२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

भक्तपुरमा महेश बस्नेतको साख गिरेकै हो ?

महेश बस्नेत र नवनिर्वाचित जिल्ला अध्यक्ष बचन देउजा। तस्बिर : नागरिक

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् युवा नेता महेश बस्नेतको गृह जिल्ला भक्तपुरमा हालै सम्पन्न अधिवेशनमा बस्नेत पक्षीय जिल्ला कार्यसमितिको प्यानल नै पराजित भएपछि एमालेको राजनीतिक वृत्तमा ठुलै तरंग देखिएको छ। यही कारण आगामी दिनमा जिल्लामा बस्नेतको राजनीतिलाई लिएर एमाले कार्यकर्ताबीच अनेकन खालका चर्चा परिचर्चा सुरु हुन थालेको छ।  

पार्टीको नवौं जिल्ला अधिवेशनमा बस्नेतसहित केन्द्रीय नेताहरू आफ्नो प्यानललाई विजयी गराउन लागि परेका थिए। तर यति गर्दागर्दै पनि बस्नेत पक्षीय प्यानल हार बेहोर्न बाध्य भयो। यतिसम्म कि बस्नेतले आफ्नी पत्नीसम्मलाई पनि जिल्ला पार्टी कमिटी सदस्यमा जिताउन सकेनन्।  

आफूविरुद्ध उठेका बचन देउजा पक्षीय उम्मेदवारलाई हराउन निर्वाचनमा नेता बस्नेतले आवश्यकताभन्दा बढ्ता अस्वस्थ चलखेल गरेकाले उनको जिल्ला राजनीतिमा प्रश्न उठ्न थालको देउजा पक्षीय एक जिल्ला कमिटीमा निर्वाचित नेताले बताए।

ती नेताका अनुसार नेता बस्नेतले आफू पक्षीय उम्मेदवारलाई जिताउन सबै प्रकारका हतकन्डा प्रयोग गर्दा पनि उनी सफल हुन सकेनन्। निर्वाचनका दिन निर्वाचन परिणामलाई आफूअनकूल पार्न उनको निर्देशनमा उनीनिकट एक समूहले निर्वाचन परिसरवरिपरि अस्वस्थ गतिविधि गरिरहेका थिए। त्यसो नगर्न जित हासिल गर्न सफल बचन देउजा पक्षीय नेताले पटकपटक अनुरोध गर्दासमेत अटेर गरेका थिए।

सोही क्रममा निर्वाचनका दिन दुई पक्षबीच चर्को आरोपप्रत्यारोपसमेत भएको थियो। सो समूहले निर्वाचनका दिन निर्वाचन परिसरमा होहल्ला गरेकाले दुई–तीन पटक निर्वाचन स्थगित गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना भएको थियो।

ती नेताका अनुसार त्यसरी बस्नेत पक्षीय उम्मेदवारको पक्षमा होहल्ला गर्नेमा रविन थापा, रञ्जन खड्का, विदुर खड्का, सहदेव न्यौपाने, गोविन्द कार्की, लक्ष्मी कार्की, गीता पण्डित, रती थापा र कमल महत रहेका थिए। उनीहरू सबै नै बस्नेत पक्षीय जिल्ला सदस्यका उम्मेदवार समेत थिए। तर, ती सबै पराजित भए।

त्यति मात्रै होइन, नेता बस्नेतकी पत्नी अम्बिका भण्डारी बस्नेत र अर्का जिल्ला नेता एवं पूर्व प्रदेशसभा सदस्य शशिजङ थापाकी पत्नी मैया थापा पनि पराजित भइन्। नेता थापाका स्वकीय सचिव चण्डीप्रसाद मिश्रसमेत पराजित भए।

ती नेताका अनुसार जिल्ला सदस्यका उम्मेदवार १०४ जनामध्ये करिब ९५ जना देउजापक्षीय उम्मेदवारले जिते। अध्यक्षमा देउजालाई हराउन एमाले भक्तपुरका केन्द्रीय नेताहरूको टिम नै खडा भएको थियो, जसको नेतृत्व पोलिटब्युरो सदस्य बस्नेतले गरेका थिए।

बस्नेतको टिममा केन्द्रीय सदस्यहरू सोमप्रसाद मिश्र, निर्मलकुमार भट्टराई, पूर्व जिल्ला अध्यक्ष राजेन्द्र राजथला, नेताहरू शशीजङ थापा, मध्यपुर थिमिका पूर्व मेयर मदनसुन्दर श्रेष्ठ, जिल्ला समन्वय समिति भक्तपुरका निवर्तमान प्रमुख नवराज गेलाललयायत सक्रिय रहेका थिए। तर उनीहरू सफल नभएको देखियो। अर्थात् उनीहरूको जिल्लामा वास्तविक धरातल विजयी जिल्ला अध्यक्ष देउजाले देखाइदिए।

देउजालाई टार्गेट गर्दै एमाले नेताहरूको एक समूह जिल्लामा अधिवेशन गरी निकै अघिदेखि नै सक्रिय रहँदै आएको थियो। तर, देउजाले आफू मात्रै होइन, सिगो जिल्ला कमिटीमै बहुमत जिल्ला कमिटीका सदस्य आफूनिकट निर्वाचनमार्फत जिताएर उनीहरूको वास्तविक हैसियत जिल्लामा पहिलो पटक राम्रैसँग देखाइदिए।

नेता बस्नेतले टार्गेट गरेका देउजा समूहका सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा पराजित भए पनि पदाधिकारीमा पनि देउजा समूहकै बहुमत छ। सचिवमा देउजा समूहका विष्णु तामाङ, उपसचिवमा पनि एक जना उनकै समूहका सानुकाजी कायस्थले जिते।

बस्नेत समूहका पदाधिकारीमा उपाध्यक्ष किरण थापा र सहसचिवमा उत्तरा नेपालले जितिन्। प्यानल बनाएर निर्वाचनमा उत्रिएको यो अधिवेशनमा पहिलो पटक नेता बस्नेत र अध्यक्ष देउजा आमनेसामने भए। उद्घाटन सत्रमा पनि निवर्तमान एवं हालका पार्टी जिल्ला अध्यक्ष देउजाले पहिलोपटक बस्नेतले नेतृत्व गरेको केन्द्रीय नेताहरूको टिमलाई सार्वजनिक रूपमै सके आफूलाई हराएर देखाउन चुनौती दिएका थिए।

उद्घाटन सत्रमा उनले गरेको भाषण एमालेका नेता तथा कार्यकताबीच निकै चर्चाको विषय बनेको थियो। जिल्ला कार्यसमितिमा बस्नेत पक्षको पराजयसँगै आगामी संसद् निर्वाचनमा एमाले बलियो भएको भक्तपुर क्षेत्र नम्बर २ मा दुई पटक टिकट पाएका बस्नेतले तेस्रो पटक टिकट पाउने हुन् कि होइनन् भन्ने चर्चाको विषय बनेको छ।

प्रकाशित: १३ जेष्ठ २०८१ ०७:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App