१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाल लाइभ स्टक सेक्टर इनोभेसन परियोजनाबाट २ लाख भन्दा कृषक लाभान्वित

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विश्व बैंकको आर्थिक सहयोगमा संचालनमा ल्याएको नेपाल लाइभ स्टक सेक्टर इनोभेसन परियोजनाको ६ बर्षे कार्यकाल सम्पन्न भएको छ।

परियोजनाबाट २ लाख ३७ हजारभन्दा बढी कृषकहरू लाभान्वित बनेका छन्। ४२ प्रतिशत महिला कृषक सहभागी भएको यो परियोजनाबाट १४ सय कृषि उत्पादक संस्था प्रत्यक्ष लाभान्वित भएको परियोजनाले जनाएको छ।

यो परियोजनाले दूध, खसी–बोकाको मासु प्रशोधन र साना किसान तथा कृषि व्यवसायीको उत्पादकत्व तथा मूल्यमा वृद्धि, जलवायु परिवर्तन अनुकूल नहुने क्षमता अभिवृद्धिका लागि ५ प्रदेशका २८ जिल्ला तथा २८९ नगर÷गाउँपालिकामा काम गरेको छ । साथै, यो परियोजनाले संस्थागत र नियामक क्षमता सबलीकरणमा समेत सहयोग गर्नुका साथै पशु सेवा क्षेत्रको आधुनिकीकरण र नश्ल सुधार कार्यक्रम देशैभर संचालनमा ल्याएको छ।

यो परियोजनाले राष्ट्रिय पशु स्वास्थ्य नीति—२०७८ र राष्ट्रिय पशु प्रजनन नीति—२०७८ को स्वरूप निर्माणमा सहयोग गरेको छ जुन संसदबाट पारित भैसकेको छ । साथै, सङ्क्रामक पशु रोग नियन्त्रण ऐन र पशु कल्याण ऐनसमेत तयारी अवस्थामा छ।

पशु सेवा क्षेत्रमा नवीनता प्रबद्र्धन तथा सेवा प्रवाहमा आधुनिकीकरण ल्याउने उद्देश्य अन्तर्गत यो परियोजनाले खोरेत तथा पीपीआर रोगबाट हुने पशु मृत्युको दर घटाउनमा उल्लेख्य उपलब्धि हासिल गरेको छ । पछिल्लो ४ वर्ष(२०१८–२२)को अवधिमा पशुमा खोरेत रोगको सङ्क्रमण ६३ प्रतिशत र पीपीआर ८८ प्रतिशत सम्म घट्न गएको अन्वेषणले देखाएको छ । 

परियोजनाले पशुपक्षी रोग रोकथाम तथा नियन्त्रणका लागि खोप भण्डारण गर्ने सित शृङ्खला निर्माण गर्दै दिर्घकालिन प्रभाव पर्ने कामको थालनी समेत गरेको छ। यसबाट आयोजना क्षेत्रबाहेक पनि देशभरका सातै वटा प्रदेशमा मागअनुसार ५० लाख डोज भ्याक्सिन संग्रहित गर्न सक्ने गरी भण्डारण गृह संचालनमा ल्याइसकेको छ। “यो परियोजनाको कार्यकाल टुंगिएपनि दिर्घकालिन रुपमा फाइदा पुग्ने गरी सबै प्रदेशमा खोप भण्डारण गर्ने र पशु स्वास्थ्यकाअलावा कोभिड–१९ जस्तो सङ्क्रमण आइपर्दा आपत्कालीन सेवा उपयोग गर्न सकिने सहयोगी संयन्त्र समेत तयार भएको छ”,आयोजना निर्देशक वैकुण्ठ अधिकारीले भनेका छन्। 

यसै गरी, परियोजना अन्तर्गत पशु नश्ल सुधार प्रयोजनमा अमेरिकाबाट ल्याइएको साँढे गोरुले १ लाख डोज वीर्य उत्पादन गरेको छ । यस आयोजनाले नश्ल सुधारका लागि राष्ट्रिय पशु प्रजनन कार्यालयहरूको क्षमता अभिवृद्धि गरेको छ। यसले पशु प्रजनन प्रक्रियामा गुणस्तर विकास गर्न सहयोग गर्नुका साथै दूध उत्पादनमा समेत सकारात्मक नतिजा ल्याउने देखिएको छ।

यो परियोजनाले समावेशी मूल्य विकास अन्तर्गत पूरक सहयोगमा स्थापना गरिएका ४४६ व्यवसायहरू संचालनमा ल्याएका छन् जसले दूध, खसी–बोकाको मासु र पश्मिना उत्पादन तथा प्रशोधनमा मद्दत गर्ने देखिन्छ।यो परियोजना संचालनमा विशिष्ट मोडिलाटी तय गर्दै कृषकले २० प्रतिशत लगानी गरेपछि थप ३० प्रतिशत कुनै बितिए संस्थाबाट ऋण लिन सकिने र त्यसमा परियोजनाले थप ५० प्रतिशत रकम थप्ने प्रावधान कार्यान्वयन गरिएको थियो।

परियोजनाको सहयोगमा नेपालमा पहिलो पटक पश्मिना प्रशोधनको सुविधा बिस्तार भएको छ। यस्तै, देशभरमा गरेर ५४ वटा पशु बजारका भौतिक संरचनाहरू निर्माण गर्दै स्थानीय सरकारको मातहतमा यी संरचना जिम्मा लगाइएको छ।

“हामी नेपाल सरकारलाई यस आयोजनाको सफल कार्यान्वयन र पशु स्वास्थ्य तथा कृषि खाद्य बालीलाई उत्थानशील बनाउनका लागि लिएको मध्यम र दिर्घकालिन दृष्टिकोण राखेकोमा बधाई दिन चाहन्छौ,”नेपाल सहित माल्दिभ्स र श्रीलङ्काका लागि विश्व बैङ्कका अपरेसन म्यानेजर लाडा स्त्रेल्कोवाले भनेकी छिन्। स्त्रेल्कोवाले यो परियोजना अन्तर्गत सञ्चालित सेवा प्रदायक कार्यक्रमले स्थानीय तहदेखि केन्द्र सम्म निरन्तरता पाउनुपर्ने बताउँदै यस दिशामा नेपाल सरकारको अग्रसरताको सहअना गरेकी छिन्।

प्रकाशित: १४ असार २०८१ २१:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App