२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

माधव नेपाल मसँग सल्लाह गरेर नै कांग्रेसको बैठकमा जानुभएको होः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्तासमिकरण परिवर्तन हुन्छ कि भनेर आशंका नगर्न आग्रह गरेका छन्।

शुक्रवार सिंहदरवारमा बसेको पार्टी संसदीय दलको बैठकमा उनले सत्ता समिकरण तलमाथि नहुने कुरामा ढुक्क हुन पार्टीका सांसदहरुलाई आग्रह गरेका हुन्।

प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफूसँग सल्लाह गरेर नै काँग्रेसको बैठकमा सहभागी भएको बैठकलाई जानकारी गराउनु भएको प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताए।

उनका अनुसार प्र्र्रधानमन्त्री दाहालले आफूले पनि काँग्रेस नेतृत्वसँग भेट्ने गरेको उल्लेख गर्दै त्यस्ता भेटहरुमा कुनै दोधार नहोस् भनेर आपसी छलफल गरेर मात्रै जाने गरेको बताए। प्रधानमन्त्री दाहालले नेताहरु प्रतिपक्षको कुरा सुन्न उनीहरुको बैठकमा जाने गरेको भएपनि वर्तमान सत्ता समिकरण तलमाथि नहुनेमा ढुक्क हुन पनि पार्टीका सांसदहरुलाई आश्वास्त पारेको प्रमुख सचेतक पाण्डेले बताए।

उनले भने, ‘मिडियाहरुमा पनि आईरहेको सत्ता समिकरणमा नै भएका राजनीतिक दलहरु पनि प्रतिपक्ष दलको बैठकमा गएको भन्ने सनिएको छ। यो कुरा के हो ? भनेर माननीय सदस्यहरुले जिज्ञासा राख्नु भएको थियो। सम्माननीय प्रधानमन्त्रीज्युले बडो रमाईलो ढंगले के भन्नुभयो भने–यो समिकरणको नेतृत्व गरिरहेको म आफैं बुढानिलकण्ठ गएको तपाईहरुले थाहा पाउनु भएन र। म आफैँ पनि गएको थिएँ। यसकारणले कोही कतै जाँदा, सुन्दा ठिकै हुने हुन्छ। हाम्रो समिकरणमा अहिले कतै केही हुँदैन। काँही, केही हुँदैन। तपाईहरुको ढुक्कका साथ अगाडि बढ्नुहोला भनेर उहाँले यो जवाफ दिनुभयो। उहाँ जानु भन्दा अघि हामी राजनीतिक तहमा कहीँ कुरा गर्न जानुपर्‍यो भने कन्फ्युज नहोस् भनेर एक आपसमा सल्लाह गरेर नै जान्छौं। त्यहाँ सल्लाह भएर नै जानुहुन्छ। त्यसकारण समिकरणमा कहीँ त्यस्तो असजिलो आउने हो कि भन्ने जुन आशंका छ। त्यस्तो आशंका गर्नुपर्दैन भन्ने विषयवस्तु पनि राख्नुभयो। माधव नेपाल पनि सल्लाह गरेर नै जानुभएको हो।’

बैठकमा प्रधानमन्त्री दाहालले वर्तमान सत्ता समिकरणमा असजिलो नआओेस् भन्ने कुरामा पनि आफूहरु सचेत रहेको बताएको पनि माओवादी केन्दले जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०८१ १६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App