१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सत्ता केन्द्रित राजनीतिले अस्थिरता बढायो : नेता डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता केन्द्रित राजनीतिले देशमा अस्थिरता बढाइरहेको बताएका छन्।

नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय सत्ता प्राप्तिका लागि गरिरहेको लगातारको उलटफेरले देशको राजनिति गम्भीर मोडमा पुगेको बताए।

नेता डा कोइरालाले सत्ताकै लागि मुलुकमा अस्थिरता उत्पन्न गराइरहने प्रवृत्तिबाट सबै पार्टीले बाहिर आउन जरूरी रहेकामा जोड दिए।

‘राजनीतिक स्थिरताविना सुशासन र सुशासनविना आर्थिक विकासले गति लिन सक्दैन तर देशमा पटकपटक सरकार बदल्ने र अस्थिरता मच्चाइरहने अवस्था देखियो। यस्तो अवस्थामा जस्तो र जतिसुकै बजेट ल्याइए पनि आर्थिक विकास तथा समृद्धि हासिल गर्न सकिँदैन’, डा कोइरालाको भनाइ थियो।

अब सबै लोकतन्त्रवादीले सरकारको स्थायित्वको लागि सोच्नुपर्ने बेला आएकामा जोड दिँदै नेता डा कोइरालाले त्यसका लागि निर्वाचन प्रणालीमा सुधार गर्न छलफल अगाडि बढाउन आवश्यक रहेको धारणा राखे।

यसैगरी उनले अस्थिर राजनीतिका कारण विकासले गति नपाउने मात्र नभइ राजनीतिमा अपराधीकरणले प्रश्रय पाइरहेकाले राज्यका निकायले समेत आफ्नो भूमिका निर्वाह गर्न नसकेको बताए। 

‘हामीले देखिरहेका छौँ सहकारी मात्रै होइन, धेरै ठाउँहरुमा अनावश्यक हिसाबले अख्तियारको दुरुपयोग भइरहेको छ। कानुनअनुसार काम गर्ने दायित्व भएका निर्वाचन आयोग, सिआइबी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकाय पनि चुकिरहेका छन्। यी सबैको जड भनेकै अस्थिरता र राजनीतिमा अपराधीकरण हो’ उनले भने।

सोही कार्यक्रममा नेपाल प्रेस युनियनमा प्रवेश गरेका नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेशकुमार कर्णलाई डा कोइरालाले स्वागत गरेका थिए।

प्रकाशित: १ असार २०८१ १८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App