१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

‘पेइड इन्टर्नसिप’ अभियानमा नेविसंघ, क्याम्पस र कम्पनीबिच धमाधम सम्झौता

नेपाल विद्यार्थी संघ(नेविसंघ)ले विद्यार्थीहरूका लागि ‘पेइड इन्टर्नसिप’(सुविधासहितको शैक्षिक अभ्यास) अभियान चलाइरहेको छ।

जसअन्तर्गत शिक्षण संस्था र रोजगारदाता कम्पनीबिच समन्वय गर्दै विद्यार्थीलाई सुविधासहितको इन्टर्नशीपको अवसर प्रदान गर्ने उद्देश्य रहेको नेविसंघले जनाएको छ। यसै अभियानको दोस्रो चरणअन्तर्गत आइतबार इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको पुल्चोक क्याम्पस र ६ वटा कम्पनीहरूबिच समझदारी पत्र(एमओयू)मा हस्ताक्षर भएको छ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई पेइड इन्टर्नशीपमा लगाउने गरी क्याम्पस प्रशासन र चौधरी ग्रुप, शर्मा कन्स्ट्रक्सन, लामा कन्स्ट्रक्सन, टेक्नोक्युरी कन्सल्ट, कान्छाराम कन्स्ट्रक्सन र बलियो भेन्चर कम्पनीबिच एमओयूमा हस्ताक्षर भएको हो। एमओयू पत्रमा समन्वयी नेविसंघका तर्फबाट अध्यक्ष दुजाङ शेर्पाको समेत हस्ताक्षर छ। एमओयूअनुसार क्याम्पसमा अध्ययनरत सिभिल, मेकानिकल, केमिकल र इलेक्ट्रिकल इन्जिनियरिङ विभागका विद्यार्थीहरूले पेइड इन्टर्नको अवसर प्राप्त गर्नेछन् । इन्टर्नी विद्यार्थीले मासिक १५ हजार सम्बन्धित कम्पनीबाट प्राप्त गर्ने कुरा एमओयूमा उल्लेख छ।

१० दिन अघि पनि नेविसंघको समन्वयमा पुल्चोक क्याम्पस र अन्य पाँच वटा कम्पनीबिच यसै गरी पेइड इन्टर्नसिप कार्यक्रम सञ्चालनका लागि एमओयू भएको थियो। नेपालका शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरू इन्टर्नसिप जाँदा निःशुल्क सेवा गर्नुपर्ने बाध्यता छ। विशेष गरी प्राविधिक धारतर्फको अधिकांश पाठ्यक्रममा इन्टर्नशीपको व्यवस्था गरिएको हुन्छ। तर, इन्टर्नसिप गराउने संस्थाले विद्यार्थीहरूको मर्का नबुझ्दा निःशुल्क सेवा दिनुपर्ने बाध्यता रहेको छ।

यही समस्यालाई हेरेर आफूहरूले पेइड इन्टर्नसिप अभियान थालेको अध्यक्ष दुजाङ शेर्पाले बताए । ‘विद्यार्थीले अनिवार्य गर्नुपर्ने प्रक्रियामा भोग्दै आएको मर्कालाई सहजता दिँदै लाभ दिलाउन यो अभियान थालेका छौँ,’ उनले भने,‘यसले विद्यार्थीको शैक्षणिक कार्य त पूरा गर्न मद्दत गर्ने छ सानै भए पनि रोजगारीको पूर्वाभ्यास गर्न पनि मद्दत गर्नेछ।’

प्रकाशित: १६ असार २०८१ २०:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App