१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

बबरमहलमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा सडकमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच काठमाडौंको बबरमहलमा झडप भएको छ।

शनिबार दिउँसो माइतीघर मण्डलाबाट निषेधाज्ञा तोड्दै नयाँ बानेश्वरतर्फ अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेपछि काठमाडौं जिल्ला अदालत अगाडि तनाव उत्पन्न भएको हो।

आफ्ना पार्टी अध्यक्षलाई शनिबार बिहानै पक्राउ गरेको विरोधमा एमालेका २३ वटै जनसंगठनहरूले एकीकृत रूपमा माइतीघरमा प्रदर्शन सुरु गरेका थिए।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङविरुद्ध चर्को नाराबाजी गरेका छन्। उनीहरूले पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न माग गर्दै माइतीघरमा राखिएको प्रहरीको ब्यारिकेड भत्काएर अघि बढेका हुन्।

निषेधाज्ञा तोडेर आक्रोशित रूपमा बानेश्वरतर्फ अघि बढेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले धरपकड सुरु गरेपछि बबरमहल क्षेत्रमा घम्साघम्सी भएको छ। जिल्ला अदालत अगाडि दुवै पक्षबीच झडप हुँदा सो क्षेत्रको अवस्था अहिले अत्यन्तै तनावग्रस्त बनेको छ।

प्रदर्शन र झडपका कारण माइतीघर-बानेश्वर सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। सम्भावित थप झडप र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सो क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

सरकारले राजनीतिक पूर्वाग्रह राखेर आफ्ना नेताहरूलाई पक्राउ गरेको दाबी गर्दै एमाले कार्यकर्ताहरूले सडकमा आक्रामक प्रदर्शनलाई निरन्तरता दिइरहेका छन्।

प्रकाशित: १४ चैत्र २०८२ १५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App