्पष्ट पारे। अहिले चेक बाउन्स सम्बन्धी धेरै उजुरी प्रहरीमा आएको भन्दै आर्थिक विषयका मुद्दा हेर्न छुट्टै आर्थिक ब्युरो बनाउने तयारी भइरहेको  ढकालले जानकारी दिए । 

प्रकाशित: १६ असार २०८१ १९:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App