१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

उत्तरी सर्लाहीमा भारी वर्षा हुँदा दक्षिणी सर्लाही तनावमा

सर्लाहीको उत्तरी क्षेत्रमा शुक्रबार बिहान भएको भारी वर्षाले दक्षिणी सर्लाहीमा तनाव भएको छ।उत्तरी क्षेत्रबाट बगेर दक्षिणतिर जाने खोलाहरूमा आएको बाढीले दक्षिणी क्षेत्रका केही गाउँमा पसेपछि समस्या देखिएको हो।

लखनदेही खोलामा आएको बाढीले तटबन्ध भत्काउँदा कौडेना गाउँपालिका र सदरमुकाम मलंगवामा तनाव उत्पन्न भएको छ। कौडेना ७ को शिवनगर र मलंगवा ५ को भाँडसर गाउँमा बाढी पसेपछि क्षति हुने डरले स्थानीयहरू चिन्तामा परेका छन्।

तटबन्ध भत्किएपछि अत्यधिक तीव्र गतिमा गाउँमा बाढी पसेपछि स्थानीयहरू निकै समस्यामा परेका छन्।अचानक आएको बाढीको निकास नभएको हुँदा गाउँमा पानी पसेर गाउँ डुबानमा परेको हो। शिवनगर गाउँको नजिक नै लखनदेही खोलाले बाँध भत्काएपछि गाउँमा ३५ भन्दा बढी घर डुबानमा परेको छ।

वडाध्यक्ष विजय यादवले शिवनगर गाउँका सयौँ घर जोखिममा रहेको जानकारी गराएका छन्। बाढी घरमा पसेकाहरूलाई उद्धार कार्य सुरु गरिसकिएको वडाध्यक्ष यादवको भनाइ छ।यसै गरी मलंगवाको भाँडसर गाउँमा पनि २५ भन्दा बढी घर डुबानमा परेको छ।यसै गरी बागमती नगरपालिका १२ को काजीराम टोलमा पनि बाढी पसेको छ । बाढी पसेर दर्जनौँ घर डुबानमा परेको स्थानीयको भनाइ छ।

विपद् व्यवस्थापन समितिका संयोजक तथा सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बाढी पसेको गाउँमा सुरक्षाकर्मी परिचालन गरिसकिएको जानकारी गराएका छन्।अहिलेसम्म कुनै नागरिकलाई क्षति भएको जानकारी नआएको बताउँदै प्रजिअ अधिकारीले राति थप पानी परेमा बस्ती नै बगाउने खतरा रहेकोले बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न थालिएको छ।

पानीको निकास नभएको कारण बाढी पसेका गाउँहरूमा भयावह स्थिति भएको बताइएको छ। सुरक्षाकर्मीले सर्वसाधारणलाई सुरक्षित स्थानमा पु¥याउन थालेपछि पनि स्थानीय बासीमा त्रासको माहौल रहेको छ। 

प्रकाशित: १४ असार २०८१ २१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App