१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

देशभर मनसुनी कहर: १३ जनाको मृत्यु

लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा खसेकाे पहिरो।

केहिदिनयता देशभर चलिरहेको मनसुनका कारण १३ जनाको मृत्यु भएको छ। बाढी, पहिरो र चट्याङबाट १३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

नौं जनाको पहिरोबाट र चार जनाको चट्याङबाट ज्यान गएको हाे। मृत्यु हुनेमा सबैभन्दा बढी लमजुङका छन्।

मंगलबार राति लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउँदा एक परिवारका ४ जना बेपत्ता भएका थिए। तीमध्ये ६७ वर्षीय रुद्रमान गुरुङको शव बिहानै फेला परेको थियो। बाँकी तीनजना पनि मृत फेला परेका छन्। मृत फेला पर्नेमा ३६ वर्षीय पञ्चकुमारी गुरुङ र उनका दुईजना छोरीहरू ८ वर्षिया इच्छा गुरुङ अनि ४ वर्षिया नम्रता गुरुङ रहेका छन्।

लमजुङकै दोर्दी गाउँपालिका-९ धैरेनी बस्ने रामकाजी सुनारको घरको माथिबाट पहिरो खसेर घरमा सुतिरहेका उनको छोरा १६ वर्षीय विकल सुनारको गएराति मृत्यु भएको छ।

पहिरोले पुरिएर गम्भीर घाइते भएका उनको लमजुङ अस्पताल लमजुङमा उपचारको क्रममा मृत्यु भएको हो। साथै पहिरोमा परेर घाइते भएका १८ वर्षीय मिलन सुनारको सोही अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, कास्कीमा पहिलोमा परी दुईजनाको मृत्यु भएको छ। मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ।

यस्तै पोखरा महानगरपालिका–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ। उक्त घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु सुनार घाइते भएकी छन्। हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ।

यस्तै चट्याङबाट कपिलवस्तु र कैलालीमा दुई/दुईजनाको ज्यान गएको छ।

कपिलवस्तुको यशोधरा गाउँपालिका वडा ६ भैसाहीयाका २२ वर्षीय महेश कलवार र बुद्धभुमि नगरपालिका वडा १० प्रेम नगरका १८ वर्षीय राजु ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

उता कैलालीको धनगढी उपमहानगरपालिका–१८ का २७ वर्षीय सलिम चौधरी जोशीपुर गाउँपालिकाका जयराम डगौँराको मृत्यु भएको प्रहरीले जनाएको छ। दुबैजना पानी परेपछि आ–आफ्नै ठाउँमा खेतमा काम गरिरहेका थिए।

जोशीपुरका डगौरा खेतमा काम गरिरहेकै अवस्थामा परेको चट्याङले घटनास्थलमै मृत्यु भएको थियो भने धनगढीका चौधरी चट्याङ लागेर घाइते भएका थिए।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

उता पहिरोबाटै ओखलढुंगामा एक जनाको मृत्यु भएको छ। चिशंखुगढी गाउँपालिका–५ स्थित थुम्की बस्ने वर्ष ३९ को बाबुराम खत्रीको घर र गोठ पुरिएर खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको छ। निजकी १८ वर्षीया मेनुका खत्री घाइते भएका छन्।

उता मोरङ र सुनसरीको सिमानामा पर्ने बुढी खोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ। मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको हो।

फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी ज्ञानेन्द्र बस्नेतले  जनाकारी दिए।

उनका अनुसार बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन्। बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन्।

प्रकाशित: १२ असार २०८१ १५:४२ बुधबार